पितृसंस्था राजसंस्था भन्दा बलियो रहेछ,शिवमाया 

Tuesday, February 25th, 2020

डा. शिवमाया तुम्बाहाङ्फे,

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
झण्डै ४० वर्ष राजनीतिक संघर्ष गरेकी महिला नेतृ हुन् डा. शिवमाया तुम्बाहाङ्फे । २०३५/३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिक संघर्ष गरेकी उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसमेत भएकी हुन् । उनी राजनीतिक परिवारमा जन्मे–हुर्केकी नेतृ हुन् । उनको जन्म वि.स. २०२० साल माघ ४ गते तेह्रथुमको तम्फुला, माझगाउँ (हालको म्याङलुङ नगरपालिका–१०) मा भएको हो । उनका पिता ललितबहादुर तुम्बाहाङ्फे हुन् । तेह्रथुममा जन्मिए पनि शिवमायाको औपचारिक शिक्षा झापाबाट भयो । हुनेखाने परिवारमा जन्मेकी शिवमायाले काठमाडौंको नेपाल ल क्याम्पसबाट बीएल पास गरिन् । महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीएड गरिन् र, त्रिविबाट राजनीतिशास्त्रमा एम.ए गरिन् । उनले ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा २०६४ मा विद्यावारिधिको उपाधि पाइन् ।
शिवमायाको विवाह मोरङका घनेन्द्र जिमीसँग भयो । हाल शिवमायाका दुई छोरा प्रशान्त र प्रतीक छन् । समाजमा भएको छोरी र छोरावीचको विभेदको न्यूनीकरण गर्नुपर्छ भनेर ०३५÷०३६ सालदेखि राजनीतिमा लागेको शिवमाया बताउँछिन् । उनले ०३९ र ०४२ सालमा जेलजीवन व्यतीत गरेकी थिइन् । उनले अनेरास्ववियुको अध्ययन दल, सहप्राक, प्राक हुँदै केन्द्रीय कमिटीको महिला विभाग प्रमुख र उपाध्यक्ष भई काम गरिन् । त्यसैगरी अनेमसंघ केन्द्रीय कमिटीको सदस्य र मोरङ जिल्लाको इञ्चार्ज भई काम गरिन् । डा. शिवमाया आफूलाई ‘महिला आन्दोलनकी विज्ञ’ भन्न रुचाउँछिन् । ‘नेपालको राजनीतिक महिला आन्दोलन र महिला आन्दोलनको विषयमा उनको विज्ञता रहेको छ । तत्कालीन नेकपा मालेनिकट अनेरास्ववियुबाट राजनीति थालेकी उनी चर्चित क्रान्तिकारी नेतृको पहिचान पनि बनाउन सफल भएकी थिइन् । रामनाथ ढकाल अध्यक्ष हुँदा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएकी उनी योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि राजनीतिबाट केही समय अलग भएर गैरसरकारी संस्थामार्फत सामाजिक काममा लागिन् ।

तत्कालीन नेकपाको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै राजनीतिमा सक्रिय रहेकी डा. शिवमाया अध्यक्ष केपी ओली गुटमै रहेर आफ्नो राजनीतिक कर्ममा लागिरहिन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास र प्रियपात्रको रुपमा चिनिएकी उनलाई सभामुख बनाउन राष्ट्रपतिबाटै नेकपा अध्यक्षद्वय ओली र प्रचण्डलाई सुझाव दिइदा र पनि सभामुखको अवसरबाट बन्चित गराउँदा भने उनी दुःखी छिन् । सत्तारुढ नेकपाभित्रकी विद्वान तथा लामो राजनीतिक संघर्ष गरेकी उनलाई सभामुख बनाउन हिच्किचाउनु महिला सहभागिता र अवसर प्रदान गर्ने एजेण्डा र नारा नेकपाको देखाउने दाँत मात्रै भएको सावित भएको छ । नेपालको महिला आन्दोलनमा योगदान पुर्याएकी तुम्बाहाङफेलाई स्वतन्त्र व्यक्तिहरूको ठूलो समूहले सभामुख बनाउन सामाजिक सञ्जालमार्फत माग राख्दा राख्दै सभामुखबाट बन्चित गराउनुको साथै उपसभामुखबाटै राजीनामा दिन दबाब दिनु झनै उनीमाथि अन्याय हो । उनकै पार्टी नेकपाले उनलाई छाडेर अग्नी सापकोटालाई सभामुख बनाउनुले शिवमायामाथि अन्याय मात्रै होइन ओली–प्रचण्डले उठाएको महिला सहभागिता र मुक्ति आन्दोलन र नारामाथिको उपहास पनि हो ।
एमालेभित्र शिवमाया आँटिली र कडा नेतृ मानिन्छिन्, सिनियर नेताहरु पनि उनीसँग कुरा गर्नुअघि सम्हालिन बाध्य हुन्छन् । हरेक विषयमा कडा कुरा गर्ने र हेप्न खोज्नेहरुप्रति जाइलाग्ने उनको स्वाभाव रहेको पार्टीले राजिनामा दिन दिएको निर्देशनलाई ठाडै अस्विकार गरि आफूलाई हटाएर देखाउन चेतावनी दिएर उनले प्रमाणित गरेकी छिन् । उनले नेताले भनेको मानिनन्, संवैधानिक व्यवस्था अनुसार लडाइँमा उत्रिएर कानूनको सम्मान गरिन् । शिवमायाले राजीनामा दिएको केहि समयपछी उनलाई सरकाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेबारी दिइएको छ ।

नेपालमा पितृसत्ताले जरा गाडेकाले त्यसविरुद्ध अबको लडाइँ हुने उनले बताइन् । ‘हाम्रो देशमा पित्तृसत्ता सोचले जरा गाडेको छ, मुलुकमा रहेको पित्तृसंस्था सत्ता फाल्न अझै मिहिनेत गर्नुपर्छ, उनले भनिन्, ‘पितृसत्ता राजसंस्था भन्दा बलियो रहेछ, अहिले सकिनँ ।
मलाई तपाईंको ब्याकअपमा को छ ? भनेर सोधियो, तर मसँग संवैधानिक व्यवस्था व्याकअप थियो, कोही व्यक्ति थिएन ।’ उनले नेपाली महिलालाई अगाडि बढ्न अझै समस्या रहेको स्मरण गर्दै भनिन् ‘हामीलाई अघि बढ्न छेकबार लगाउनेलाई हटाउँदै जानुपर्छ, अब मलाई तपाईंहरुले फरक भूमिकामा पाउनुहुनेछ, म त्यही लडाइँमा हुनेछु ।’
प्रस्तुति :हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest