प्रकृतिको खुसी शास्त्र

Monday, May 4th, 2020

                                              अन्जना पौडेल ‘अनुश्रुति‘

ओ झरी, नझरी देउ यसरी । नविन भट्टराइको यो गीतले मनमा झंकार पैदा गरिरहेको छ । कोरोनाले दिएको सुविधा उपयोग गर्दे बन्द कोठा भित्र कोरोना बन्दी अवस्थामा बस्दै गर्दा बाहिर चाँिह झमझम पानी परी रहेको छ ।

कहिले सामाजिक संजालमा भूलेर बस्नु, टिभी ,रेडियो ,यूट्यूवमा भुल्नु । कहिले घरायसी काममा व्यस्त रहनु, कहिले ज्ञानगुनका कुरा पढ्नु, हेर्नु ,कहिले भावनाहरु कपीमा उर्तानु ,कहिले समाचार हेरेर मन उदास–उदास हुनु । लासहरु, विरामीहरु र दुःख पाएका बटुवाहरु, राहतमा लाइन लागेका अनुहारहरु हेर्दै गर्दा अनिश्चित भविश्यको कैदी हुँ भन्ने महसुस भएको हुनु दैनिकी भएको छ आज ।

एउटा सानो भाइरसले सिंगो मानव जीवनमा धावा बोल्नु चानचुने कुरा हुँदै होइन । लाखौं मानिसहरुले ज्यान गुमाए, लाखौं निको भएर घर फर्के, लाखौं आइसोलेसनमा उपचाररत छन् । हामी जस्ता करोडौं मानिस क्वारेन्टाइनमा घरभित्रै बन्दाबन्दी अवश्थामा छौं ।

चिनको बुहानबाट नदेखिने रुपमा मानवको संहार गर्दैं कोभिड १९ दोश्रो भनेर नामाकरण दिइएको कोरोना भाइरसले आज संसार चाहारी रहेको छ ।  कहिले यस्को यात्रा टुंगिन्छ र कुन मानिसमा गएर रोकिन्छ केही ठेगान छैन ।

 हिन्दुधर्ममा बिश्वास गर्ने गुरु कुवेर सवेदीको विचारमा–“कोरोना भाइरसले मानवलाइ मानव मात्र बनी रहन सन्देश दिएको छ । किनकी कुनैं अलौकिक शक्ति छ, जस्ले मानवलाइ संचालन गरिहेको छ ।” पूर्व जन्मको पापको फल या त यही जन्मको कर्मको फल मानीसहरुले भोग्दैछन् ।

भारतिय संचारकर्मी एवं साहित्यकार एसएस डगोरा पनि यस कुरामा सहमत छन्– “कि आत्मा जून अदृष्य छ, साइन्सले  सिसाभित्र मान्छे राखेर हेर्दा पनि भेट्न सकेन,कता कसरी उडेर जान्छ थाहा हुन सकेन ।”

 आजकल सामाजिक संजालमा एउटा ट्रोल भाइरल भएको छ । “स्वर्गमा पनि कोरोना पुगेछ, त्यसैले इन्द्र भगवानले पनि हात धोइरहनु भएको छ । त्यसैले बेमौषममा झरी परेको छ ।”

साँच्ची इन्द्रको घर स्वर्गमा पनि कोरोना पुगेको होला त ? इन्द्रदेवताको पूजागर्ने चलन त हिन्दु धर्मावलम्वीमा छंदै छ । भ्यागुताको बिहे गरिदियो भने पानी पर्छ भन्ने अन्धबिश्वासमा मानिसहरुले मान्यताको रुपमा व्यवहारमा प्रयोग गर्दै आएका छन् ।

हिन्दु धर्मावलम्बीहरुले जून विश्वासले प्रकृतिमा रहेका हरेक जीव र बोटविरुवाको,खाध्यान्नको पूजा गर्दछन्, त्यसले गर्दा मानिसलाइ प्रकृतिको सम्मान गर्न सिकाएको छ । तर आजकल औपचारिकतामा सिमित हुँदै गएको छ, जीव मानव केवल यन्त्र मानव बन्दै गएको छ सायद त्यसैले यस्तो दुर्घटना झेल्दैछ ।

मानवशाश्त्री नीतु अग्रहरी भन्छिन् –“तुलसी र पिपलमा जल चढाउने, नागपन्चमीमा नागदेवताको पूजा गर्ने, जनैंपूर्णिमामा जनैं लगाउने, क्वाँटी खाने, इन्द्रजात्रामा इन्द्रको पूजा गर्ने, दशैंमा नवदुर्गाको पूजा गर्ने ,तिहारमा जनावरहरु र कागको पूजा गर्ने, नारी अर्थात् प्रकृतिलाइ दुर्गा वा कालीको रुपमा पूजा गर्ने, छठमा छठीमाइ र सूर्यदेवताको पूजा, अर्चना गर्ने आदि प्रचलनले नेपाललाइ संस्कृतिको रक्षामा धनी देश मानिन्छ । ”

धान रोप्ने सिजन असारमा धान पूजा गरेर गित गाउँदै, नाच्दै धान रोपिन्छ, अन्नको सम्मान गरिन्छ भने मंसिरमा पनि पूजा गरेर मात्र घरमा अन्न भित्र्याइन्छ । बिहानैं उठेर प्रत्येक दिन नित्यकर्म गरेर नुहाइधुवाइ गरेर शुद्घ भए पछि मात्र खाना खांदा जल अंचाएर, खाना चढाएर मात्र खाने चलन हिन्दु धर्मावलम्वीमा छ ।

व्यवसायी तथा कुशल गृहिणी सिर्जना शाही भन्छिन् –“घरभित्र कुनैं नराम्रो आँखा नलागोस् र भगवानको बास हओस् भनेर संधै दैनिक पूजा गरिन्छ ”

नेवारी समुदायमा चाडपर्वहरुमा  बिहानैं पूजा गर्दा घरको मूलढोका अघिल्तिर बिभिन्न किसिमका परिकार बनाएर माटोले गोलो बनाएर पोतेर राखेको धेरोमाथि पूजा गरेर  टपरीमा ती सबै परिकार राखेर चढाउने चलन छ । किनकी कमिला ,किरा फट्याङ्ग्रा ,चराहरु जीवजन्तुले खाए भनें उनीहरुको भोको पेट भरिन्छ । उनीहरु खुसी भएपछि आफूलाइ शुभ आर्शिवाद मिल्छ भन्ने मान्यता रहेको छ ।
https://www.youtube.com/watch?v=bPqP5MlKuko&t=214s

हिन्दु स्वयंसेवक संघका व्यवस्थापक तथा समाजसेवी मुकेश कुमार शाह भन्छन् – “मानवसेवा नैं ठूलो धर्म हो,त्यसैले अहिले हामी लकडाउन शुरु भएपछि दैनिक खाना वितरण गरिरहेका छौं ।”

 किराँती धर्मावलम्वीहरुले त झन् रुख बिरुवा बनजंगलको पूजा गर्दछन् । मूर्तिपूजा भन्दा पनि प्रकृति पूजामा विश्वास गर्दछन् । बौद्घ धर्मावलम्वीहरु लुम्विनी, स्यंभूनाथमा अखण्ड  दीप प्रज्वलन गरेर शान्तीको कामना गर्दछन् । जुन दीपले गर्दा हावामा भएका खराव किटाणुहरु नास हुनाका साथैं आत्माको सुद्घीकरण हुन्छ भन्ने बिश्वास रहि आएको छ । अन्य धर्मका पनि आआफ्नैं प्रचलन र संस्कार रहेका छन् ।

 मानिस वास्तवमा प्रकृतिमा रमाउनैं जानेन । कृतिम आविश्कारमा मस्त र व्यस्त भयो ,प्रकृतिमाथि घोर अन्याय गर्यो । सायद प्रकृतिपूजा गरिने चलन यसै भएको होइन होला । प्रकृतिपनि मानवको अनावश्यक हस्तक्षेपबाट मुक्त भएकी छन् ।

 साइकल यात्री तथा व्यवसायी केशव घिमिरे भन्दछन् – “संसार तह लगाउँछु ,संसार डुल्छु, नाम कमाउछु ,दाम कमाउँछु र संसार जित्छु भन्ने मान्छे आज कोरोना भाइरसको त्रासमा एक मुठी स्वास जोगाउन भित्रै गुम्सिइदैछ ।”

त्यसैले आज जीवजन्तुहरु, किरा,फट्यांङ्ग्राहरु मस्त बाहिर डुली रहेका छन् ,संसारकै चेतनशिल भनिएको मान्छे एउटा बन्दकोठा भित्र स्वास जोगाउने धूनमा कोरोनासंग त्रस्त भएर लुकी बसेको छ । चाल्र्स डार्विनको “सर्भाइभल अफ द फिटेस्ट” आज सबै मानिसमा लागु हुन पुगेको छ ।

एकातिर आफ्नासंग सामाजिक दुरी र भौतीक दुरी कायम गरेर अछुत जस्तो व्यवहार गर्नु पर्ने अवस्था सिर्जना भएकोले मानवको मनस्थिति नैं खलवल भएको छ भनें अर्कोतिर बिहानैं उठ्ने बित्तिकै चरा चुरुंगीका मधुर आवाजहरु कानमा गुन्जिन्छन् , सुन्दर हिमाल, पहाड हरियाली र फूलहरुले मनै मोहित बनाउँछन् र स्वच्छ हावा लिएर स्वस्थ्य जीवन बाँच्ने रहर पलाउछदैछ पलपल ।

सायद यो लकडाउन भएको थिएन भने बिहानैं देखिको व्यस्त जीवन, गाडीहरुको ट्यांट्यां र टुंटुं, ध्वनी प्रदुसण, वायू प्रदुशणमा दिनदिनै गलेर, आफैंभित्र सडी रहेको थियो मान्छे । केमिकलयुक्त खाधान्न खाँदा रोगी भएर बाँची रहेको थियो मान्छे ।

आज कमसेकम मानवलाइ आफैंले अर्गयानिक खाध्यान्न, तरकारी उत्पादन गरेर आत्मनिर्भर हुनु पर्ने रहेछ भन्ने चेतना पलाएर आएको छ । विदेशमा अड्किएका नेपालीहरुको पीडा देख्दा लाग्छ, नेपालमा नैं कुनैं काम गरेर ,उव्जाउ गरेर खेती विक्ने वातावरण सरकारले सिर्जना गरेको भए जमिन बाँझो पनि हुने थिएन र धेरै नेपालीहरु रोजगारीको निम्ति परिवारबाट विछोडिनु पर्ने थिएन ।

शहरबाट गाउँगाउँ फर्केर जमिनमा काम गरिरहेका मानिसहरु देख्दा लाग्छ कुनैं ठूलो विपत्ती आउदा नेपाली धर्तीले र संसारकै धर्तीले माया पाउने दिन आएका पो हुनु कि ?

मानवशाश्त्री ब्रोनिस्ल मेलीनोस्कीको विचारमा “घर भनेको डुंगा,माटो पानीको समिश्रम मात्र होइन , मन ,भावना ,दुख सुख, पिडा बाँडिने थलो हो ।”

त्यसैले घर परिवार र समाजमा सद्भाव कायम गरेर नें यस्ता बिपत्तीमाथि विजय प्राप्त गर्न सकिन्छ ।

मनले हारेनौं भने अवश्य जित्ने छौं ,कोरोनासंगको लडाई । आफैंमा आत्मविश्वास जगाएर आत्मबल दह्रो बनाउनु पर्छ ।

 भुकम्प जाँदा धर्तीलाइ धेरै भार भएकोले रिसाइन् भनियो । अहिले सबै मानवहरु आफैंभित्र थुनिनु पर्दा प्रकृति बेखुसी भइछन् भन्नु पर्ला कि । आखिर कुरो त उही हो । संसारभरका करोडौं मानिसहरु के धनी, के गरीव, के राजा के रैती, के सानु, के ठूलो देश सबैलाइ एउटै कोषमा सिमित गराइदिइन् प्रकृतिले ।

आज प्रकृति लामो गहिरो स्वास फेर्दै आनन्दित हुँदै छिन् । उनी दंग छिन्, मख्ख छिन् । प्रकृतिको मुहारमा खुसीको गुराँस ढकमक्क फक्रिएको छ ।

पानी बर्साउंछिन्, झरी पारी रहेकी छन्, धर्तीका कुनाकाप्चामा जमेका फोहर पखाली रहेकी छन् ।

मानवका मनभित्रका फोहोर र दुषित भावनाहरु चाँिह पखाल्न सकिन् कि सकिनन् होला खै ?

( लेखिका मानवशाश्त्रमा बिधावारिधी गर्दै हुनुहुन्छ )

https://www.youtube.com/watch?v=qXkAxx5y1U8&t=1s

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest