धरहरा पुनर्निर्माणको काम धमाधम हुदै

Wednesday, December 25th, 2019


काठमाण्डौ :विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहराको काम धमाधम भइरहेको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम हालसन्तोषजनक रहेको बताएकाछन ।ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गएको पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण गर्नुपर्ने बताएका थिए ।अहिले त्यहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक एक सय ५० कामदार नियमितरूपमा निर्माणमा खटिएका छन् ।

धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा मंगलबार प्रमुख ज्ञवालीले अहिलेकै अनुरूप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिए। उनले अबको एक वर्षभित्रै धरहरा चढ्न पाइने विश्वास दिलाए ।त्यही अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि ७५ करोड रुपैयाँ खर्च भएको जानकारी गराए।भूकम्प गएको तीन वर्षपछि धरहरा निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको छ । निर्माणको लागि जम्मा तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुई वटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुई वटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।विसं १९९० को भूकम्पको कारण ११ तले धरहरा क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताले सवारी साधनको व्यवस्थित पार्किङ गर्न सक्नेगरी पुनर्निर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाण्डौलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनर्निर्माण अत्यावश्यक भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । यहाँ तीन सय ५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest