द्वन्द्वकालमा लुकी लुकी भेट्ने पूर्व मन्त्री

Thursday, August 9th, 2018

विवाह एक संयोग हो । विवाह एक किसिमको बन्धन पनि हो । त्यो बन्धन, जुन बन्धनकै कारण जीवनमा एक किसिमको रंग थप्ने काम भइरहेको हुन्छ । मानिसमा जबदेखि बौद्धिकस्तर बढ्यो, निजी सम्पत्तीको आकांक्षा बढ्यो, तबदेखि विवाहको प्रचलन सुरु भएको मान्यता छ । नारी पुरुष एक अर्काप्रति सामाजिक, मानसिक, भावानात्मक एवं वैधानिकरुपमा एक हुनु हो विवाह । राजनीतिमा लागेको व्यक्ति होस्, या साहित्यकार विवाहबाट कोही पन्छिन् सक्दैनन् । त्यस्तै पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत र ढाका बस्नेत पनि एक अर्कामा बाँधिए जीवनभरका लागि । पारिवारिरिक भेट भन्न रुचाउने टेकबहादुर बस्नेत र उनकी श्रीमती ढाका बस्नेतको भेट टेक बा को मामाघरमा अर्थात ढाका बस्नेतको माइतीघरमा नै भएको थियो । पश्चिमी भेगमा एक किसिमको प्रचलन छ मामाको छोरी फुपूको छोराले विवाह गर्न पाउने । त्यही प्रचलनअनुसार नै विवाह भएको थियो यो दम्पत्तिको । विवाह गर्दा पूर्वमन्त्री टेकबहादुर बस्नेतकी श्रीमती ढाका सानै थिइन् । घरको कामधन्दा गर्न अलि अलि जान्ने भए पनि पूर्णरुपमा विवाहका लागि सक्षम भइसकेकी थिइनन् । बस्नेत गाउँमै भेटेनरियन थिए । अर्थात् सरकारी कर्मचारी थिए । कहिले काहीँ मामाघर जाँदा आक्कल झुक्कल भेट हुने भए पनि परिवारको निर्णयबमोजिम विवाह भएको बताउँछन् यी सहयात्री ।
ढाका भन्छिन्–गाउँमै सरकारी जागिर भएको केटा हुँदा छोरीको भविश्य उज्वल हुने सोचले पारिवारिक निर्णय भयो, त्यो पारिवारिक निर्णयलाई मैले नकार्न सकिनँ । विवाहको सुरुवात सामान्य नै रह्यो । पारिवारिकरुपमा चिनजान भएकाले एक अर्कासँग घुलमिल हुन त्यत्ति गाह्रो परेन । आमा बुबाको राजीखुशीमा विवाह भएकाले दुवैजनालाई कहिले पनि दुःख लागेन । जसरी पनि गरी खानुपर्छ भन्ने ढाकालाई लाग्थ्यो । टेकबहादुर भन्छन्–विवाह भन्ने कुरा केही केही कुराको कम्प्रमाईज पनि हो भन्ने बुझेकाले केही कुरा मैले सहेँ र केही कुरा उनले सहने कोशिस गरिनँ र सहिन पनि । त्यसैले पनि सम्बन्धमा सुमधूरता छायो । विवाहपछि करिब ७ वर्ष घरबाहिर रहेर काम गरेका बस्नेत २४ वर्षका थिए । आफूमा भएको आत्मविश्वासका कारण कहिले पनि एक अर्कामा के हुने हो भन्ने लागेन । कहिले राजनीति र कहिले नोकरीका क्रममा घरबाट टाढा भए पनि श्रीमतीले सधंै सहयोग गरिरहिन् जसका कारण आज आफू यहाँसम्म आउन सफल भएको बस्नेत बताउँछन् । विवाहपछि घुम्ने भनेर कतै पनि ननिस्किएको यो जोडीले द्वन्दकालमा भने लुकी छिपी भेट भने गर्ने गर्थे ।
सानो उमेरमा आफ्नो बुबालाई गुमाएका बस्नेतको बाल्यकाल दुःखद नै रह्यो । विकट बस्ती, खाद्यान्न अभावका दिनलाई अहिले पनि स्मरण गर्छन् उनी । शिक्षामा अहिले जस्तो पहँच थिएन तर पनि उनले दुःख सुख गरेर सकेसम्म पढ्ने कोसिस गरेका थिए । बुबाआमासँगै खेली हुर्किएकी ढाकाले भने औपचारिक शिक्षा खासै पाइनन् । मान्छे आत्मअनुशासनले बाँधिएपछि कहिल्यै केही कुरामा पनि असहज नहुने बताउँछन् टेक बा.। श्रीमान् श्रीमतीबीच कहिल्यै ठूलो झगडा नपर्नुको कारण आत्मअनुशासन नै भएको ढाकाको पनि भनाइ छ । जीवनमा आइपरेका सबै समस्यालाई सहजै पार गर्दै आएको यो दम्पत्तीका ५ सन्तान छन् । टेकबहादुर भन्छन्–म यहाँसम्म आउनुमा मेरो जति मेहनत,परिश्रम रहेको छ त्योभन्दा धेरै ढाकाको मेहनत, परिश्रम र हात रहेको छ । यदि मलाई र मेरो कामलाई नबुझ्ने श्रीमती थिइन् भने मैलेमात्र जति प्रयास गरेर पनि केही हुँदैथ्यो । राजनीतिमा लागेकोमा कहिल्यै पनि दुःख अनुभव गरिनन् । आफू पनि गाउँमा सानो सानो रोल मै भए पनि राजनीतिमा समावेश भइरहिन् । ढाकाले आफ्ना श्रीमान् परिवर्तनका लागि होमिएको भन्ने कुराले आफूलाई सम्हालेकी थिइन् ।
टेकबहादुरमा कता के हुने हो भन्ने खालको मनमा पीर रही रहन्थ्यो, कतै आफ्नो मिसन नै फेल पो खानेहोकी भन्ने पीरहुन्थ्यो । दिल, दिमाग नै परिवर्तनभन्दा अरु केही नभएकाले पनि घर परिवार सम्हालेर टलिएर बस्ने समय थिएन उनीसँग । उनी भन्छन्–परिवर्तनको यस्तो ठूलो नसा चढ्यो कि आफ्नो ज्यानको आहुती दिन पनि पछि पर्न मन लागेन ।
फुर्सदमा कहिले काहीँ भान्सामा श्रीमती सँगै खाना बनाउन सघाउने बस्नेत श्रीमतीलाई मायाले कान्छी भनेर बोलाउँछन् । कहिले काहीँ बाहिर जाँदा श्रीमतीलाई उपहार लिएर आउँछन् । तर ढाका भने खासै गिफ्ट ल्याउँदिनन् । सपिङ्अघि नै के कति खर्च गर्ने भन्ने सरसल्लाह हुने गरेको उनी बताउँछिन् । लाउने खाने कुरामा ढाकाको खासै सौख छैन । कहिले काहीँ रिसाउँछिन् ढाका तर रिसाएर धेरै समय नबोलेर बस्न भने सक्दिनन् । विवाह गरेको २९ वर्षसम्म कुनै खटपट भएन । सम्बन्धमा अन म्याचुरिटीका कारण सम्बन्धविच्छेद तथा अस्तव्यस्त जीवनको कारण सम्बन्धविच्छेद हुने बस्नेत दम्पत्तीको धारणा छ । साँझ ढिला सुत्ने र आफ्नो शरिरको ख्याल नराख्ने बानी ढाकालाई मनपर्दैन । दम्भ मानसिकता राख्ने र कुरालाई स्पष्ट नराख्ने बानी पनि मनपर्दैन । जीवनमा गरेका गल्तीलाई सहर्स स्वीकार्नुपर्ने उनीहरुको मान्यता रहेको छ ।
केही कुरा भूल गरेँ भनेर बस्नु राम्रो नमान्ने यो दम्पती केही गल्ती भयो भने करेक्सन गरेर अघि बढ्नुपर्ने बताउँछ । ढाकालाई सानैदेखि नपढेको र पढ्न नपाएकोमा दुःख लागेको छ । जीवनको आरोह र अवरोहलाई सहजै सँगै झेलिरहेको यो जोडी जीवन संर्घष हो र यसलाई सहज बनाउन सफल बनाउनुपर्छ भन्ने मान्यता राख्छन् ।
प्रस्तुती ः कृष्णा चौलागाईं

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest