पितृसत्ताले पुरुषलाई नै नोक्सान गरिरहेको छ

Thursday, September 19th, 2019

कमला भाषिन चर्चित दक्षिण एसियाली महिला अधिकारवादी नेतृ हुन् । उनका नारीवादी, मानवअधिकारवादी, समाजवादी, लेखक, कवि लगायत उनका थुप्रै परिचय रहेका छन् । उनी महिलावादी आन्दोलनकी नायिका हुन् । प्रस्तुत छ, नवनारीका लागि जानुका ढकाल र गिरी बहादुर सुनारले लिएको अन्तरवार्ताः
तपाईलाई के कुराले नेपाल ल्यायो ?
म हरेक बर्ष नेपाल आउँछु । किनकि हामी संगत मार्फत एक महिनाको नारी वादी कोर्स गर्छौ । यसको कन्सेप्ट हो जेन्डर, पितृसत्ता, महिला आन्दोलन, नारी वाद, पुरुषत्व, नारीत्व, मानवअधिकार, हार्मोनल, पिस, यौन आदि । यसमा साउथ एशियाका चालिस जना महिला सहभागि हुन्छन् । यस बर्षबाट हामीले ट्रान्सजेण्डरलाई पनि समेटेका छौ । अहिले यसको चौविसौ कोर्स भयो । पहिलो कोर्ष १९८३ मा भएको थियो । ३६ बर्षको दौरानमा २४ औं कोर्ष यसपालि हुँदैछ । पहिलो हामी अलग अलग देशमा गर्दथ्यो तर जब टेवा बन्यो मैले टेवा अनुभव गरे र यो कोर्ष यहि गर्न शुरुवात गरे । यस्तो कार्यक्रम डोनरको पैसा लिएर होटलमा गर्न चाहदिन । डोनरको पैसा लिएर होटलमा मिटिङ्ग गर्छौ, गरीविको नाममा गर्छौ, मानव अधिकारको नाममा गर्छौ र सबै पैसा मल्टिनेशनल होटललाई जान्छ । यो मलाइ लाग्छ एकदमै अनैतिक हो । म नारीवादी मात्र होइन समाजवादी पनि हुँ । म विकासमा पनि काम गर्छु त्यसैले यी सब कुरालाई लिएर हिड्नु पर्छ । अहिले जुन चौविसौ कोर्ष चलिरहेको छ यसको लागि आएकी हुँ र हरेक बर्ष आउछु ।
नारीवादी कोर्सका लागि सहभागी कसरी छान्नु हुन्छ ? नेपालबाट मात्रै हुन् की अन्य देशहरुबाट छन् पनि छन् ?
म यो काम साउथ एशियन लेवलबाट १९७५ बाट गरिरहेकी छु । १९७५ मा युएनओले मलाई बोलाएको थियो यो कामको लागि । मैले सत्ताइस बर्ष यो काम युएनओमा गरे । त्यतिबेला देखि अहिले सम्म म साउथ एशियामा काम गर्दछु । अहिले पैतालिस बर्ष भयो । पैतालिस बर्षसम्म हाम्रो एउटा नेटवर्क बनेको छ । नेटवर्क मार्फत यो कोर्ष हुदैछ यो क्राइटएरिया छ अप्लाई गर्नुहोस् भन्छौ । यो कोर्ष साउथ एशियाको आठ देशको लागि हो । विस्तारै सार्क भन्दा बाहिरका मानिसलाई पनि थाहाँ भयो र कहिलेकाहिँ हाम्रो कोर्षमा म्यानमार, इण्डोनेशिया, इरान, टर्की, सुडान, प्यालेसटाइनबाट पनि एकदुई जना आउछन् । यो पटक हामी आठ देशबाट छौ । यी देशका पनि अलग अलग ठाउँबाट सहगिता लिने कोशिश गरेका छौ । अलग अलग धर्म, अलग जाति अलग अलग पेशाका लिने कोशिश गरेका छौ ताकि हाम्रो नारीवादी आन्दोलन हरेक ठाउँमा पुग्न सकोस् र हरेक ठाउँको आवाज हामीले सिक्न सकौं । म पनि यहाँबाट धेरै कुरा सिकिरहेकी छु । महिनाभरी सँगै रहदा धेरै कुरा सिक्ने अवसर मिल्छ । धर्म जात सबै एक हुन्छ यहाँ ।
जसलाई यो नारीवादी कोर्सको बारेमा थहाँ छैन उहाँहरु कसरी सहभागि हुन सक्छन् ?
यो कोर्ष संगत नेपालले आयोजना गरेको हो । संगत नेपालको वेभसाईट छ, संगत नेपालको एक ग्रुप छ, अहिले हाम्रो उर्लदो सयकरोड अभियान चलिरहेको छ , यसको छ्ट्टै ग्रुप छ यो पुरै बर्ष चल्छ । यदि तपाईले त्यसमा कुनै आर्टिकल हाल्नुभयो भने पूरै ग्रुपले पढ्छ । यदि हाम्रो कुनै एक्टिभिटिज हुदैछ भने हामी त्यसमा राख्छौ । त्यसमा संस्थागत होइन व्यक्तिगत रुपमा ज्वाइन हुन सक्नुहुन्छ । संगतको रिजनल वेभसाइट पनि छ । हामी आफ्ना सबै पुराना सहभागिलाई लेख्छौ यो कोर्ष हुदैछ, साथीहरुलाई शेयर गनूृहोस् भनेर । हामी यस्तो व्यक्तिलाइ लिन्छौ जसले चार पाँच बर्षसम्म कुनै पनि प्रकारको सामाजिक कार्य, न्यायको काम, मानवअधिकारको काम, गर्ने निश्चित गरेका हुन्छन् । हामी त्यस्तो व्यक्ति लिदैनौ जो आज यो कोर्ष गर्छ र भोलि गएर कोकोकोला बेच्न थाल्छ ।

तपाई सुपरिचित महिलावादी हुनुहुन्छ । तपाई कस्तो प्रकारको फेमिनिस्ट हुनुहुन्छ जस्तै लिवरल,मार्कसिस्ट, रेडिकल ?
यो अलग अलग डब्बामा राख्नेकाम स्कलर्सले गर्छन् । म यतिधेरै डब्बामा बिश्वास गर्दिन । म नारीवादी हुँ जसको मतलव म पितृसत्तासँग खशी छैन । पितृसत्ताको विरोधमा छु जुन एउटा सोसल सिस्टम हो । जसले पुरुषलाई उत्तम सम्झन्छ नारीलाई न्यूनतम सम्झन्छ । नारीवाद पुरुषको बिरुद्धमा होइन पितृसत्ताको बिरुद्धमा हो । त्यसैले धेरै पुरुषहरु पनि हाम्रो साथमा छन् । नारीवादले यस्तो समाज चाहन्छ जहाँ केटा केटी, ट्रान्सजेन्डर, इन्टर सेक्स पिपुल, सबै बराबर छन् । आज नारीवादले नेपालको भारतको संविधान चाहन्छ । आज म जे काम गरिरहेकी छु आफ्नो संविधान लागु गर्नको लागि गरिरहेकी छु । किनकि संविधानले भन्छ हामी बराबरी छौ, परम्परा भन्छ बराबर छैनौ, परिवार भन्छ बराबर छैनौ, तपाईको म्यागेजिनले पनि भन्छ हामी बराबर छैनौ । जसरी फोटो देखाइन्छ, तपाई म्यागेजिनको कभरमा महिलाको शरीर देखाउनुहुन्छ, मोटी महिलाको के ? तपाई मोटी महिलालाई दुःखि बनाइरहनु भएको छ । तपाई काली महिलालाई दुःखि बनाइरहनु भएको छ । तपाई यस्तो रुप देखाइरहनु भएको छ जुन म कहिल्यै पनि बन्न सक्दिन । नब्बे प्रतिशत महिलालाई यस्तो म्यागेजिनको माध्यमबाट कम्जोर महशुश गराइरहनुभएको छ । गरीब नेपाली महिला नवनारी बन्न सक्दैनन् । हामी समानताता चाहन्छौ पुरुषको पनि महिलाको पनि । तर हामी पितृसत्ताको उल्टो मातृसत्ता मान्दैनौ । पितृसत्ता रोग हो, मानवअधिकारको हनन हो, र मातृसत्ता पनि यदि आयो भने रोग हुन्छ हामी यसको विरुद्धमा छौ । जबसम्म महिला स्वतन्त्र हुदैनन्, आत्मनिर्भर हुदैनन् पुरुष स्वतन्त्र हुन सक्दैन । किनकि यदि म महिला हुँ र म भाइ प्रति निर्भर छु भने मेरो भाई स्वतन्त्र हुन सक्दैन । उ मेरो लागि केटा खोज्छ, दाइजो जुटाउछ, म कहिँ जानुछ भने म सँग साथै जान्छ । यदि मेरो भाइलाई पैसा कमाउनु छैन संगीत गर्नुछ भने जब सम्म दिदीले भाइ त संगीत सिक म पैसा कमाएर घर चलाउछु, पिताको व्यावसाय चलाउछु भन्छ भने मात्रै भाइ स्वतन्त्र हुनसक्छ । त्यसैले महिला र पुरुष समाजमा एकैठाउँमा रहनु पर्छ । म समाजवादी, नारीवादी बन्ने सपना देख्छु तर बन्न सकिरहेकी छैन । म अहिले पनि आफ्नो वर्गमा फसेकी छु । तपाई मेरो कपडा बाट देख्नु हुन्छ, मेरो ३७ बर्षिय पुरै अपांङ्ग छोरो छ, उसको चारहातपाउ चल्दैन, टाउको कन्ट्रोल हुँदैन, उ बोल्न सक्दैन । उसलाई मेरो घरमा चारजनाले संम्हालेका छन् । तब म यो आफ्नो आन्दोलन चलाउछु । यसको मतलव म धनि महिला हुँ मेरो घरमा चारजना मान्छे काम गर्छन् कहि न कहि उनीहरुको शोषण भइरहेको छ । म समाजवादी बन्न चाहन्छु, म दलित नारीवादमा पनि बिश्वास गर्छु, म इकोलोजिक फेमिनिष्ट हुँ म मान्छु प्रकृतिको बलात्कार भयो भने महिला पनि तड्पिन्छन् । किनकि महिला र प्रकृतिको धेरै नजिकको सम्बन्ध छ । आजका धेरै नारीवादीहरु केवल स्त्री पुरुषसँगको समानताले कामचल्दैन, ब्रामण शुद्र समानता पनि आउनु पर्छ, धनी गरिब समानता पनि आउनु पर्छ, हिन्दु मुश्लिम समानता पनि आउनु पर्छ भन्नेमा विश्वास गर्छन् । हामी यो सबै इशुमा काम गर्छौ । तपाई पुरुष मात्रै होइन तपाई नेपाली हो, हिन्दु हो, तपाईको वर्ग पनि छ, तपाई ओशो मान्नेवाला हुनुहुन्छ, अर्कोको पनि त्यहि छ त्यसैले हामीलाई मात्रै नारीको नामले काम चल्दैन । आदि वासि नारीसँग काम गर्दैछौ भने उसको आदिवासि पनको पनि हामीले राम्रो बनाउनु पर्छ, नारी पनको पनि राम्रो बनाउनु पर्छ, आदिवासिको अधिकार दिलाउनु पर्छ म यस्तो मिक्स नारीवादी हुँ ।
केहि पुरुषहरु महिलाको रिर्जवेसनको कुरा आउदा टाउको दुखाउछन् । महिला मात्रै होइन नेपालको सन्दर्भमा दलित जनजाति पिछडिएका वर्गका लागि रिजर्वसेनको कुरा आउदा केहि समुहलाई ठूलो टाउको दुखाई हुन्छ किन ?
टाइको मात्रै दुख्दैन मन दुख्छ । पेट दुख्छ, माथा दुख्छ सबै दुख्छ । यदि म कुनै कुर्सिमा बसेकी छु भने म छोड्न चाहदिन । नेपालमा भारतमा ब्रामण टप पोजिसनमा छन् । गएको तीन हजार बर्षदेखि सबै टप पोजिसन लिएर बसेका छन् । यिनीहरुको साथमा कम्पिट गर्ने कोहि थिएन, महिला कम्पिट गर्न सकदैन थिए, नब्बे प्रतिशत सो कल्ड तल्लो जात कम्पिट गर्न सक्दैन थिए । दश प्रतिशत सो कल्ड माथिल्लो जातका मानिस म उनीहरुलाई उच्च जाति मान्दन म शोषक जाति मान्छु । यदि मैले उच्च भने भने यसको मतलव म उच्च मान्छु । तर म समान मान्छु । इतिहासमा जाने हो भने शोषक जाति र शोषित जाति, म लोअर कास्ट पनि भन्न चाहन्न । पुरुष सबै सिट लिएर बसेका छन् । अब पोजिसन जान्छ भनेर रिजर्वेसन किन चाहियो भन्छन् । म त भन्छु तिमीहरुत गएको तीनहजार बर्षबाट रिजर्वेषन सिट लिएर बसेका छौ किनकि तिमीहरुसँग कम्पिटिसन गर्ने कोहि थिएन । हामी रिजवेर्सन किन चाहन्छौ भने यसले परिवार अगाडि आउछ, बहिनी अगाडि आउछ, भाइपनि अगाडि आउछ, समाज अगाडि आवस् । नेपाल र भारतमा सबै जाति अगाडि आउन् । आफ्नो क्षमताको प्रयोग गरुन् । अहिले पूरै दुनियाँले बुझेको छ आधा देश पछाडि रहयो भने कहिल्यै पनि अगाडि आउन सक्दैन । त्यसैले म रिजर्वेसनको पक्षमा छु, दिनु पर्छ भन्नेमा छु । पुरुष जब महिला रिजर्वेसनको बिरुद्धमा बोल्छन् एक संकुचित सोच लिएर बोल्छन् । उनीहरु बाहिरको महिला सम्झन्छन् तर त्यो उसको छोरीले लिन्छ मैले नपाए, मेरो श्रीमतीले लिन्छ भन्ने बुझ्न जरुरी छ । ह्युमेन राइट्स डिक्लयरेसनले भन्छ सबै मानिस जन्मजात स्वतन्त्र छन्, सबैको अस्मिता छ सबैको अधिकार छ ।

धेरै एक्सपर्ट डेभलपमेन्टको क्षेत्रमा जेण्डर इक्वालिटि र सोसियल इन्कुलजनको बारेमा काम गर्छन् केहि सुझव दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिला म नेपालमा आएको छु । कमला भाषिन नेपालमा आएको छ बोल्न यो जेण्डर एक्सपर्ट हो भन्ने धेरैलाई लागेको हुनसक्छ । सबैभन्दा पहिला त म जेण्डर एक्सपर्ट होइन । म जेण्डरकी स्टुडेन्ट हुँ, बिद्या­अर्थी । किनकि जेण्डर कुनै बिषय होइन । यसको मतलव मैले बुझेको जेण्डरको कोहि एक्सपर्ट हुनै सक्दैन दुनियाँमा । जेण्डर बिषय होइन जेण्डर इज अ प्रस्पेक्टिभ । मलाइ आँखा नदेख्ने इच्छाले यो १५ दिनमा जेण्डर डिसएविलिटि सम्झइन् । किनकि म डिसेवल छैन त जेण्डर डिसएविलिटि को एक्सपर्ट म कसरी हुँ । एक्सपर्टिज कितावबाट आउदैन जिन्दगीबाट आउनु पर्छ । एक्सपर्टिजको मतलव हामी डिब्बामा देख्छौ । म जेण्डर एक्सपर्टिज हु त म कास्टको कुरा गर्दिन, धर्मको कुरा गर्दैन । जेण्डर त सबैमा आउछ । जहाँ एक्सपर्टिजको कुरा आउछ बुझनुहोस् पैसा बनाउनको लागि मानिसले यो गरिरहेका छन् । आफुले आफैलाई बेचिरहेका छन् । संसारलाई एक्सपर्टले बदल्न सक्दैन, दुनियाँलाई आन्दोलनने बदल्छ । यहाँ पनि जे बदलाव आयो सोसियोलोजिस्टले बदलाव ल्याएका होइनन्, हामी समाजशास्त्री हौ समाजलाई बदल्दैछौ होइन बदलियो त सडकछाप मानिसले । माओवादी बनेर एमाले बनेर, सडकछाप मानिसले यहाँ प्रजातन्त्र ल्याए, सडकछाप महिला आन्दोलनले तेतीस प्रतिशत संसदमा सिट रिजर्व गराए, सडकछाप दलितले दलित आन्दोलन गरेर दलित कमिशन बनाए, म लाई लाग्छ शिक्षाको काम समाज परिवर्तन तर आज शिक्षको काम भएको छ डिगी्र हाँसिल गर्नु । जति एक्सपर्ट छन् डिग्री लिएर दोकान चलाउछन् । त्यसैकारण हामीले जतिगर्न सक्थ्यो त्यति उन्नती गर्न सकेका छैनौ ।
भर्खरै नेपाल पुलिसले प्रत्येक दिन ६ जना युवती बलत्कृत हुन्छन् भनेर डाटा निकालेको छ । दिनप्रतिन महिला हिंसा बढिरहेको छ, कसरी हामी महिला हिंसालाई रोक्न सक्छौ ?
दुइ तरिका छ । एउटा कानून बदल्ने यो हामीले देखिसकेका छौ । नेपाल र भारतको कानून संसारको वेस्ट कानूनमा पर्छ । कानून, पुलिस, जज रेप भएपछि आउछन् । त्यसको पछि के फाइदा रेप त भइसक्यो । हामीले रेप हुनुभन्दा अगाडिको कुरामा ध्यान दिनु पर्छ । रेप कसले गर्छ पुरुषले । के त्यो पुरुष जन्मदै यस्तो थियो होइन उ मान्छे जन्मिएको थियो । समाजले उसलाई पुरुष बनायो । कुलको दिपक बनायो । जताततै भित्रामा बाटोमा पिसाब गर्ने लाज नभएको बनायो । हामी महिला किन गर्दैनौ यस्तो मात्र शरीरको कारणले होइन हामीलाई ढोका भित्र लगेर पिसाव फेर्न सिकाइन्छ । मलाइ लाग्छ पुरुषको साथ, केटाको साथमा हामीले काम गर्दैनौ, कुरा गर्दैनौ हेर पितृसत्ताले तिम्रो ठूलो नोक्सान गरिरहेको छ भनेर भने यसले पुरुषलाई तागत त दिन्छ तर मानवता खोसिरहेको छ । एक पुरुष जो आफ्नी श्रीमतीलाई हात उठाउन सक्छ, एक पाँच बर्षको बच्चीलाई बलात्कार गर्न सक्छ, भने उ विचारा भित्रबाट मरिसकेको छ । उ खतम भयो यसको मानवता मर्यो । मिडियाले उसको मानवता मार्यो । हलिउडले, बलिउड्ले उसको मानवता मार्यो फिल्म देखाएर । केटाले जवरजस्ति केटीलाई तानीरहेकोछ गीत गाउदै, केटी पनि नाइ नाइ भन्दै प्यार उसैसँग गर्छे ।जुनसुकै फिल्ममा पनि केटी नाइ नाइ भन्छे केटा समाती समाती तान्छ । दश बीस बर्ष पुरानो फिल्म हेर्नुहोस न अनि अहिले पनि त्यहि छ, घरमा पनि छोराले बाबुले रिसाएर आमालाई पिट्छ, त्यो देखेको छ, संविधानले के गर्छ त्यो केटाले त संविधान अहिलेसम्म पढेकै छैन । तर बाउको व्यावहार सधै देखेको छ, बलिउड सधै देख्छ । संविधान सुनेको छ नयाँ संविधान आयो । मलाई खुशि लाग्छ अहिले दुनियाँमा पुरुषको ग्रुप बनेको छ नेपालमा पनि यो ग्रुप आएको छ मेन इन्गेज । कसरी पुरुष पितृसत्ता बिरुद्धमा फाइट गर्ने । हामी चाहदैनौ पुरुष आएर हामीलाई सुरक्षा दिओस् । म भन्छु पुरुषले आफुले आफैलाई ठीक गर हामीलाई सुरक्षित नगर । आज यो लगभग नब्बे देशमा क्याम्पियन चलिरहेको छ हामी उनीहरुसँग मिलेर काम गरिरहेका छौ । हामी महिला पुरुषलाई पढाउछौ त्यो होइन पुरुषले आफै जुन कोर्ष मैले गरिरहेको छु यो पुरुषले गर्नुपर्छ, पुरुषले बुझनुपर्छ पितृसत्ताको । केटीलाई देखेर कुन भाषा प्रयोग गर्छन उ क्या माल गयो, उ माल हो तिमी मानिस हौे । उ चिज हो तिमी मानिस हौ, यसले तिम्रो मानवता मर्छ की मर्दैन । हाम्रो धर्ममा तिज छ करवा चौथ छ यसमा कुरा गर्नु पर्छ यी सबैले पुरुषलाई उत्तम बनाउछ ।

महिला श्रीमानको लागि ब्रत बस्छन् श्रीमतीको लागि श्रीमान किन ब्रत नराख्ने ?

त्यो समय ठिक थियो जतिबेला महिला कमाउदैन थिए यदि श्रीमान मर्यो भने उ खत्तम हुन्थी, अहिले महिला आत्मनिर्भर छन् । तर जब तिज आउछ महिला तल हुन्छन्, जब करवाचौथ आउछ म तल हुन्छु । पति परमेश्वर माथि हुन्छन् । शब्द हेर्नुहोस् पति अर्थात मालिक, परमेश्वर मतलव सानो इश्वर पनि होइन । यसको मतलव हाम्रो भाषमा पितृसत्ता झल्कीन्छ, हाम्रो गानामा पितृसत्ता झल्कन्छ । हाम्रो छाउपडिमा पितृसत्ता छ, हाम्रो गुफामा पितृसत्ता झल्कन्छ । खासमा दिदी बहिनीले भाइको सुरक्षा गरेका हुन्छन् । खाना बनाएर दिन्छन्, चिया बनाएर दिन्छन् पिताको कुटाइबाट बचाउछन्, झुट लुकाइदिन्छन् । बच्चाबाट नै दिदीबहिनीले भाइको सुरक्षा गर्छन् भाइलाई त कमै मौका मिल्छ की डण्डा लिएर मलाई प्रोटेक्ट गर्ने । जब सम्म हामी परिवार बदलिदैनौ, सोच बदलिदैन, जब सम्म धर्ममा उच्च र निच छ त्यसलाई बदल्दैनौ केहि हुन सक्दैन ।

अन्त्यमा केहि सुझाव दिन चाहनुहुन्छ नेपाली महिला र पाठकको लागि?
जे मैले भने त्यहि मेरो विचार हो । मलाई लाग्छ नेपालमा यति धेरै सक्षम नारीवादी महिला छन् उहाँहरुको छेउमा त म सानो हुँ जसले नेपाललाई बद्ल्नको लागि काम गरे । म उहाँहरुसँग बीस बर्ष देखि काम गर्दै छु । जुन नेपालले हासिल गरेको छ तेतीस प्रतिशत आरक्षण, होमो सेक्सुआलिटिलाई लिगल गर्न, हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष बनाउन, राजाको राजलाई प्रजातन्त्र बनाउन, यस्ता धेरै ठूलो ठूला उपलब्धि हाँसिल गरेको छ नेपालले, त्यसैले म नेपाल सिक्न आउछु म सिकाउन आउदिन । म भन्छु यो कुराको बारेमा छलफल डिसकसन गर्दैरहनुपर्छ । त्यस्तै दक्षिण एसियाको रुपमा पनि आफुले आफुलाई सम्झनुहोस् । म नेपाली हुँ सँगसँग दक्षिण एसियन पनि हु म भारतीय हुँ दक्षिण एसियन पनि हुँ । दक्षिण एसियाली देशहरु मिलेर यसको लागि अगाडि बढ्नु पर्छ ।
प्रस्तुतीः जानुका ढकाल/गिरी बहादुर सुनार

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest