निर्देशक र नायिकाको उत्कृष्ट जोडी

Monday, November 4th, 2019

दिवाकर र दिपिका
फरक भूगोल, फरक पृष्ठभूमि अनि फरक फरक सोच र विचारका नारी र पुरुष विचको मिलन नै विवाह हो । सफल बैवाहिक सम्वन्धले जीवनयात्रालाई सहज र सरल बनाउँछ, जीवनमा आइपर्ने विभिन्न असजिला परिस्थितिहरु पार गर्न एकअर्काको साथले सहज हुने गर्दछ । दुवैको एकअर्का प्रतिको कोमल भाव, आपसी सद्भावपूर्ण प्रेम, एकअर्का प्रतिको विश्वास र समर्पणले वैवाहिक जीवनलाई सुखी, उल्लासमय र चीरस्थायी बनाउँछ । सामाजिक कार्य विषयमा स्नातक गरेकी, चलचित्र ऐश्वर्य, हेल्लो जिन्दगी र छक्कापन्जा ३ कि नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईको वैवाहिक सम्वन्धमा यिनै सारभूत तत्वहरु रहेका छन्, जसले गर्दा उनीहरुको जोडी चखेवाको जोडी जस्तै छ । भौगोलिक हिसावले दिवाकर पहाडी जिल्ला सिन्धुलीमा जन्मेका हुन् भने दिपिका तराई जिल्ला कैलालीको अत्तरियामा । फरक भूगोलका उनीहरुको भेटघाट भने काठमाण्डौंमा भएको हो । पेशा बनाउने उद्देश्य नभई रहरले मोडलिङको क्षेत्रमा प्रवेश गरेकी दिपिकाका केहि तस्वीरहरु विभिन्न संचार माध्यम र सामाजिक संजालमा प्रकाशित भएका थिए । यता दिवाकर आँफू निर्देशित चलचित्र ‘ऐश्वर्य’को लागि उपयुक्त पात्र खोजिरहेका थिए । दिपिकाको एउटा तस्वीरले उनको ध्यानाकृष्ट गरायो । उनले दिपिकालाई फेसबुकमा सर्च गरेर सन्देश पठाए, ‘रिक्वेष्ट म्यासेज’ लाई खासै ध्यान नदिने भएकोले उनले दिवाकरको म्यासेज देखिनन् । झण्डै छ महिना सम्म दिवाकर उनको प्रतिउत्तर पर्खिरहे, तर यो अवधिमा उनले अन्यलाई पनि भेटेर कुराकानी गरे, तर ती मध्ये कसैमा पनि उनी सन्तुष्ट हुन सकेनन् । दिपिका संगको सम्पर्क प्रयासमा उनी लागिरहे, लगभग छ महिना पछि दिपिकाले दिवाकरको म्यासेज देखिन् र प्रतिउत्तर पठाइन् । दिवाकरले उनलाई भेट्न बोलाए, फिल्म खेल्ने रहर भन्दा पनि दिवाकरको धेरै पटकको आग्रहले उनी दिवाकरलाई भेट्न उनको अफिस बसुन्धारामा गइन् ।
दिवाकरले दिपिकालाई तस्वीरमा जुन रुपमा देखेका थिए, प्रत्यक्ष भेट्दा भने निक्कै फरक पाए, उनी साधारण पहिरन र मेकअपमा थिइन् । तर उनको यहि साधारण र सोझोपनमा दिवाकरले सम्भावना देखे, ‘ऐश्वर्य’को लागि अफर गरे, त्यो दिन केहि कुराकानी भयो, स्क्रिप्ट सुनाए, कुनै जवाफ नदिई दिपिका फर्किन् । उनको मनमा विभिन्न कुराहरु खेले, चलचित्र क्षेत्रमा सुनिने गरेका नकारात्मक हल्लाहरु, आफ्नो अध्ययनरत समय आदिका कारणले दिपिका अगाडी बढ्ने या नवढ्नेमा दोधारमा परिन् । दिवाकरले उनलाई पटक पटक भेटेर धेरै सम्झाए, यो आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर हो, रमेश उप्रती लगायतको राम्रो टिम भएकोले काम सजिलो हुन्छ भने पछि उनी दिवाकरको कुरामा ‘कन्भिन्स’ भइन् । त्यस पछि चार पाँच महिना उनले दिवाकर संग क्लाश लिइन्, यो अवधिमा दुवैले दुवैलाई बुझ्ने प्रसस्त मौका मिल्यो । दिवाकरले उनलाई विभिन्न पाटोबाट समेत अध्ययन गरे । नयाँ कलाकारलाई दक्ष बनाउन त्यति सजिलो पनि थिएन, तर दिवाकरको निरन्तर प्रयासले दिपिकाले अभिनयका धेरै कुरा सिकिन्, आँफूले सिकेको सीप चलचित्र ऐश्वर्यमा देखाइन्, ऐश्वर्यमा उनको अभिनयको सन्दर्भमा दिवाकर भन्छन् ‘एउटा निर्देशकले कलाकारबाट असिमित अपेक्षा गरेको हुन्छ, कलाकारले सतप्रतिशत दिए पनि सन्तुष्ट भइदैन, दिपिकाले ‘ऐश्वर्य’मा जे जति गरिन् राम्रो गरिन् ।’ साथै अन्य नयाँ कलाकारहरु संग भन्दा दिपिका संग काम गर्दा सजिलो भएको बताउँदै उनी भन्छन् ‘दिपिकाले कामलाई एकदमै महत्व दिन्छिन्, आफ्ना समस्याहरुलाई पन्छाएर काममा दत्तचित्त हुनु, आफ्नो कारणले अरुलाई असजिलो र दुःख नहोस् भन्ने धारणाले प्रस्तुत हुनु उनका राम्रा गुण हुन्, जुन गुणको म खुलेर तारिफ गर्छु । ’ हुन पनि दिपिका कोमल भाव कि छिन्, उनी आँफू असजिलो सहेर नै अरुलाई सजिलो बनाइदिन्छिन्, कसैलाई नराम्रो भन्दिनन्, कसैको मन दुखाउन उनी चाहन्नन्, कसैको कुराले आफ्नो मन दुखेको छ भने बरु एकान्तमा एक्लै रुन्छिन् तर अरुलाई जवाफ फर्काउदिनन् ।
दिवाकरको विहे गर्ने उमेर भइसकेकोले घरबाट वारम्वार विहेको लागि कुरा आइरहेको थियो, केहि महिनाको निरन्तरको संगतले उनी दिपिका नै आफ्नो जीवनसाथीको लागि उपयुक्त पात्र भएको निष्कर्षमा पुगे, ‘ऐश्वर्य’ को छायांकन अगाडी दिवाकरले दिपिकालाई प्रस्ताव राखे, प्रेमको होइन विहेको । त्यसो त दिपिका पनि दिवाकर प्रति सकारात्मक झुकावमा थिइन्, उनलाई पनि दिवाकर असल र राम्रो लाग्थ्यो, दिवाकरको प्रस्ताव आइसके पछि दिवाकरले पनि आँफूलाई राम्रो मानेको थाहा पाइन्, तर दिवाकरको प्रस्तावको उनले कुनै प्रतिक्रिया दिइनन्, परिवार संगको सल्लाह जरुरी छ भनेर उनी तत्काललाई पन्छिइन् ।उनले यो कुरा आँफू भन्दा सानो भए पनि व्यवहारमा परिपक्क भएकोले सर्वप्रथम आफ्नो भाईलाई सुनाइन् । भाईले पनि दिवाकर असल मान्छे भएकोले अगाडी बढ्न सुझाव दिए, कुरा उनको घर अत्तरिया सम्म पुग्यो, वुवा दुर्गा प्रसाईले ‘भेटेर कुरा गरे पछि मात्र निर्णय लिन सकिने’ बताउनु भयो । केहि समयको अन्तरालमा भेटघाटको चाँजोपाजो पनि मिल्यो । वुवा र फुपु संगको भेटमा पनि दिवाकर ‘पास’ भए । भाइवहिनीको समेत जिम्मेवारी सम्हालेर अभिभावकत्व दिएका दिवाकरलाई भने आफ्ना आमाबुवालाई सम्झाउन सक्छु भन्ने आत्मविश्वास थियो । सिंह राशीका दिवाकर र मकर राशी कि दिपिकाले ज्योतिष संग दुवैजनाको चिना देखाएर पनि परामर्श गरे, चिना देखाउँदा पनि दुवैको जोडी उपयुक्त हुने निष्कर्ष निस्कियो ।यहि विचमा दिपिकाको भाइ अष्ेट्रलिया गए, त्यस पछि उनी काठमाण्डौमा एक्ली भइन्, त्यो एक्लोपनमा दिवाकरले विश्वासिलो अभिभावकको भूमिका पनि निर्वाह गरे दिपिका प्रति ।
चलचित्रको छायांकनमा उनीहरु धेरै ठाउँ पुगे, धेरै खालका असजिला परिस्थितिहरु पनि दिपिकाले सामना गरिन्, दिवाकरको काम गर्ने र काम लिने शैली, गाह्रो, अप्ठ्यारो अवस्थामा उनको सहयोगी भावना आदिले दिपिकाको मनमा दिवाकर प्रतिको सकारात्मक छाप बढ्दै गयो । झण्डै दुई वर्षको अवधि उनीहरु प्रेम सम्वन्धमा बाँधिए, तर उनीहरुको यो प्रेमको बारेमा सबै वेखवर नै रहे, कामको बेलामा काममै सिमित रहने, एकअर्कालाई सधैं सम्मानित व्यवहार गर्ने कारणले पनि उनीहरुको प्रेम सम्वन्धको कसैले सुइको पाएन ।
२०७६ बैशाख २४ गते दिपिका र दिवाकर बैवाहिक बन्धनमा बाँधिए । विवाह पछि उनीहरु दुवैले केहि फरकपन महशुष गरे, विवाह अगाडी एक खालको स्वतन्त्रता थियो भने विवाह पछि विभिन्न सामाजिक परिवेश, दुवै तर्फका पारिवारिक सम्वन्धका आ–आफ्नै संस्कारहरुमा उनीहरु अभ्यस्त भइरहेका छन्, यो परिवेशमा पनि छुट्टै रमाइलो हुने उनीहरु बताउँछन् । ‘विवाह पछि दुवैमा फरक जिम्मेवारीबोध भएको छ, यो जिम्मेवारीलाई हामी दुवैले सफलतापूर्वक निर्वाह गर्नेछौं’ उनीहरु विश्वास दिलाउँछन् । दिपिका बुहारी भएर गृह प्रवेश गरे संगै घरमा छुट्टै खुशीको वातावरण छाएको छ, सासु, ससुरा, नन्द,देवर, प्रति र नातागोता भित्र गर्नु पर्ने माया, ममता र आदर सत्कारमा दिपिका परिपक्क छिन् । घर व्यवहार सम्हाल्ने सन्दर्भमा पनि उनी सफल छिन् ।
दिपिका र दिवाकर वीच एउटा मजवुत सम्वन्ध जोडिएको छ यो जुनी भरीलाई, उनीहरु असाध्यै खुशी छन् जीवनमा एकअर्कालाई पाएकोमा । वेमेल, झगडा भन्ने शब्दको कुनै अर्थ छैन उनीहरुको सहयात्रामा । दिपिकाका नराम्रो वानी केहि देख्दैनन् दिवाकर न त दिवाकरका नै केहि त्यस्ता वानी छन् जो दिपिकालाई मन पर्दैन । दिपिका विहान अलि अवेर सम्म सुत्छिन्, यो वानी सुधारिदिए हुन्थ्यो भन्छन् दिवाकर । बेलुका अवेर सम्म काममा व्यस्त भएकीले विहान उठ्न अलि ढिला हुने जिकिर लिन्छिन् दिपिका । दिवाकरको रिजर्भ बानी प्रति अलि गुनासो छ दिपिकाको । ‘हो, वहा आमा,वुवा, भाई बहिनी सबैलाई असाध्यै माया गर्नु हुन्छ, तर त्यो माया वहाको मन भित्रै सिमित हुन्छ, देखाउनु हुन्न, नदेखाइ मनको माया कसरी थाहा पाउने ? वहाको यो बानी सुधार्न पनि म लागिरहेकी छु ।’ दिपिका भन्छिन् । बेलुका घर फर्के पछि मोवाइल चलाउने बानी छ दिवाकरको । विहान देखि बेलुका अवेर सम्म काममा व्यस्त, अनि घर आए पछि पनि मोवाइलमा भुलेको दिपिकालाई मन पर्दैन, ‘बेलुका मोवाइल धेरै नचलाइदिए हुन्थ्यो’ दिपिका भन्छिन् । तर उनले मोवाइलमा के हेर्छन्, के चलाउँछन् त्यसबारे कहिल्यै चासो लिन्नन् दिपिका न त दिपिकाको मोवाइलको बारेमा नै उत्सुकता राख्छन् दिवाकर । ‘सम्वन्ध विश्वासमा चलाउने हो, हामी दुवै एकअर्कालाई आगाध विश्वास गर्छौ, त्यसैले एकअर्काको चियोचर्चो हामीलाई आवश्यक हुन्न ।’ उनीहरु बताउँछन् ।
खानामा सौखिन छन्् दिवाकर, मीठो खानु पर्छ उनलाई, रेष्टुरेन्ट पनि ‘सेलेक्टेड’ छन् उनका, ती सेलेक्टेड रेष्टुरेन्ट बाहेक अन्यत्र जादैनन् उनी । खाना पकाउनमा पनि उनी सिपालु छन् । ‘वहा खाना मीठो पकाउनु हुन्छ, भान्छाको काममा मलाई धेरै हेल्प गर्नुहुन्छ’ दिपिका भन्छिन् । एकअर्काको खानपिन बारे पनि जानकार छन् दुबै, ‘वहालाई खसीको मासु मन पर्छ’ दिपिका भन्छिन्, ‘उनी चाहि पिज्जामा रमाउँछिन्,’ दिपिकाको जवाफ आउन नपाउदै भन्छन् दिवाकर ।
चलचित्रको दुनियाबाटै जोडिएका दिपिका र दिवाकरले आफ्नै प्रोडक्सन हाउस खोलेका छन् ‘ॐ नमः शिवाय ।’ आगामी दिनमा उनीहरु यसैमा व्यस्त हुने बताउँछन् । दशैं लगत्तै आफ्नै प्रोडक्सनबाट मायाप्रीतिमा आधारित चलचित्र ‘तिमी संगै हुने मन छ’ को सुटिङ हुने तय भइसकेको छ । निर्देशकबाट निर्माताको रुपमा प्रस्तुत भएका छन् दिवाकर, नायिकाको भूमिकामा दिपिका नै हुनेछिन् । आगामी दिनमा आफ्नै प्रोडक्सनबाट चलचित्र क्षेत्रको विकासमा जुट्ने बताउँछन् दिपिका र दिवाकर । ‘वर्षको कमसेकम एउटा चलचित्र हेर्न पाउनु हुनेछ’ दिवाकर भन्छन् ।
जन्मदिन लगायतका उत्सवमा उपहार दिने, रमाइलो गर्ने कुरा खासै प्राथमिकतामा पर्दैन दिवाकरको, काममा व्यस्त रहदा यस्ता अवसरहरु विर्सन्छन् पनि उनी । तर प्रेम सम्वन्धमा रहँदाका दुई वर्ष दिपिकाको जन्मदिन भव्य रुपमा मनाए दुवैले । गत वर्ष थाइल्याण्डको बैंकक नै पुगे उनीहरु जन्मदिन मनाउन । संचार माध्यमहरुले समेत दिवाकर र दिपिकाको थाइल्याण्डको जन्मदिनलाई ‘नोटिस’ गरे, समाचार बनाए । विहे पछिको पहिले जन्मदिन आउदैछ दिपिकाको, कार्तिक २३ गते । दिपिकालाई शंका छ कतै जन्मदिन विर्सने पो हुन् कि दिवाकरले भन्ने । तर दिवाकर दिपिकालाई आश्वस्त पार्दै भन्छन् ‘त्यति बेला चलचित्र ‘तिमी संगै हुने मन छ’ को सुटिङ भइरहेको हुनेछ पोखरामा । यो पटक तिम्रो जन्मदिन पोखरामा मनाउला ।’ विवाह पछि सन्तानको रहर हरेक दम्पत्तिलाई हुन्छ । दिवाकर र दिपिकालाई पनि सन्तानको रहर छ, तर केहि वर्ष चलचित्र क्षेत्रमा सक्रिय रहेर मात्र यस बारेमा सोच्ने उनीहरु बताउँछन् ।
दिवाकरको नजरमा दिपिका एउटी सरल नारी हुन्, उनको ठुलो ‘डिमान्ड’ केहि पनि छैन, सादा जीवनमा उनी रमाउँछिन्, सानो खुशीमा उनी सन्तुष्टि मान्छिन्, घामछाँयाको जिन्दगीमा दिवाकरको माया नै सर्वोपरी हो उनको लागि, दुवै जना एकअर्काको मायाको सरोवरमा चुर्लम्म डुवेका छन् आजका दिनमा । लोभलाग्दो र उदाहरणीय वैवाहिक सम्वन्धमा बाँधिएका छन् उनीहरु । उनीहरुलाई देख्नेहरु र बुझ्नेहरुले भन्ने गर्छन् ‘कति मिलेको जोडी ।’
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest