नवनारीको १२ औं वार्षिकोत्सव भव्यताको साथ सम्पन

Sunday, September 29th, 2019

-चक्र प्रसाद पोख्रेल

काठमाडौ ःनवनारी मासिक पत्रिकाले आप्mनो १२ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विगत बाह्र बर्ष देखि निरन्तर रुपमा महिलाका बिभिन्न बिषयमा केन्द्रित भएर प्रकाशित हुदै आएको नवनारी आज नेपाल अधिराज्यभरिका अधिकांश शहरहरुमा उपलब्ध छ । महिला हक, अधिकार, महिला उद्यमशिलता, व्यावसाय, फेसन, साहित्य, कला, आदि बिषयलाई समेट्ने प्रयास गर्दै अगाडि बढिरहेको छ । नवनारी मिडियाले बिशुद्ध रुपमा पत्रिका प्रकाशन मात्रै गरेको छैन विगत ६ बर्षदेखि गुल्मी जिल्लाको रुरु गाउपालिका अन्तरगत माझी बस्तीका १४७ जना बिपन्न समुदायका माझी बालबालिकालाई शिक्षामा सहयोग गर्दे आएको छ। ( हरेक बर्ष माझी बालबालिकाको लागि स्कुल युसनफर्म, जुत्ता, जाडोको लुगा, गर्मीको लुगा, व्याग, कापीकलम प्रदान गर्दै आएको छ ) यसै बर्ष छात्राहरको लागि लक्ष्मी निमामी स्कुलमा दुईकोठे चर्पी निर्माण गरेर एकमहिना अगाडि मात्रै हस्तान्तरण गरेको छ भने लाइवेरी निर्माण गरिदिएको छ । माझी महिलालाइ आर्थिक रुपमा बलियो बनाउनको लागि ६० वटा बाख्रा प्रदान गरेको छ भने आउदो चैतमा अन्य दश वटा बाख्रा प्रदान गर्ने योजना रहेको छ । त्यस्तै सिलाई कटाइको लागि मेसिन र तालिम पनि नवनारीले माझी महिलाहरुलाई प्रदान गर्दै आएको छ । गुल्मीकै हेल्थपोस्टको लागि ह्वेलचेयर, वेड, औषधि राख्नको लागि फ्रिज, झापा दुवागडीको सुकुम्वासी बस्तिका पचास जना बालबालिकालाई हरेक बर्ष स्कुल युनिर्फम प्रदान गर्दै पनि आएको छ । त्यस्तै दुवागडीको हेलथपोस्टलाई दुइवटा ह्वेल चेयर, प्रिज, स्टेलाइजर आदि प्रदान गरेको छ । यति मात्र होइन हरेक बर्ष हुने प्राकृतिक प्रकोपमा पनि नवनारीले खाद्यान्न लत्ताकपडा सहयोग गर्दै आएको छ ।
महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउनु भएका ९ जना बिशिष्ठ महिलाहरुलाई सम्मानित गरिएको थियो । नवनारी सम्मानबाट सम्मानित हुनेमा सामाजिक अभियन्ता तथा राजनीतिकर्मी माननिय शान्ता चौधरी,व्यावसायी सीमा गोल्छा, शिक्षासेवी पवित्रा लिम्बु वरिष्ठ कलाकार चैत्य देवी सिंह, वरिष्ठ गायिका तारा थापा, वरिष्ठ साहित्यकार उषा शेरचन, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कस्तुरी मल्ल, वरिष्ठ संचारकर्मी, मन्टेश्वरी राजभण्डारी र पर्यटन अभियन्ता÷पर्वतारोही लाक्पा फुर्टी शेर्पा   रहेका थिए ।
असोज ११गते शनिबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा विविध कार्यक्रमको बिच सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिलाहरुको हक हित र अधिकारका लागि नवनारीले आवाज उठाउदै आइरहेको र आगामि दिनमा पनि अझै राम्रो काम गर्दै जानुपर्नेमा जोड दिइन भने माननिय सांसद नेकपा सचेतक शान्ता, चौधरीले पनि अव नारीहरु आफै अगाडी वढनुपर्नेमा जोड दिइन । उनले कार्यक्रममा बोल्दै भनिन इच्छा शक्ती हुनेहो भने महिलाहरुले जे पनि गर्न सक्ने हुदा इच्छा शक्ति हुनुपर्नेमा उनले जोड दिइन । साथै कार्यक्रममा नवनारीका प्रबन्ध निर्देशक बिनोद पछाईले नवनारी १२ औं बर्ष सम्म आइपुग्दा पाठकको मन जित्न सफल भएको र सबैको साथले अगाडि बढिरहेको बताए । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने नवनारीले यो पटक पनि आफ्ना नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । साथै कार्यक्रममा यो बर्षको उत्कृष्ट कर्मचारि सम्मान ज्योतिषचार्य र बास्तुविद् प्रेम प्रसाद पराजुलीलाई प्रदान गरिएको थियो । उनलाई नगद एघारहजार एक सय एघार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले सममान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई मन्त्री थममाया थापा र नेपाल सरकारका सचिव डा. रमेश प्रसाद सिंह को हातबाट सम्मान प्रदान गरिएको थियो ।

नवनारी सम्मान २०७६ बाट सम्मानित हुनेहरुको बारेमा तयार पारिएको छोटो परिचयात्मक रिपोर्ट

शान्ता चौधरी, सामाजिक अभियन्ता÷राजनीतिकर्मी :
नेपालकी समाजसेवी तथा राजनीतिकर्मीको रुपमा आँफूलाई स्थापित गरेकी शान्ता चौधरी आठ वर्षको कलिलो उमेरदेखि २५ वर्ष सम्म जमिन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी नारी हुन् । आँफू बुझ्ने भए पछि विद्रोह गरि सामाजिक कार्यमा सक्रिय भइकी उनले आँफू कम्लरीबाट उम्किए पछि अरु १७ जना कम्लरीलाई आँफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरेकी थिइन । प्रौढ शिक्षामा पढेर अक्षर चिनेकी उनले आठ कक्षामा भर्ना भएर प्रवेशिका समेत उत्तीर्ण गरिसकेकी छिन् भने दश जोड दुईको अध्ययनलाई निरन्तरता दिदैछिन् । कम्लरीदेखि सभासदसम्म उनको पहिचान हो । उनी तत्कालिन नेकपा एमालेको कोटाबाट नेपालको पहिलो संविधानसभा सदस्य भइन् । महिला भएकै कारण जीवनमा अनेकन लाञ्छाना भोगेकी शान्ताका पाइला र आत्मविश्वास भने कहिले डगमगाएन । उनी आफ्नो लक्ष्यमा अडिग छिन्, संविधान निर्माण देखि नीति निर्माण तह सम्म पुगेर मुलुकका विभिन्न विकृति, विसंगतिलाई तोड्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । हाल नेकपाको संसदीय दलको प्रमुख सचेतकको भूमिका समेत रहेकी शान्ताले गीतकारको रुपमा आफ्नो नयाँ परिचय थपेकी छिन्, आफ्नै जीवनकथामा आधारित उनका दुइवटा गीत रेकर्ड भइसकेका छन्, सन्तोष श्रेष्ठको संगीत रहेको उनका गीतमा चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् ।

चैतन्य देवी सिंह, वरिष्ठ कलाकार
वरिष्ठ कलाकार चैतन्य देवी सिंहको जन्म वि.सं. २००७ सालमा काठमाडौंको सुन्धारामा माता स्व.नानी मैया सिंह र पिता स्व. चक्रवीर सिंहकोे एक्लो सन्तानको रुपमा भएको हो । सानै उमेर देखि कलाकारितामा लागेकी उनी लगभग ५÷७ वर्षको उमेरमा मामाले नृत्य सिकाउने ठाउँमा जाँदा जाँदै थाहै नपाई नृत्यकलामा प्रवेश गरेकी थिइन्, उनले नेपाली कथानक चलचित्र आमा मा आमाको भूमिका निर्वाह गरेकी थिइन्, नेपाली चलचित्रको इतिहासमा आमाको भूमिका निर्वाह गर्ने पहिलो कलाकार पनि हुन् उनी । कालाकारिताको तालिम लिन उनी रुस पुगिन्, त्यहाबाट फर्के पछि रोयल नेपाल फिल्म प्रोडक्सनमा काम गरिन् । त्यत्तिवेला नेपालको पहिलो सहायक महिला निर्देशकका रुपमा उनी आफ्नो भूमिका निर्वाह गरेकी थिइन । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा उनले नायिकाको भूमिका निर्वाह गरेकी थिइन । चलचित्र अभिनयकै सन्दर्भमा भेटिएका जापानी नागरिक एसमिनाल्थो संग उनको विवाह भयो । नेपाली कलकारिताको क्षेत्रमा उनको योगदान अतुलनीय रहेको छ। उनले धेरै चलचित्र अवार्डहरुमा निर्णायको भूमिका निर्वा गरेकी छिन् भने भुवन चैतन्य वासु फाउण्डेशन कि उनी उपाध्यक्ष रहेकी छिन् ।

श्री मन्टेश्वरी राजभण्डारी, वरिष्ठ संचारकर्मी

मन्टेश्वरी राजभण्डारी तनहुँ बन्दीपुरमा जन्मिएकी हुन् । समाजशास्त्रमा उच्च शिक्षा हासिल गरेकी उनी न्यु एरा बाट विभिन्न सर्वेक्षण कार्यको लागी नेपालमा विभिन्न दुर्गम गाउँ सम्म पुगिन् । त्यो अनुभवले उनले पत्रकारिताको अध्ययन गर्ने सोच पलायो । पछि उनी संचारको शसक्त माध्यम रेडियोमा प्रवेश गरिन् । रेडियो नेपालको यात्रा हुदै उनीहरुको समुहले ‘कम्युनिकेसन कर्नर खोल्यो, कम्युनिकेशन कर्नरको प्रस्तुति ‘कायाकैरन’अहिले पनि श्रोता माझ उत्तिकै लोकप्रिय रहेको छ । ‘हाकाहाकी’ होस् या कम्युनिकेसन कर्नरका अन्य प्रस्तुति उनका सबै कार्यक्रमहरु श्रोताले अत्यधिक रुचाए । ‘नेपाल दर्पण’ उनको अर्को लोकप्रिय कार्यक्रम थियो । समाचार मूलक उक्त कार्यक्रम जिल्लाका रेडियोले त्यही समाचार हुक गरेर प्रसारण गर्थे । प्रायः देशभर कम्युनिकेसन नेटवर्कको समाचार सुनिन्थ्यो । शसस्त्र द्वन्द्वको त्यो बेला उनको आवाजमा गुञ्जिएको समाचार सुनेर उनलाई माओवादीका विभिन्न शीर्ष नेताहरुले आँफूले पठाएको समाचार नपढेकोमा धम्की सहन पथ्र्यो । यहि धम्कीको कारणले विहान झिसमिसैमै स्टुडियो पुग्न उनी हरेक दिन फरक बाटो रोज्थिन् । रेडियोमा उनको जिम्मेवारी समाचारसँगै व्यवस्थापनमा थियो मन्टेश्वरी राजभण्डारी ‘उज्यालो नाइन्टी नेटवर्क’को साथसाथै नेपालकै रेडियो इतिहासमा पहिलो महिला स्टेसन म्यानेजर हुन् ।

उषा शेरचन, वरिष्ठ साहित्यकार

उषा शेरचनको जन्म विक्रम सम्वत २०१२ साल भाद्र ६ गते स्व. बुवा झपट बहादुर भट्टचन र आमा याम कुमारी भट्टचनको कोखबाट गणेश टोल, नालामुख पोखरामा भएको हो । साहित्य, कला, संगीत र वाङ्मयमा लागे छोरी विग्रन्छन् भन्ने संकुचित मानसिकताको त्यति बेलामा समाजमा उनी साहित्य मार्फत समाज परिवर्तनमा सक्रिय थिइन् ।
घरका धेरै काम मैले गर्थे, विहानै उठेर गाग्री बोकेर धारामा पानी लिन जानु, आएर घर लिपपोत गर्नु, दिदीलाई अन्य काममा सघाउनु लगायतका काम विहानै सकिन्थो अनि मात्र स्कुल जान पाइन्थ्यो, मुमाको चाहना त अझ ‘खाना पनि पकाइदिए हुने’ भन्ने हुन्थ्यो । बेलुका घर आए पछि पनि फेरी धारामा पानी लिन जाने तथा बेलुकाको खानपिनको लागी घरमा सघाउने काममा म जुट्थे, घरमा यिनै विविध कामले गर्दा पनि होला म विद्यालय कि असल छात्रा भए पनि मेधावी छात्रा भने हुन सकेकी थिइन, पढाईमा म मध्यम थिए । म अलि जिद्दी पनि थिए, म मेरो मनले राम्रो मानेको कुरा गरिछाड्थे । एस.एल.सी पछिको अध्ययन उनले तत्कालीन दरवारमा बसेर अगाडी बढाइन् । रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्न जादा उनी दरवारको गाडीमा जान्थिन् । २०३५ सालमा गोरखापत्रमा ‘जिन्दगी’ शीर्षकको उनको पहिलो कविता छापियो । रंगमञ्चमा अभिनयको पाटोबाट समेत समाजका संकुचित अवधारणाको पर्खाल भत्काउन उनले भूमिका खेलेकी छिन् । २०३८ साल फागुन २० गते डी.बी. शेरचनसँग बैवाहिक बन्धनमा बाँधिएकी उनका नजन्मेका आस्थाहरु (कविता–संग्रह) , अक्षरहरुका शिविरबाट (मुक्तक–संग्रह) ,सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता–संग्रह) ,तेस्रो रङ्ग (कथा सग्रह), गीति एल्बम अभीप्सा,सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन, आकाश छुने रहर , वियोण्ड द फ्रन्टिर्यस (ख्याति प्राप्त महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कथा संग्रह) र डटर अफ दि अर्थ ( समकालिन महिला स्रष्टाहरुका अंग्रेजिमा अनुवादित कविता संग्रह) आधी उपन्यास प्रकाशन भएका छन् उनको लेखाईको कदर स्वरुप उनले ब्यथित–काब्य पुरस्कारः(२०४३) ,लोकप्रिया पुरस्कार (२०५७), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार(२०५७), व्यथित–काव्य वनिता पुरस्कार(२०६९), रत्नश्री–सुवर्ण–पदक (२०४०) , कविता महोत्सव पदक (२०४५) , वीरेन्द्र–ऐश्वर्य सेवा पदक (२०५८ ) , विश्व नारी नेपाली साहित्य पदक(२०७१) , भानुभक्त स्वर्ण पदक (२०७१) र अन्य केही पुरस्कार गरेकी छिन् । नारायण गोपाल संगीत कोष कि अध्यक्ष उनी अन्य दर्जनौ सामाजिक र साहित्यिक संघसंस्थामा जोडिएर साहित्य, समाज र संगीतको सेवामा समर्पित रहेकी छिन् ।

 

लाक्पाफुटी शेर्पा, पर्यटनविद्

सोलुखुम्वुको लुक्लाबाट लगातार एकघण्टा हिँडेपछि पुगिने अत्यन्त दुर्गम ठाउँ मुसे गाउँमा लाक्पाफुटी शेर्पाको जन्म भएको हो । फेब्रुअरी महिनाको ५ तारिख १९६४ मा आमा बुबाको ९ जना सन्तान मध्ये कि उनी पहिलो सन्तान हुन् । उनले प्रारम्भमा महेन्द्र ज्योति माध्यमिक विद्यालय, पढिन् । २०४४ सालमा स्थापना भएको यो विद्यालयमा उनी पढ्न आउँदा एडमण्ड हिलारीले आफैं काठ काटेर, ढुंगाको माटोमा गारो हालेर बनाएको समेत देख्ने गर्थिन् । उनी भन्छिन् ‘मैले स्कुलको एउटा कुनामा काठ ताछिरहेको, कीला ठोकिरहेको हिलारीलाई देखेकी थिएँ ।’ १२–१३ को उमेरमा बुवा संग जिद्दी गरेर उनी पहिलो पटक ट्रेकिङ गएकी थिइन् । राष्ट्रिय विभुति नेपाली प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको आरोहण दलकी सदस्यको रुपमा उनले २०४९ फागुनको २५ गते सगरमाथा आरोहणको लागी पहिलो पाइला चालिन् । ७४०० मीटरको उचाईमा रहेको केम्प ३ सम्म उनी पुग्न सफल भइन् । यसै बीचमा उनी पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त भएकी उनी २०६६÷१÷२० का दिन प्रतिष्ठानको कार्यकारी निर्देशक (सदस्य–सचिव) का रुपमा म नियुक्त भइन्, नेपाल सरकारका कर्मचारीहरु सगरमाथा आरोहणका लागि जाने भए । यसको सम्पूर्ण व्यवस्थापन, जिम्मेवारी, सामान खरिद, निर्देशक प्रतिष्ठानले पाउने भयो । अनि यो महत्वपूर्ण काम आएपछि उनी चौबीसै घन्टा खटिएर यो अभियानलाइ सफल बनाइन् । हाल उनी सोही प्रतिष्ठानको अध्यक्षको भूमिकामा रहेकी छिन्, संसारमा नै पहिलो पर्यटन सम्वन्धी अध्ययन हुने पर्वतीय प्रशिक्षण प्रतिष्ठान विश्व कै पर्यटन सम्वन्धी अध्ययन हुने पहिलो विश्व विद्यालय स्थापनामा सक्रिय रहेको छ, यो नै उनको सपना पनि रहेको छ ।

तारा थापा, वरिष्ठ गायिका

सय थरी बाजा एउटै ताल…..
तारी देउ हे माझी दाई……
सबैले दिने यस्तै हुन्छ माया, तर म बेग्लै प्रित दिन्छु …..
कटर कटरमा …..नेपाली संगीत आकासमा संधै गुन्जिरहने यी यस्ता मीठा मीठा कालजयी गीतहरु पस्केकी गायिका तारा थापा सदावहार गायिकाका रुपमा नेपाली श्रोता माझ परिचित छन् । उनका गीतहरु आज र हिजो उत्तिकै रुपमा लोकप्रिय छन् । नयाँ पुस्ताका कलाकारहरुले उनको गीत गाएर आफुलाई धेरै अगाडि बढाइसकेका छन् भने स्कुल, कलेज मात्र होइन बिभिन्न कार्यक्रमहरुमा उनका गीतहरु घन्किन्छन् ।गायिका तारा थापाको पुर्खौली घर पाल्पा हो, उनको जन्म भने भारतको देहरादुनमा भएको हो । बिक्रम संवत २०१२ साल माघ १३ गते जन्मेकी उनको बाल्यकाल भारतमा नै वित्यो । उनी ५ दाजुभाइ र पाँच दिदी बहिनी मध्येकी जेठी सन्तान हुन् । उनको सानै देखि गायनमा रुचि थियो त्यसैले पनि लता मंगेसकरले गाएका हरेक गीतहरु सुन्ने र गाउने गर्थिन् । उनलाई लता मंगेसकरका गीतहरु असाध्यै मन प¥थ्यो । २०२८ साल चैत २८ गतेकै दिन उनले सिके रसाइलीको संगीत र सरोज गोपालको शब्दमा माझी दाई डुगामा तारीदेउ, तालको पानीमा सलल बोलको गीत पुर्ण सिंह नेपाली सँग गाएकी थिइन् । उनको समयमा लोक गीत गाउने गायक गायिकालाई गाइने भनेर हेप्थे मानिसहरुले तर उनी र साथीहरु मिलेर रेकर्ड गराएको पहिलो एल्बम तिनै मानिसले सुपर हिट बनाइदिए । गीत संगीतको माध्यमबाट नै उनले संसारका विभिन्न मुलुकहरुको भ्रमण गरेकी छिन् । उनले बालगीत, राष्ट्रिय गीत, लोक, आधुनिक गीत गरेर ६ सय भन्दा बढी गीत गाएकी छन् ।
सीमा गोल्छा, व्यवसायी
सीमा गोल्छाको जन्म भारतको देहरादूनमा भएको हो ।स्कोलर्स होम, देहरादुनबाट विद्यालय शिक्षा सकेकी उनले मिरान्दा हाउस दिल्ली युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरिन् । दिल्ली युनिभर्सिटीमा पढ्दै गर्दा भेट भएका शेखर गोल्छा संग प्रेम सम्वन्ध पछि बैवाहिक बन्धनमा बाँधिएर उनी नेपाल भित्रिएकी हुन् । आफ्ना श्रीमान शेखर गोल्छा र ससुरा हुलास चन्द गोल्छाको साथ, सहयोग र उत्प्रेरणले उनी व्यवसायमा प्रवेश गरिन् । ब्यापार गर्न पैसाभन्दा पहिले आँट, जोखिम लिन सक्ने क्षमता, नेतृत्व क्षमता, धैर्यता हुनु पर्छ, यहि मुल मन्त्रले उनी व्यवसायमा सफल बन्दै गइरहेकी छिन् । हाल उनी हिम इलेक्ट्रोनिक्स कि निर्देशकको भूमिकामा रहेकी छिन् । उनकै कन्सेप्टमा खुलेको ब्राण्डेड शोरुम ‘सामसुङ प्लाजा’ ले हालसालै आफ्नो स्थापनाको १६औं जन्मोत्सव मनाएको छ। सामसुङ प्लाजामा कोरियन ब्राण्डको सामसुङ टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेशिन, माइक्रोवेभ, बजाजका घरायसी उपकरणहरु तथा सामसुङकै मोबाइल सेटहरु ‘फिक्स्ड रेट’ मा पाइन्छ। पहिलोपटक काठमाडौंको दरबारमार्गमा खुलेको यो शोरुमले त्यसबेला धेरैको ध्यान तान्यो।
पछिल्लो समय उनी महिला शसक्तिकरण र सामाजिक कार्यमा समेत आफ्नो सक्रियता बढाइरहेकी छिन् । उनी महिला सशक्तीकरणका लागि काम गर्ने जोन्ता क्लब अफ काठमाडौंकी वरिष्ठ उपाध्यक्ष हुन्।, उनी कहिले टिच फर नेपालका लागि ललितपुरको दूर्गम गाउँ पुगेर बच्चा पढाउँछिन् त कहिले सिन्धु्पाल्चोक, कैलाली जस्ता ठाउँमा किशोरीहरुको महिनावारी ब्यबस्थापन सहज बनाउन अग्रसर हुन्छिन्, उनी संलग्न संस्थाले जेलभित्रका महिलाहरुलाई समाजमा पुनस्र्थापनाका लागि जीवन सकारात्मक र फरक बनाउन सीपमूलक तालिमहरु संचालन गर्छ भने उक्त संस्था शौचालय बनाउने अभियानमा पनि जुटेको छ। उनले सरकारी विद्यालयका पचास भन्दा बढि छात्राहरुलाई निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था मिलाएकी छिन् । ब्यापारबाट फुर्सद निकालेर उनी यस्तै यस्तै काममा रमाउँछिन्। उनलाई महिला सशक्तीकरणका मुद्दाले बढी सेन्सेटिभ बनाउँदै लगेको छ ।
डा. कस्तुरी मल्ल, वरिष्ठ स्त्री रोग विशेषज्ञ
डा. कस्तुरी मल्लको जन्म सन् १९४८ अप्रिल ५ मा भएको हो । भारतको कलकत्ता स्थित आर.जि कर मेडिकल कलेजबाट एम.वि.वि.एस गरेकी उनले अष्ट्रिया र अमेरिकाबाट चिकित्साशास्त्रका उच्च डिग्री हासिल गरिन् । बेलायत, स्वीडेन, क्यानडा लगायत विश्वका विभिन्न मुलुकहरुबाट उनले विषयगत तालिम हासिल गरिन् । मेडिकेयर नेशनल अस्पताल, पश्चिमाञ्चल अस्पताल, पोखरा, कोशी अञ्चल अस्पताल, सगरमाथा अञ्चल अस्पताल लगायत उपत्यका बाहिरका विभिन्न अस्पतालमा रहेर विरामीको सेवा गरेकी उनी वीर अस्पतालको रजिष्ट्रार, मुलुकभरका विभिन्न अञ्चल अस्पतालमा कन्सल्ट्यान्टको रुपमा समेत सेवा गरिन् । प्रसुति गृह थापाथलीमा रहेर देशभरबाट आएका गर्भवती महिलाहरुको जटिल भन्दा जटिल सल्यक्रिया गरेर जीवन बचाएकी उनी सोही अस्पतालको निर्देशक समेत भएर चिकित्सकीय भूमिकाको साथै प्रशासनिक भूमिकामा समेत आँफूलाई अब्बल सावित गरेर देखाउन उनी सफल भइन् । देशका विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु संचालन गरि उनले गर्भवती र सुत्केरी आमाहरुलाई सेवा पुर्याएकी छिन् । चिकित्सकीय भूीमकाका साथै मानवीय भूमिकामा समेत उनले आँफूलाई सामाजिक कार्यमा समर्पित गरेकी छिन् । इनरह्विल क्लव अफ राजधानीको अध्यक्ष लगायत अन्य विभिन्न संघसस्थामा रहेर पनि उनले आँफूलाई सामाजिक कार्यमा समर्पित गरिरहेकी छिन् ।

 

पवित्रा लिम्वु, वरिष्ठ शिक्षासेवी
पवित्रा लिम्वु नेपालको शिक्षा क्षेत्र कि एक हस्ती हुन् । नीजि विद्यालयको शिक्षिकाको रुपमा आजभन्दा पैतीस वर्ष अगाडी शिक्षा क्षेत्रमा प्रवेश गरेकी उनी प्रिमियर इन्टरनेशनल स्कुल, मन्टेश्वरी किन्डरवल्र्ड, नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर कि संस्थापक हुन् । उनले शिक्षा क्षेत्रलाई दिएको योगदान महत्वपूर्ण रहेको छ । शिक्षा क्षेत्रमा उनले प्राप्त गरेको सफलता रातारात प्राप्त गरेको सफलता भने होइन । अहिले सम्मको निरन्तर मेहनत र लगनशिलताले उनी यो स्थान सम्म आइपुगेकी छिन् । शिक्षाको विकास र उत्थानको लागी विश्वका विभिन्न मुलुकहरुमा समेत पुगेर तालिम लिएकी उनको योगदान मन्टेश्वरी शिक्षामा पनि विशेष रहेको छ । बालबालिकाले आफ्नो वातावरण संग अन्तक्रिया संगै सिक्ने पद्दती, जुन पद्दतीमा विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरुको क्षमता पहिचान गरि सिकाउने गरिन्छ, इटाली कि फिजिशियन तथा शिक्षाविद् मारिया मन्टेश्वरीले सुरुवात गरेको यो पद्धती अहिले संसारभर प्रचलित छ । नेपालमा पनि यसको आवश्यकताबोध भएर उनले नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर संचालन गर्दै आइरहेकी छिन्, जहा मन्टेश्वरीको विभिन्न तालिम दिइ दक्ष बनाइन्छ, त्यसरी दक्ष भएका शिक्षिकाहरुले विभिन्न मन्टेश्वरी विधिका शिक्षालयहरुमा संलग्न रहेर भोलीका कर्णधार बालबालिकालाई मन्टेश्वरी विधिबाट पठनपाठन गराइरहेका छन् भने उनी आफैले मन्टेश्वरी किन्डरवल्र्ड संचालन गरेकी छिन् । उनी निर्देशक रहेको प्रिमियर इन्टरनेशनल स्कुलमा विश्वको नविनतम प्रविधिको प्रयोगबाट पठन पाठन हुने गर्दछ, उक्त विद्यालय नेपालका उत्कृष्ट विद्यालय अन्तर्गत पर्दछ ।

 

 

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest