धनी देशलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह

Tuesday, January 19th, 2021

काठमाडौं:विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एड्हानम गेहब्रेयससले कोभिड–१९ को खोपमा लाइन नमिच्न आग्रह गरेका छन् । उनले आफ्ना निम्ति खोप सञ्चित गर्न लाइन मिच्ने कार्य आफ्नै निम्ति समेत हानिकारक हुने बताएका छन् ।

यस्तो गरेमा खोपको मूल्य र जम्मा गर्ने प्रवृत्ति बढ्ने बताए । डब्लुएचओका महानिर्देशक टेड्रोसले असमान खोप वितरणका कारण संसार चरम नैतिक संकटको सम्मुख रहेको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशको पूर्ण प्रतिबद्धता आवश्यक रहेको बताए । हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन् ।

कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति थालिने बताइएको छ । उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ मानिसहरूले खोप लगाउनु अनुचित भएको समेट टिप्पणी गरे ।डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, ‘मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ ।’

आफूलाई मात्र खोप थुपार्ने शैलीको विरोध गर्दैै उनले भने, ‘अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ । अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ ।’

संसारका ४९ धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएको एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए ।

हालसम्म भारत, चीन, रुस, अमेरिका, बेलायतसहित केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन् । खोपमा सबैले आफ्नै नागरिकलाई प्राथमिकता दिएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest