पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो बालिका सम्मेलन सम्मेलन

Sunday, December 15th, 2019

वीरगञ्ज : पाँचबुँदे वीरगञ्ज घोषणापत्र जारी गर्दै वीरगञ्जमा आयोजित बालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बाल विवाह र दाइजो प्रथाविरुद्ध शून्य सहनशीलता अपनाउने लगायतका निर्णय गरेको छ ।घोषणापत्रमा प्रदेश २ को अर्थ राज्यमन्त्री उषा यादव, प्रदेश सभा सदस्य, गाउँपालिका उपप्रमुख, वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, बालिकाका प्रतिनिधिलगायतले हस्ताक्षर गरेका छन् ।घोषणापत्रमा बाल विवाह र दाइजो कुप्रथाविरुद्ध शून्य शहनशीलता अपनाउने, कहीँ कतै भएको पाइएमा त्यसविरुद्ध आवाज उठाउने, ती कुप्रथा विरुद्धका कानुन पालना गर्ने÷गराउने, पालिका स्तरीय कार्यविधि, योजना निर्माण तथा अभियान सञ्चालन गर्ने उल्लेख छ । साथै पालिका स्तरमा किशोरी समूह, बाल क्लब, सञ्जालहरुको मजबुतीकरण तथा क्षमता विकासमा जोड दिने, यी कु–प्रथालाई दुरुत्साहन गर्ने तत्वहरुको निराकरण गर्न आपसी समन्वय गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

‘बिहे गर्न हतार नगरौं, छोरीको भविष्य बनाऔं’ भन्ने मूल नाराका साथ वीरगञ्जको त्रिजुद्ध माविमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका विभिन्न पालिकाबाट बालिकाहरु आएका थिए । उनीहरुले जनप्रतिनिधिहरुले बालबालिकाका बारेमा ध्यान नदिएको, समाजमा विद्यमान कुप्रथा अन्त्यका लागि कदम प्रभावकारी नचालेको, बालबालिकाले चालेका कदममा समेत होष्टेमा हैसे नगरेको गुनासो गरेका थिए ।

जनप्रतिनिधिहरुले भाषणमा राम्रो कुरा गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको जिल्ला बाल क्लब सञ्जाल पर्साकी अध्यक्ष सिमरन थापाले बताइन् । ‘जनप्रतिनिधिहरु भाषणमा चिल्ला कुरा गर्छन्, तर व्यवहारमा त्यस्तो देखिन्न,’ उनले भनिन्, ‘बालबालिकाका लागि केही गर्नुप¥यो भनेर जाँदा बजेट छैन भनेर पन्छिन्छन् ।’
सम्मेलनमा पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतोले बाल विवाह र दाइजो मात्रै नभएर महिलामाथि हुने हिंसाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउनुपर्ने बताइन् । ‘बाल विवाह र दाइजो जस्ता महिलामाथि विभेद गर्ने कुप्रथा समाजमा धेरै छन्, हामीले मिलेर त्यस्ता घटनाको उजागर गर्नुपर्छ,’ उनले भनिन्, ‘महिलाले गुणस्तरीय शिक्षा लिएर आर्थिक अवस्था मजबुत नबनाएसम्म यस्ता कुप्रथाहरु समाजमा रहन्छन् । हामी त्यसतर्फ अघि बढ्नुपर्छ ।’

कार्यक्रममा बाल विवाह, दाइजो, अपराध र त्यसविरुद्ध विद्यमान कानुनी प्रावधानका बारेमा जानकारी गराइएको दिव्य युवा क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाईले बताइन् ।एक्सन एड स्थानीय अधिकार कार्यक्रम तथा समुन्नत परियोजना अन्तर्गत बाल विवाह तथा दाइजो अपराधविरुद्ध दिव्य युवा क्लबले बालिका सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पकाहामैनपुर, विन्दवासिनी र पटेर्वासुगौली गाउँपालिका लगायतबाट बालिका र जनप्रतिनिधिहरु सहभागी भएका थिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest