नर्स बनेकी चेपाङ चेली कामको खोजीमा

Monday, December 24th, 2018

चितवन – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। यसै वर्ष नर्सिङ अध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्ससमेत लिइसकेकी छन्।

उनका एक दिदी, दुई बहिनी र एक भाइ छन्। पाँच सन्तानमध्ये उनी पढाइमा मेहनती थिइन्। अभिभावकले पनि पढ्न प्रोत्साहन गरे। घरबाट २० मिनेट लाग्ने चित्रकला प्राथमिक विद्यालयमा ५ कक्षासम्म पढिन्। त्यसभन्दा माथि पढ्न एक घण्टा हिँडेर श्री राष्ट्रिय माध्यमिक विद्यालय जानुपर्यो।

बारीमा फल्ने मकैले परिवारलाई वर्षभरि खान पुग्थ्यो। तरकारी खेतीबाट हुने आम्दानीले घर खर्च मिलाएर बुबाआमाले आफूलाई पढाएको सरिताले सुनाइन्। काउली, काँक्रो, भिण्डी, साग, घिरौंला लगाउन उनले अभिभावकलाई सघाइन्। बिहान बारीमा जानुअघि स्कुलको गृहकार्य सक्थिन्। ‘चाँडै उठेर होमवर्क ग(यो, ५ बजेदेखि ८ बजेसम्म बारीमा काम गर्थें,’ उनले भनिन्,‘स्कुलबाट फर्केपछि पनि घाँस काट्ने, बारी खन्ने गरेर बुबाआमालाई सघाउँथे।’

गाउँमा उनलाई देखाएर स्थानीयले आफ्ना बालबालिकालाई पढ्नुपर्छ भनेर उपदेश दिन्छन्। नर्स बनेकी उनी अहिले रोजगारीको खोजीमा छिन्। ‘पढाइ सकें, लाइसेन्स नि लिएँ,’ सरिता चेपाङ भन्छिन्, ‘अब जागिर गर्नुछ।’
विद्यालय तहको पढाइमा हरेक वर्ष ‘स्कुल टप’ गरिन्। कक्षा ४ पढ्दा हेडसरले विद्यार्थीलाई भविष्यमा के बन्छौं भनेर सोधेका थिए। कक्षाका साथीहरूमध्ये कोहीले पाइलट, कोहीले इन्जिनियर बन्छु भने। सरिताले चाहिँ डाक्टर बन्ने लक्ष्य रहेको बताइन्। तर हेडसरले डाक्टर पढ्न त धेरै खर्च लाग्छ भनेपछि उनले डाक्टर बन्ने लक्ष्य त्यतिबेलै त्यागिन्। र, नयाँ सपना देखिन्, नर्स बन्ने। नर्स बन्न डाक्टरी पढ्दाजस्तो धेरै खर्च नलाग्ने उनले सुनेकी थिइन्। त्यही बेलादेखि आफूले नर्स बन्ने लक्ष्यका साथ अध्ययन अघि बढाएको उनी बताउँछिन्।

तर एसएलसी सक्दासम्म उनलाई नर्स बन्ने सपना पूरा होला कि नहोला शंकै थियो। अभिभावकले नर्सिङ पढाउन सक्दैनन् भनेर उनले कक्षा ११ शिक्षा संकायमा भर्ना हुन ठिक्क परेकी थिइन्। त्यही समय उनी ‘हामीले नगरे कसले गर्ने’ सामाजिक संस्थाको सम्पर्कमा पुगिन्। उक्त संस्थाले नर्सिङ पढ्न सहयोग गर्ने भएपछि सरिता चितवन आइन्। ‘पहिलोपटक चितवन आएकी थिएँ,’ उनी सम्झन्छिन्,‘ठूलो बजारमा हराउँछु की भन्ने डर पनि लाग्यो।’ असारको अन्त्यतिर आएकाले धेरैजसो इन्स्टिच्युटमा ब्रिजकोर्सको पढाइ सकिनै लागेको थियो।

उनले आठ दिन मात्र कक्षा लिइन्। होस्टेलमा बसेर प्रवेश परीक्षाको तयारी गरिन्। पहिलोपटक घर छाडेर आएकी उनलाई परिवारको यादले धेरै सताउँथ्यो। एक्लै बसेर रुन्थिन्। अंग्रेजी भाषामा परीक्षाको तयारी गर्नुपर्दा आत्तिइन् उनी। घर छाडेपछिको नरमाइलो अनुभूति र पढाइका अप्ठ्यारा अनुभवलाई उनले ‘हामीले नगरे कसले गर्ने’ संस्थाका अध्यक्ष विनोदबाबु रिजाललाई सुनाउँथिन्। ‘उहाँकै हौसलाले घरबाहिर बसेर पढ्ने आँट आयो,’ उनी सुनाउँछिन्,‘साउनमा दुई ठाउँमा ‘इन्ट्रान्स’ दिएर घर फर्किएँ।’

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् ९सिटिइभिटी० को परीक्षामा छात्रवृत्तिमा २५औं नम्बरमा र भरतपुर अस्पतालको नर्सिङ कलेजमा तेस्रो नम्बरमा नाम निकालिन्। सिटिइभिटीको छात्रवृत्तिमा भरतपुर अस्पतालको नर्सिङ कलेजमा पढ्थ थालिन्। उनले यही वर्ष नर्सिङ अध्ययन पूरा गरेकी हुन्। गएको कात्तिकमा तेस्रो वर्षको परीक्षाफल आयो। नर्सिङ ब्याचमा उनी दोस्रा भइन्। मंसिरमा नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्ससमेत लिएकी छन्।

छात्रवृत्तिमा अध्ययन गरेकी उनलाई भरतपुरमा होस्टेलमा बसेर अध्ययन पूरा गर्न संस्थाले सहयोग ग(यो। अस्ट्रेलियास्थित चितवन समाज, भिक्टोरियाले उनलाई हामीले नगरे कसले गर्ने संस्थामार्फत स्टेशनरी र बसाइका लागि मासिक ८० हजारका दरले तीन वर्षमा २ लाख ४० हजार रुपैयाँ सहयोग ग(यो। त्यही सहयोगले नै नर्स बन्ने आफ्नो इच्छा पढाइ पूरा गर्न सकेको सरिता बताउँछिन्। पहिले बोल्न डराउने र लजाउने उनी अहिले निर्धक्कसँग आफ्ना कुरा राख्न सक्छिन्। ‘हाम्रो समुदायमा सबैजना नयाँ मान्छेसँग बोल्न डराउँछन्,’ उनी भन्छिन्,‘मलाई पनि पहिले त्यस्तै हुन्थ्यो, तर अहिले बिस्तारै बोल्ने बानी बसेको छ।’

नर्सिङ पढाइका लागि अस्पतालमा अभ्यास गर्दा पनि उनले अप्ठ्यारो अनुभव गरिन्। बिरामी, घाइते र मृतकलाई देखेर डराउँथिन्। उपचारका लागि अस्पताल आउने चेपाङ समुदायका मानिससँग उनी चेपाङ भाषामै कुरा गर्थिन्। बिस्तारै उनी भित्रको डर हराउँदै गयो। अहिले गाउँमा जाँदा उनलाई सबैले सम्मान गर्छन्। गाउँमा उनलाई देखाएर स्थानीय आफ्ना बालबालिकालाई पढ्नुपर्छ भनेर भन्छन्। अध्ययन सकेर नर्स बनेकी उनी अहिले रोजगारीको खोजीमा छिन्। ‘पढाइ सकें, लाइसेन्स नि लिएँ,’ उनी भन्छिन्, ‘अब जागिर गर्नुछ।’ नागरिक दैनिकबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest