निरन्तर सहयात्रामा रमाउदै बज्राचार्य जोडी

Wednesday, January 29th, 2020

 विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो । विवाहको परिणामस्वरुप महिला, पुरुषमा धेरै दायित्वको सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण भएको अवस्थामा मात्र सक्षम हुन्छन्, यो अवस्थामा मात्र बैवाहिक जीवन सुखद हुने गर्दछ । आनन्दरत्न बज्रचार्य र नानु बज्राचार्यको वैवाहिक जीवन पनि यिनै कारणले सुखद रहेको छ ।
नेपाली गीतिकारितामा फरक धारका गीतकारको रुपमा परिचित आनन्दरत्न बज्राचार्यको जन्म काठमाण्डौको ज्याठामा भएको हो । उनले जुद्दोदय पब्लिक हाइस्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्यस पछि त्रिचन्द्र कलेज घण्टाघरबाट उनले मानविकी तर्फ प्रविणता प्रमाणपत्र तह र स्नातक तहको अध्ययन पुरा गरे । त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पुरा गरेका उनले फिलिपिन्सबाट खाद्य तथा पोषण योजनामा समेत स्नातकोत्तर तह पुरा गरेका छन् । २०४० साल मंशिर १० गते नानु बज्राचार्य संग मागी विहे गरेका गीतकार आनन्दरत्न बज्राचार्यका दुई सुपुत्र रहेका छन् डा. आशिकरत्न बज्राचार्य र आर्किटेक्ट आलोकरत्न बज्राचर्य ।
असन कि नानु बज्राचार्य संग मागी विवाह भए पनि विहे भन्दा दुई वर्ष अगाडी देखि उनीहरुको चिनजान, देखभेट र बोलचाल भइसकेको थियो । आनन्द कि बहिनी सुवर्णकेशरी, नानु र उनकी दिदी कलेजका सहपाठी पनि थिए, त्यसैले बेलाबेलामा उनी साथी संग भेटघाटको लागि आनन्दको घरमा पनि आउँथिन् । आफ्नी बहिनी संग भेट्न आउँदा आनन्द नानु संग केहि कुराकानी गर्थे तर कुराकानी नितान्त औपचारिक हुन्थ्यो, सन्चो विसन्चो, पढाई आदिका सन्दर्भमा । तर आनन्दको मनमा भने नानु प्रतिको एकखालको आकर्षण पैदा भइसकेको थियो । उनलाई आफ्नो जीवन कि सहयात्री बनाउन पाए जीवन सुखद हुने कल्पनाका तरंग उनका मनमा तरंगिन्थे, यसरी नानु प्रति आकर्षित भएका उनले नानुलाई प्रेम प्रस्ताव राख्नु भन्दा नानुको परिवारमा सिधै विहेको प्रस्ताव लैजानु उपयुक्त सम्झे । नानु कि दिदी नानीहिरा मार्फत नानुको आमा वुवा समक्ष विवाहको प्रस्ताव पुग्यो । आमा, बुवाले पनि आनन्दलाई चिन्नु भएकोले त्यति बेलाको शिक्षित, लगनशिल र सुन्दर युवक आफ्नी छोरीको लागि उपयुक्त भएको ठहर गरि दिदीलाई विवाहको लागि आँफूहरु राजी रहेको बताउनु भयो, तर नानुलाई भने यो कुरा थाहा नै थिएन । दिदीले यी कुरा सुनाइरहदा उनले आफ्नो विहे गर्ने उमेर नभएकोले अहिले विहे नगर्ने बताइन् । तर परिवारले सम्झाए पछि भने उनी पनि विवाहको लागि राजी भएकी थिइन् ।
विहेको कुरा अगाडी बढे पछि नानुको जीवनमा एउटा घटना घट्यो, जाडो महिना आउन लागेको थियो, भोगटे साँधेर खाने तयारी हुदै थियो, भाउजुले साँधेको भोगटेमा हाल्न तताएर ल्याइएको तेल नानुको हातमा ठोक्किएर आँखामा पर्यो । तत्कालै उनलाई नजिकैको वीर अस्पताल पुर्याइयो, त्यति बेला वीर अस्पतालमा ड्युटीमा आनन्दका दाजु डा. गौतमरत्न बज्राचार्य थिए, उनले तत्कालै नानुको उपचार गरे, सौभाग्यवस उनको आँखा ठीक भयो, कुनै अप्रिय परिस्थिति सृजना भएन । तर नानुको मनमा अहिले पनि एउटा प्रश्नले भने डेरा जमाइरहेको छ, ‘यदि त्यो दिनको घटनाले म दृष्टिविहिन भएकी भए के मलाई वहाले स्वीकार गर्नुहुन्थ्यो त ?’ ती पुराना दिनलाई सम्झेर तथा नेपालमा बर्सेनी आठ हजार आँखाको नानी नपाएकोले दृष्टिविहिन हुनु परेको र वर्षमा एक हजार मात्र नानी दाताबाट प्राप्त भएको परिस्थितिबाट उनको मन चिमोटिइरहेको अवस्थामा पछिल्लो समय आनन्दको परिकल्पनामा सामाजिक क्रिया संजाल नेपाल नामक संस्था दर्ता गरेर अहिले दुवै जना संस्थाबाट विशेष गरि आँखदान जनचेतनाका बारेमा काम गरिरहेका छन् । दुवै जनाले मृत्युपर्यन्त आँखादानको इच्छापत्र भरेर नेपाल आँखा बैंकलाई बुझाइसकेका छन् । रगतको आपूर्तिमा केहि सहजताको लागि उनकै परिकल्पनामा बज्राचार्य रक्तदान समाज पनि गठन भएको छ, हरेक तीन तीन महिनामा आयोजना हुने वृहत रक्तदान कार्यक्रममा आनन्द र नानुको सक्रिय भूमिका रहने गर्दछ ।

आनन्दले माया अनि त्यस वरिपरी घुमिरहने मिलन र विछोड, सुख र पीडा आदिका विषय बस्तु भन्दा फरक गीत लेखनमा आँफूलाई सक्रिय बनाएका छन् । उनका गीतहरुको पहिलो पाठक तथा श्रोता भने नानु नै हुने गर्छिन्, उनले लेखेका शब्दहरुमा नानुको सल्लाह र सुझाव अनुसार हेरफेर पनि हुने गर्छन् । उनले नानुलाई सम्झेर पनि केहि गीत लेखेका छन् । घरमा हुने सानातिना मनमुटावका भावलाई मिलाएर अघि बढ्न उनले एउटा गीत लेखे, जुन गीत नानुलाई धेरै मन पर्छ, कहिलेकहि नानु संग रिसाउदा उनी यहि गीत सुनाएर र गुनगुनाएर नानुलाई फकाउने गर्छन् ‘सम्झौता गरौ फेरी साथी बनौ…जे भो हिजो आज सवै विर्सिदिउ ..’ यसै पनि श्रीमान श्रीमतीको झगडा परालको आगो …त्यसमा पनि आनन्दले यो गीत गुनगुनाउदा नानु फुरुङ्ग हुन्छिन् अनि मनमा रहेका सबै रिसराग विर्सिदिन्छिन्, फेरी नयाँ र सुमधुर सम्वन्धको सुरुवात हुने गर्छ । आनन्दले अरु धेरै कुराले नानुलाई सम्झाउने गर्छन्, फकाउने गर्छन् । उनले समाजमा देखिने र भोगिने विभिन्न विषयवस्तुलाई संगालेर पुस्तक लेखे ‘हाम्रो समाज हाम्रो स्वभाव’ । उनले लेखेको यो कथा संग्रह पढेकी छिन् नानुले । ती कथाहरुले पनि उनलाई सकारात्मक हुन धेरै सघाउ पुगेको छ, उनी भन्छिन् ‘यी कथाहरु त घर घरमा सबैले पढ्नु पर्छ, जसले सकारात्मक हुन सिकाउँछ ।’
दुवैजनामा सकारात्मक भाव भएकोले होला उनीहरु दुवै एकअर्काको कुनै पनि कमजोरी देख्दैनन्, दुवैको आनीवानी दुवैलाई मन पर्छ । आनन्द जीवनमा आइपर्ने समस्याहरु नानुलाई बताउँदैनन्, आँफै सुल्झाउँछन्, समस्या सुल्झे पछि मात्र नानुलाई थाहा हुन्छ, आफ्नो समस्याले उनलाई तनाव नहोस् यहि भाव उनीमा रहने गर्छ, खाना खाने कुरा पनि निकै सहज छन् उनी, खानामा उनको गुनासो रहदैन, भान्छामा पाकेका सबै परिकार उनी मन पराएर खाने गर्छन्, विशेष गरि तिते करेला, उसिनेका परिकार, चिल्लो रहित परिकार आनन्दले मन पराउने नानु बताउँछिन् ।उनी जिव्रोको स्वादलाई भन्दा स्वास्थ्यको हितलाई मध्यनजर गरेर खाना खाने गर्दछन् । एउटै परिकार तीन, चार दिन सम्म खादा पनि सहज मान्छन् उनी, त्यसैले नानुलाई हरेक दिन फरक फरक खाना पकाइरहने झण्झट छैन । विरामी हुँदा पनि खाना खुवाउन सजिलो भएको उनी बताउँछिन् । कुनै दिन खाना नमिठो भएमा, दाल, तरकारीमा नुन हाल्न विर्सिदा पनि आनन्द रिसाउदैनन्, घुमाउरो र रमाइलो तरिकाले कमजोरी भने औल्याइदिन्छन् । ‘नानु पनि खानामा सजिलो मान्छे हुन्’ उनी थप्छन् । चामलको भात उनलाई खुवै मन पर्ने परिकार हो, सारी र कुर्ता सुरुवाल उनलाई सुहाउने र उनलाई मन पर्ने पहिरन हो ।
नानुका पनि धेरै सकारात्मक पाटाहरु छन् आनन्दको नजरमा । नानुलाई विहान उठे देखि सुत्ने बेला सम्म हरपल हसिलो मुहारमा देख्न पाउँदा आनन्द आनन्दित हुन्छन् । ‘छोराहरुलाई कहिल्यै चर्को बचन नगरि हुर्काएकी, पढाएकी र अनुशासनका कुरा सिकाएकी छिन् नानुले, मैले एउटी असल श्रीमतीको साथै छोराहरुले पनि एउटी असल आमा पाएका छन्, मेरी ९४ वर्ष कि आमा अनि दाजु भाउजुले असल बुहारी पाउनु भएको छ, बुहारीले सासु होइन दिदी पाएकी छिन्, इष्टमित्रलाई गर्ने व्यववहारमा पनि उनी कुशल र निपुर्ण छिन् … उनका अनगिन्ती राम्रा वानी छन्, ती सबै मैले शब्दमा बताउन पनि सक्दिन होला’ उनी भन्छन् । 
फिलिपिन्स, थाइल्याण्ड, लावस, भियतनाम, बंगलादेश, तान्जानिया, सिंगापुर, हंगकंग तथा चीन आदि लगायत नेपालका ६५ जिल्ला घुमेका आनन्दले नानुलाई पनि केहि मुलुकका भ्रमणमा नीजि खर्चमा नै संगै लैजाने योजना पनि बनाएका थिए, तर नानुको विदेश यात्रा प्रति खासै सोख नभएकोले उनको चाहना पुरा हुन सकेन, पोखरामा भने उनीहरु केहि समय संगै बसे । दुवैमा समझदारी र मेलमिलाप भए पनि केहि सानातिना आनीवानी सुधारिदिए हुन्थ्यो भन्ने दुवैजनामा रहेको छ । कहिलेकहि घर व्यवहारमा आनन्दको साथ खोज्छिन् नानु । बजारबाट ल्याउनु पर्ने सामाग्री ल्याउन आग्रह गर्छिन् उनी । आनन्दले ‘हुन्छ’ भन्ने जवाफ दिन्छन् तर लामो समय सम्म पनि त्यो सामान घरमा आइपुग्दैन । जुन चिज घरमा अत्यावश्यक भइरहेको हुन्छ । वेफुर्सदीले विर्सने कारणले यस्तो भएको आनन्द स्पष्टिकरण दिन्छन् । कहिले कहि झनक्क रिसाउने वानी छ नानुको, ‘यत्ति एउटा बानी सुधारिदिए त उनी वत्तीस लक्षणले युक्त हुन्थिन्’ आनन्द भन्छन् ।
आनन्दको ‘बाँच्ने रहर’ ‘अजनवी’ ‘बम्वै शहर’ लगायत गीति एल्वम बजारमा ल्याइसकेका छन्, आनन्दको गीतकारको हैसियतले धेरै पहिले देखि विभिन्न गायिकाहरु संग चिनजान र सहकार्य हुदै आइरहेको छ । त्यसै गरि सामाजिक कामको शिलशिलामा पनि विभिन्न नारीपात्रहरु उनी संगको सहकार्यमा रहने गर्दछन् । यसरी पुरुष भन्दा नारीपात्रहरु संगको सहकार्य, भेटघाट र उठवस असहज त लाग्दैन ? भन्ने जिज्ञासामा नानु भन्छिन् ‘वहाको जन्म नै नारीहरुले पूजा गर्ने छठ पर्वको दिन भएको हो । त्यसैले पनि हो कि वहाको धेरै संगत नारीहरु संगै हुन्छ, तर कामको शिलशिलामा, कामकै कुरामा मात्र वहाको संगत रहने भएकोले गुनासो छैन, फेरी वहाले संगत गरेका हरेक नारीपात्रलाई म संग चिनजान गराउनु हुन्छ, उनीहरु संग मेरो पनि सम्वन्ध जोडिन्छ, त्यसैले मलाई यसमा कुनै गुनासो छैन ।
वैवाहिक सम्वन्धको सफलताको श्रेय मित्रवत व्यवहार पनि हो, यहि व्यवहारले आज आनन्द र नानुको सहयात्रा एकअर्काको आवश्यकतालाई महसुस गर्दै, एकअर्का प्रति कुनै गुनासो विना कलकल बग्ने पानी जस्तै बगिरहेको छ । दुवैले जीवनका धेरै जिम्मेवारी पूरा गरिसकेका छन्, ‘बाँकी जीवन सामजिक र परोपकारी कार्यमा विताउँदै हाम्रो सहयात्रा अघि बढ्नेछ’ उनीहरु एकै लयमा प्रतिवद्धता जाहेर गर्दछन् ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest