काठमाण्डौ ः नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यम विकास समितिका सभापति कमला श्रेष्ठको नेतृत्वमा बैंकक पुगेका २० जना महिला उद्यमी र अन्य पदाधिकारीको टोलीले थाइ च्याम्बरका पदाधिकारीसँग अन्तक्रिया गरी थाइल्याण्डको औद्योगिक व्यवसायी नीतिको बारेमा जानकारी लिएका छन । कार्यक्रममा समितिका सभापति कमला श्रेष्ठले राजनीतिक परिवर्तनसँगै अहिले नेपाल विदेशी लगानीकर्ताका लागि सुरक्षित हुँदै गएको बताइन्। श्रेष्ठले दुई देशबीच सम्बन्ध जति सुमधुर छ, त्यति नै आर्थिक सम्बन्ध बलियो हुन नसकेको भन्दै औद्योगीक व्यापार नीति मार्फत दुई देश बीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिइन्। उनले भनिन ‘नेपालको उत्पादनलाई थाइ बजारमा ब्यवस्थित गर्न ब्यापारिक सन्धिलाई संशेधन गरी अघि बढ्नु आवश्यक छ।’
थाइ च्याम्बर अफ कमर्शका उपाध्यक्ष डा जिन्जाई हान्चान्लासले थाइ अर्थतन्त्र मजबुत हुँदै जानुमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । पब्लिक प्राइभेट सहकार्य मार्फत मात्रै औद्योगिक ब्यवसायिक क्षेत्र फष्टाउन सक्ने उनको भनाइ थियो। नेपाल र थाइ जनताबीच आत्मीय सम्बन्ध रहेको भन्दै उनले ब्यवसायिक सहकार्यका लागि आफूहरु सधैँ सकारात्मक रहेको बताए । थाइ च्याम्बरकी अर्की उपाध्यक्ष स्रिना चोकावान्तानाले थाइ महिलाहरु साना तथा मझौला ब्यवसाय मार्फत आत्मनिर्भर बनेको बताइन्।थाइ सरकारले साना तथा मझौला उद्यमीहरुलाई तीन प्रतिशत ब्याजदरमा बिना धरौटी ऋण प्रदान गरेर निजी क्षेत्रलाई प्राथमिकता दिएको उनले बताइन्। थाइ च्याम्बर अफ कमर्शका डेपुटी सेक्रेटरी सिपी फुडका प्रबन्ध निर्देशक डा. सोम बाटले नेपालमा आफ्नो ब्यवसाय प्रवर्द्धन गर्न इच्छुक रहेको बताए। कार्यक्रममा थाइ च्याम्बरको तर्फबाट कुलकानालय क्रिट्नोइ, विजित्रा र यालोलकले पनि आफ्नो ब्यवसायिक अनुभव सुनाएका थिए। त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट जय शिवाकोटी, राजकुमार न्यौपाने, मिना श्रेष्ठ, निशा शाक्य ,सिता बराल,निशा शाक्य ,सिता बराल,शान्ति उदास लगायतले ब्यवसायिक अनुभव र सम्भाब्यताबारे आफ्नो भनाइ राखेका थिए।कार्यक्रममा दुई देश बीचको आर्थिक वृद्धि हासिल गर्न एक अर्काे देशसँग के कस्तो ब्यवसायमा साझेदार गर्न सकिन्छ भन्ने विषयमा छलफलसमेत गरिएको थियो।