पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएसंगै ,काठमाडौँ कोरोनामुक्त

Thursday, April 23rd, 2020

काठमाडौ :पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएसंगै काठमाडौँमा उपचाररत सबैजना निको भएका छन् ।चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको वैशाख १ गते टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । यो सँगै निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ । यससँगै पछिल्लो समय काठमाडौं उपत्यकामा उपचाररत चारैजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालका पहिलो संक्रमित काठमाडौंमा उपचार गरेर निको भएर फर्किएका हुन् । त्यसैगरी वैशाख ६ गते नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर गत बिहीबार डिस्चार्ज भएकी थिइन् । चैत १० गते कोरोना पुष्टि भएकी उनी कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । तेस्रो संक्रमित धादिङका ३२ वर्षीय युवा पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै उपचार गरी निको भएर घर फर्किसकेका छन् ।

यसैबीच बिहीबार थप दुईजना कोरोना संक्रमित थपिएका छन् । उदयपुर र जनकपुरमा दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरुमा उदयपुरका ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय किशोरमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

अहिलेसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको परीक्षण भएको छ । यसैगरी आरडिटी विधिबाट ३४ हजार ५ सय २३ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ३ हजार ५ सय ९२, प्रदेश नम्बर २ मा ४ हजार ५ सय २९ र बागमती ६ हजार १ सय ५५ वटा परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश नम्बर ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको आरडिटी परीक्षण भएको उनले बताए ।

अहिले देशभरी १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र बाहिर ८२ जना गरी ८६ जना आइसोलेसनमा रहेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest