दोस्रो भेटमै फिल्म हेर्न अफर गर्ने रवि

Tuesday, August 7th, 2018


वनको एउटा टर्निङ् प्वाइन्ट हो भनिन्छ विवाह । जसरी अहिले विवाह एकदम सहज प्रक्रिया बन्दै गईरहेको छ त्यो भन्दा पनि जटिल प्रक्रिया हो बैवाहिक सम्बन्ध निर्वाह गर्न । जीवनको एक महत्वपुर्ण अंगको रुपमा रहेको विवाह सबैको लागि सहज नहुन पनि सक्छ । सामाजिक सञ्जालमा विवाहलाई परिभाषित गर्दै एक पोष्ट गरिएको थियो जहाँ धेरै भन्दा धेरै व्यक्तिहरुले आफ्नो प्रतिक्रिया समेत गरेका थिए कसैले सकारात्मक र कसैले नकारात्मक । कसैले बन्धनको रुपमा लिएका थिए भने कसैले अवसरको रुपमा पनि । यो एउटा एरोप्लेनको यात्रा हो जहाँ चडिसकेपछि जति असहज र कठिन यात्रा भए पनि कम्प्रमाईज गर्नु पर्छ भन्ने कुरा समेत उल्लेख गर्छन् कतिपय अनुभविहरु ।
वास्तवमा नै असहज यात्रा हो भने जस्तो लाग्ने विवाह केहीको लागि भने सहज यात्रा पनि हो । अझ भनौ विवाहले कतिको जीवनलाई स्वर्ग बनाइदिन्छ भने कतिलाई नर्क समान । हुन त मानिस जन्मदा स्वतन्त्र र निश्चल भएर जन्मिन्छ विस्तारै उसको स्वतन्त्रता खोसिदै जाने र बन्धनहरु बढ्दै जाने हो । हो त्यस्तै बन्धन हो विवाह । सामान्य बोलीचालीको भाषामा मानिसहरुले विवाह बन्धन भने पनि वास्तवमा नै यो एक किसिमको बन्धन रहेको ठम्याई रवि गिरिको रहेको छ । सुरुवाती चरणबाटै फिल्ममा भिलेन अर्थात नकरात्मक पात्रको रुपमा फिल्म खेल्दै आएका रवि गिरी र उनकी श्रमती रिता गिरी पनि यहि बन्धनभित्र रहेर उत्कृष्ट जीवन बाँचीरहेका छन् ।
मागी विवाह गरेका हुन् रविले रितासँग । उनलाई यो विवाहको लागि ३ वर्ष पहिले देखी नै प्रस्ताव आइरहेको थियो । आलटाल गर्दै रविले ३ वर्ष पछि मात्र स्विार गरेका थिए । रविलाई ३ वर्ष पहिलेको र पछि पठाएको फोटो कुन हो भन्ने कुरा याद नै छैन अहिले पनि । आमाले राखेको विवाहको प्रस्ताव रविले सहजै नकार्न सकेनन् । आमाको मन राख्नकै लागि भएपनि भेट्छु, कुरा गर्छु भनेका रविले पहिलो भेटमा नै रिता वास्तवमै मेरो जीवनमा आवश्यक मान्छे हुन् भन्ने महसुस गरे ।
पहिलो पटक गुहेश्वरीमा रितालाई भेटन गएका रविलाई एक्लै जाने आँट आएन । उनी आफ्नो बच्चै देखीको साथिको सहयोग लिएर भेट्न गएका थिए । उता रिता भने आफ्नी आमा संग आएकी थिइन् । भर्खरै १७ वर्ष लागेकी उनले पहिलो भेटमा रवि लाई राम्रोसँग हेर्न सकिनन् । विवाहको बारेमा केही थाहा नै थिएन उनलाई । झट्ट हेर्दा भने रवि राम्रै लागेको थियो । १७ वर्ष पुरा हुदैँ गरेकी उनी र २६ वर्ष लागेका रवि वीच पहिलो भेट भएको लगभग ४ महिना पछि विवाह भयो ।
विवाह हुनु भन्दा पहिले ३ पटक मात्र भेटे पनि २ ओटा फिल्म सँगैहेर्न समेत भ्याइसकेका थिए । गुहेश्वरीको देखादेख पछि पहिलो पल्ट भक्तपुरको नवदुर्गा चलचित्र हलमा भेटन भयो, सँगै फिल्म पनि हेरे दुबैले तर त्यती खेर कुन फिल्म हेरियो भन्ने कुरा चै दुबैलाई याद छैन । कम बोल्ने स्वभावकी रिता र अलि धेरै बोल्नु पर्ने र हाँसी मज्जा गर्न माहिर रवि बीच विवाह पछि नै प्रेम बस्यो । रवि भन्छन् मलाई मेरी श्रीमतीले यति साथ र सहयोग दिईन् कि उनले मेरो पेशालाई पनि आफ्नै पेशा सम्झिईन् । उनलाई कुनैबेला धेरै दुःख पर्दा पनि मैले साथ दिन सकिन तर उनले मलाई कहिले त्यस्को गुनासो नै गरिनन् ।
विवाह गर्नु भन्दा पहिले आफुले नकारात्मक भुमिकामा खेलेको फिल्म नै हुनेवाला श्रीमती अर्थात रितालाई देखाएका थिए ताकी दाम्पत्य जिवनमा पछि गएर केही समस्या नआओस् भनेर। कम बोल्ने स्वभाव भएकी रिताले त्यति बेला सबै प्रश्नको जवाफ टाउको हल्लाएर नै दिने गरेकी थिईन् । उनी भन्छिन् । सायद त्यतीखेरको समय नै त्यस्तै थियो होला । बोल्न असहज नै लाग्थ्यो ।
३ जना आमाको एकमात्र छोरी रहेकी उनी माईती घरमा रमाएर नै बसेकी थिईन् । विवाह गर्नु पुर्व र पछि त फरक भई नै हाल्छ उनी थप्दै जान्छिन् माईतीमा केही नगरी यत्तिकै हुर्किएको मान्छे । घर धन्दा केही पनि नगरेर बसेकी म विवाह पश्चात धेरै कुरामा अप्ठ्यारो भयो । सामाजिक दृष्टिकोणमा ३० वर्षको एउटी छोरी छोरी नै भएर बस्दा उसले केही नजानेको भए पनि हुने र १५ वर्षकै बुहारी छ भने पनि उसले सबै कुरा जान्नु पर्ने भन्ने मान्यता भएको समाज भएकै कारण अप्ठ्यारो पर्यो । घरमा केही नगरी बसेकी मलाई घरको कामहरु केही गर्नै आउदैन्थ्यो । भौगोलिक रुपमा त्यति टाढा नरहेकोले साँस्कृति र परम्परागत कुरामा भने त्यस्तो खासै असर नपरेको दुबैकोे भनार्ई छ ।
विवाह भएको २ वर्ष पछि पुत्र लाभ भएको भए पनि रविलाई छोरीको असाध्यै रहर थियो । तर २ छोरा जन्मिए । यसमा पनि खुशी नै भएको बताउँछन् रवि । विवाह पश्चात पोखरा, पाल्पा घुमेका रवि र रिता अन्य कुरामा भन्दा घुम्न निस्कि हाल्ने जोडीमा पर्छन् । ३÷४ घण्टा नै फुर्सद भए पनि घुम्न निस्किहाल्ने हाम्रो बानी छ रिता भन्छिन् । फुर्सदको समयमा जोकहरु हेर्ने र अरुलाई बताउने काम गर्ने रविको बानी छ भने रिता चै किताब प्रेमी मान्छे भएकोले किताब पढेर बस्ने बानी छ उनको ।
रविको झर्किने बानी रितालाई त्यति राम्रो लाग्दैन । रविलाई पनि उनको आफ्नो तरिकाले चल्न खोज्ने बानी मनपर्दो रहेनछ र सानो कुरामा पनि धेरै चिन्ता लिने बानी रविलाई मनपर्दो रहेन छ । रवि भन्छन् उनको राम्रो साथ सहयोग गर्ने र सेक्रिफाईस गर्ने बानी, म मेरो श्रीमानलाई माया गर्छु भने श्रीमानको पेशालाई पनि त्यति नै सम्मान गर्नुपर्छ भन्ने बानी मलाई एकदम मनपर्छ । त्यस्तै रविको जे कुरालाई पनि हलुका रुपमा लिने बानी मन पर्छ रितालाई ।
वैवाहिक जिवनको ३२ औँ वसन्त पार गरिसकेको यो जोडीले वैवाहिक जीवनमा टकाराव भने त्यति आएको महशुस गरेनन् । रवि भन्छन् कहिले काहीँ घर व्यवहारिक रुपमा अगाडी बढ्ने क्रममा मैले घर गृहस्थीमा आर्थिक कुराहरु र अन्य कुराहरुमा सहभागी हुन तथा राम्रो सँग पुर्याउन नसकेको बेला अति भएर उनी नबोलेको घटनाहरु पहिला चाहिँ थियो । रीता भन्छिन् केटा मान्छेमा रिग्रेट फिल नहुने रहेछ । कलाकारको श्रीमती भएकोमा रिग्रेट भन्दा बढी अभाव धेरै झेल्नु परेको थियो तर मैले हिम्मत हारिन् । रविलाई ०४८ साल तिर कलाकारिता पेशा छाडेर अब विदेशतिर पलायन हुन्छु भन्ने मानसिकता पनि आएको थियो । घरमा रहेको अभाव र जीवनमा भएको अभावलाई समाधान गर्न विदेश पलायन हुन मन लागेको रवि भन्छन् । जस्तो सुकैं अभाव हुँदा पनि मेरो सपना पुरागर्न नपाएपनि रविको सपना पुरा गर्न अहोरात्र खटिएर सहयोग गर्छु भन्ने रिताको मनमा लागेको थियो । कलाकारिताबाट नै पाँचहजार रुपैयाँ कमाएको उनलाई अझै पनि सम्झना रहेछ । कमाएको सबै पैसा आफुलाईनै दिने गरेको उनी बताउछिन् ।
उपहार ल्याउने चलन छैन रविको । आफ्नो लागि आफै सपिङ् गर्छन् । श्रीमतीको लागि पनि आफै सामान रोज्ने गर्छन् । पहिलो पल्ट एहामावाद गएको बेला ज्वेलेरी ल्याएको नै पहिलो र अहिले सम्मको अन्तिम उपहार हो रविले रितालाई दिएको ।
कलाकारको प्राय सम्बन्ध विच्छेद हुने गरेको चाहिँ सम्बन्धमा विश्वास नरहेको र सामाजिक संजालको बढ्दो प्रयोग र त्यसको अराजक स्थितिको कारण बढी सम्बन्ध विच्छेद हुने गरेको हो जस्तो लाग्छ गिरी दम्पत्तीलाई । संर्घष र सम्झौता नै जीवन हो र जसरी पाईएको छ त्यसलाई त्यसरी नै प्रयोग गर्नु पर्छ अनि जीवन सफल हुनछ भन्ने लाग्छ रवि र रितालाई छ ।

-कृष्णा चौलागाई

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest