“पारिश्रमिकबिनाको सेवामूलक कार्यमा महिला” 

Thursday, September 6th, 2018

 


“पारिश्रमिकबिनाको सेवामूलक कार्यमा महिला”  नामक पुस्तक हालै मात्र नेपालको पहिलो तथा एकमात्र नारीवादी सस्था अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा श्रोत सस्थाले प्रकाशनमा ल्याएको हो । यो पुस्तक बरिष्ठ अर्थशास्त्री र अनुसन्धानकर्ता डा. मीना आचार्यले सम्पादन गर्नुभएको हो । नेपाली तथा अंग्रेजी दुवै भाषामा प्रकाशित भएको यस पुस्तकबाट राज्य, प्रदेश र स्थानीय निकायका विभिन्न नीति–निर्धारकहरूकालागि र समग्र महिला आन्दोलनकालागि भावी मार्ग निर्देशनमा सहयोग हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।

मानव समाज निरन्तर चल्नका लागि पारिश्रमिकबिनाको घरायसी कामको गहन भूमिका रहने गर्दछ । घरायसी गतिविधि भन्नाले घरको सम्पूर्ण कार्य, जस्तो– खाना बनाउने, खुवाउने, भाँडा तथा घर सफा गर्ने, लुगा धुने, बच्चा पढाउने, विद्यालय पु¥याउने, पानीको व्यवस्था, बिरामी तथा बृद्ध–बृद्धाको सेवा–शुश्रूषा गर्नुका साथै बच्चा जन्माउने, दूध खुवाउने र उनीहरूको लालन पालन गर्ने आदि पर्दछन् । यस्ता कार्यहरू परिवार र समाजको उन्नतिका लागि नभई नहुने अत्यन्त महत्वपूर्ण कार्य हुन् । यस्ता कार्यले परिवार, समाज तथा राज्यको विकासमा महत्वपूर्ण भूमिका खेल्दछन् । तर ती कामहरूलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लेखा प्रणालीले समेट्ने गरेका छैनन् । यी अदृश्य छन् र यस्ता कामका लागि लैङ्गिक कामको बाँडफाँडको आधारमा सम्पूर्णतया जिम्मेवारी महिलामाथी थोपारिएकोछ भने महिलाको भूमिका पनि अर्थशास्त्र, समाज र राज्यको तहमा अदृश्य रहेको छ कुरालाई पुस्तकले उजागर गरेको छ ।
पुस्तकमा परिचयात्मक अध्यायसमेत आठ अध्यायहरु रहेका छन् । प्रस्तुत सबैजसो लेखले पारिश्रमिकबिनाको सेवामूलक कामसम्बन्धी विभिन्न पक्षलाई विस्तृत रूपमा केलाउँदै महिला सशक्तीकरण र लैङ्गिक समानताको बाटोमा रहेको यस पारिश्रमिकबिनाको कामको बलियो तगारोलाई हटाउन परिवार, समुदाय र राज्यले के कस्ता कार्यक्रम ल्याउनुपर्छ भन्ने विचारलाई प्रस्तुत गरेको छ । महिलाको सबैभन्दा बढी संलग्नता रहने यस्ता कार्यको सही पहिचान र प्रभावकारी विश्लेषण गरी राष्ट्रिय तथ्याङ्क गणना पद्दतिमा समावेश गराइनुपर्छ र कुल गार्हस्थ उत्पादनमा उनीहरूको योगदानको कदर हुनुपर्दछ भन्ने राय सबै लेखको रहेको छ । नयाँ नेपाल निर्माणमा महिलाको महत्वपूर्ण तथा सक्रिय सहभागिताका लागि राज्यले यस विषयलाई सम्बोधन गर्न विशेष नीति तथा उपाय ल्याउनु पर्ने र त्यसको कार्यान्वयन पक्षलाई जोड दिनुपर्ने आवश्यकतालाई प्रस्ट पारिएको छ ।

समाजमा लैङ्गिक विभेदकारी कार्य विभाजनका कारण महिला र पुरुषमा असमान शक्ति बाँडफाँड भएकोछ जसले गर्दा महिलाको व्यक्तित्व विकास र सशक्तीकरण प्रक्रिया र सम्पूर्ण विकास प्रक्रियामानैै यसको असर पर्न गएको कुरा लेखमा उठाइएकोछ । महिलाले आफ्ना सम्पूर्ण अधिकारनै उपभोग गर्न सकेका नसकेको स्थितिमा परिवर्तन ल्याउन व्यक्ति, परिवार, समाज, नीजि संघ–सस्था, नागरिक समाज तथा राज्यको भरपूर प्रयासको आवश्यकतालाई औंल्याइएकोछ । विशेष गरेर समय विनियोजन डायरी, ¥यापिड केयर एसेसमेन्ट, फोकस ग्रुप डिस्कसन, अन्तर्वार्ता जस्ता विभिन्न तरिकाले आफूलेकाम गरिरहेको समुदायमा यस विषयमा चेतना जगाउने काम निरन्तर गर्नुपर्दछ भन्ने कुरालाई विशेष उठाईएको छ ।

नेपालमा महिला अधिकार आन्दोलनले महिलाका अन्य विभिन्न विषयसँगै परिश्रमिकबिनाको सेवामूलक कार्यलाई गहकिलो रूपमा उठाउन नसकेको कुरालाई अत्यन्त गहकिलो ढंगले उठाइएको छ । यो विषय महिला आन्दोलनको प्रमुख मुद्दा नबनेसम्म, महिलाको बहुमुखी प्रगतिमा आन्दोलनले साँेचेको जस्तो सफलता हासिल हुन सक्दैन । यो विषयमा नारीवादीका बुझाइ, यस विषयमा बृहत्छलफलको आवश्यकता, पितृसत्तात्मक सोचले सेवामूलककामलाई कसरी परिभाषित गर्छ र नारीवादीहरूले यस मुद्दालाई उठाउन किन जरुरी छ आदि कुरालाई विस्तृत विश्लेषण गरिएको छ । अबको नारीवादी पैरवी सबै राजनीतिक दलका प्रमुख ओहदामा महिलाको सशक्त प्रतिनिधित्व गराउनेतर्फ र ओहदामा आसीन महिलाहरूले राज्यले बनाउने सबै नीति तथा कार्यक्रममा महिलाको घरायसी तथा सेवामूलक कार्यको पहिचान, पुनर्विभाजन र न्यूनीकरणतर्फ ध्यान दिनुपर्दछ भन्ने निष्कर्ष पनि लेखले प्रस्तुत गरेको छ ।
यस विषयमा नेपालमा सामान्य मात्र बुझाइ भएकोे र यस्ता कामको प्रकृति र त्यसमा प्रयोग हुनेगरेको समयबारे सही अर्थमा आँकलन गर्न नसक्दा आर्थिक सशक्तीकरणका कतिपय नीति तथा कार्यक्रमहरूले वास्तविक परिणाम दिन नसकेको अवस्था रहेकोछ । यस्ता कामको गणना वा मूल्याङ्कनको आवश्यकता किन र कसरी गर्ने भन्ने उल्लेख गर्दै मूल्याङ्न नहुँदा पर्ने प्रभावका साथै गणनामा आउने कठिनाइहरूबारे लेखमा छलफल गरेको छ । साथै, यस्ता कामहरूको मूल्याङ्कनको सम्बन्धमा समय वा साधन उपयोग विधि र उत्पादन विधिहरूबारे छलफल गर्दै तिनका गुण तथा समस्याहरूको छोटो विश्लेषण पनि गरेको छ । यसका लागि केन्द्रीय तथ्याङ्क विभाग र अन्यसरोकारवाला निकायहरूको के कस्तो उत्तरदायित्व हुनसक्छ र यस विषयमा व्यापक सचेतना कार्यक्रमको आवश्यकताबारे पनि औँल्याइएको छ ।

त्यसै गरि पारिश्रमिकबिनाको सेवामूलक कार्यमा महिलाको अत्यधिक संलग्नताको प्रभावले महिलाको जीवन, बृहत् समाज एवम् अर्थतन्त्रमा पनि महत्वपूर्ण असर पारेको कुरालाई प्रष्ट पारेको छ । सेवाजन्य अर्थतन्त्रमा महिलाको संलग्नताको परिमाणलाई ध्यानमा राख्दै केही आधारभूत प्रश्नहरू उठाइएका छन्, जस्तै– वास्तविक परिवारपालक (ब्रेड–विनर) को हो र महिलाहरूको सेवा कसले गर्छ जबकि उनीहरू सम्पूर्ण परिवार, समाज र राज्यको सेवा गरिरहेका हुन्छन् । नेपालमा यो सवालसम्बन्धी त्यस्तो गम्भीर र बृहत्स्तरको अध्ययनको गहन आवश्यकतालाई पनि औँलयाएको छ जसले महिलाका व्यवहारिक अप्ठ्याराहरूको सम्बोधनका साथै यस मुद्दालाई सम्बोधन गर्न आवश्यक नीति निर्माणमा सहयोग गर्न सक्ने व्यवहारिक निर्देशिकाको समेत काम गर्न सकोस् । घरायसी कामको अत्याधिक बोझका कारण महिलाहरू अन्य क्षमता विकास गर्ने, राजनीतिक, आर्थिक, सामाजिक आदि काम र कार्यक्रमहरूमा सहभागी हुन सक्दैनन् र यसको प्रत्यक्ष प्रभाव दिगो विकासको लक्ष्यमा पर्दछ । महिलाको आर्थिक सशक्तीकरणसँग पारिश्रमिकबिनाको सेवामूलक कामको बोझको घनिष्ठ सम्बन्ध, दिगो विकास लक्ष्यले यस मुद्दालाई सम्बोधन गर्न अगाडि सारेका उपायहरू, दिगो विकास लक्ष्य, स्थानीयकरण प्रक्रियामा सन् २०१७ सम्ममा भएको प्रगतिको समेत संक्षिप्त समीक्षा गर्दैै नेपालमा महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणका लागि यो मुद्दाको सही तरिकाले तत्काल सम्बोधन हुनुुपर्ने कुरा औँल्याएकोेछ । नेपालको सन्दर्भमा महिलाहरूको सर्वतोमुखी सशक्तीकरणको उद्देश्य प्राप्तिका लागि ‘तीन आर मार्ग’–पहिचान, न्यूनीकरण र पुनर्वितरण–के, किन र कसरी गर्ने भन्ने कुराको  व्याख्या यस लेखमा गरिएको छ । तर तीनआरले नपुग्ने र थप‘दुई आर मार्ग’–पुर्नपरिभाषित र पुनर्शिक्षित– पनि थप्नुपर्ने विचार व्यक्त गरिएको छ ।

पारिश्रमिकबिनाको सेवामूलक कामको असर र बोझ अन्य महिलाको तुलनामा एकल महिलामा बढी रहने तथ्यलाई उजागर गरिएकोछ । पुरुषको सहयोगबिना एक्लै पारिवारिक जिम्मेवारी वहन गर्नुपरेका महिलाहरूको आर्थिक अवस्था धेरै कमजोर हुनुका साथै उनीहरू चरम गरिबीले पनि पीडित हुन्छन् । २१औं शताब्दीको अन्त्यतिर आइपुग्दा पनि १९औँ शताब्दीमा जस्तो विभिन्न कुरीति र कुसंस्कारको असरबाट उनीहरू प्रताडित नै रहेको कुरालाई व्याख्या गरिएकोछ । पुरुषको बढ्दो वैदेशिक रोजगारीले महिलामाथि पर्न गएका थप पारिश्रमिकबिनाको सेवामूलक कार्यका बोझका साथै समग्र जीवनमा पारेको सकारात्मक–नकारात्मक दुवै पक्षलाई केलाइएको छ । पुरुष र महिला दुवैमा बिदेसिने व्रmम भए पनि यो प्रवृत्ति पुरुषमा अत्यधिक छ । विप्रेषण रकम (रेमिट्यान्स) ले महिलाको जीवन शैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै सार्वजनिक गतिविधिमा उनीहरूको केही संलग्नता बढाएको छ । यसले अघि बढ्न खोज्ने महिलाहरूलाई अवसर पनि प्रदान गरेको छ । तर बाह्य गतिविधिमा संलग्न हुन थालेसँगै महिलाहरूमा परिवार र समाजप्रतिको उत्तरदायित्व अझै थपिएको छ । परिवारका बिदेसिएका पुरुषको समेत काम सम्हाल्नुपर्ने र थप अन्य सामाजिक गतिविधिहरू पनि निर्वाह गर्नुपर्दा उनीहरूमा कामको अध्यधिक बोझ पर्न जान्छ । उनीहरू विभिन्न प्रकारका हिंसाको सिकार हुँदैछन । कतिपय पुरुष श्रमिकहरूले भित्राएका यौनजन्य रोगहरूका कारण कैयौँ परिवार प्रभावित भएका छन् । पारिश्रमिकबिनाको सेवामूलक कामलाई व्यवस्थित गर्न घरपरिवार, बजार, नागरिक समाज आदि सबैको महत्वपूर्ण भूमिका रहन्छ भने राज्यको विशेष दायित्व हुन्छ । देश र समाजको परिवेशअनुसार यी संस्थाहरूको भूमिका पनि फरक हुने र त्यसैले नेपाली समाजको परिवेशमा राज्यका दायित्व के के हुन्, राज्यले लगाउने प्रत्येक कर तथा अन्य नीतिको पारिश्रमिकबिनाको सेवामूलक काममा कस्तो प्रभाव पर्दछ र यस्ता कामको घरपरिवार, समुदाय र राज्यका बीच बाँडफाँडमा कस्तो असर पर्दछ, महिलामा यस्ता कामको बोझ घटाउन राज्यले कस्ता नीति अपनाउनुपर्ने आदि विषयमा गहन अध्ययन हुनुपर्ने विचार व्यक्त गर्दै पुस्तकलाई बिट मारिएकोछ । यस विषयमा काम गर्ने, अध्ययन, अध्यापन गर्ने र रुचि राख्ने सम्पूर्ण समूदायका लागि यो पुस्तक धेरै उपयोगी हुनसक्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest