फिल्म हलहरू आजदेखि संचालनमा आउँदै

Friday, December 25th, 2020

काठमाडौं:कोरोना महामारीका कारण झन्डै १० महिनादेखि बन्द रहेका देशभरका फिल्म हल शुक्रबारबाट खुल्ने भएका छन्। सरकारले हल सञ्चालनमा ल्याउन अहिलेसम्म कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेको हो। संघको निर्णयलाई फिल्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले समर्थन गरेका छन्।

नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार सरकारले सबै क्षेत्र खोलिसकेको र फिल्म हल मात्रै बन्द गर्नुपर्ने कुनै गतिलो कारण देखाउन नसकेका कारण चलचित्रकर्मीहरू हल खोल्ने निर्णयमा पुगेका हुन्।

‘सरकारलाई मनग्गे कर बुझाउने फिल्मकर्मी तथा हल सञ्चालक सदैव सरकारको हेपाइमा परेका छन्’, उनले भने, ‘राजनीतिक पार्टीका सभा, सम्मेलन र आन्दोलन गर्न भीडभाड गर्दा कोरोना भाइरस नसर्ने , बाटोघाटो मल, सपिङ कम्प्लेक्समा पनि भीड उत्तिकै छ। यसमा पनि सरकारलाई मतलब छैन। हामी सरकारले तोकेको मापदण्ड पूरा गरेर हल खोल्छौं भन्दा पनि अनुमति नदिने ,यो कस्तो विभेद , सरकारले जे जे गर्छ गरोस्, हामी आफ्नै तवरले जोखिम मोलेर भए पनि शुक्रबारदेखि हल सञ्चालन गर्छौँ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले हल सञ्चालनमा ल्याउन आफूले पटक–पटक सरकारसँग लिखित तथा मौखिक प्रस्ताव गरेको बताए। उनले भने, ‘हल खोल्न पाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ। एक दुई दिनभित्रै प्रस्ताव पास हुनेमा आशावादी छु।

अन्य भीडभाडका क्षेत्रभन्दा फिल्म हल संक्रमणका हिसाबले कम जोखिम ठानिन्छ। फिल्म हेर्न पुग्ने दर्शकको तापक्रम नाप्ने, मास्क अनिवार्य गर्ने तथा केही समय हलको क्षमताभन्दा आधा संख्यामा मात्रै दर्शक उपस्थित गराएर फिल्म प्रदर्शन गर्दा जोखिम कम हुन्छ।’

तयार भएर प्रदर्शनको पर्खाइमा रहेका फिल्म नै हल खुलेपछि प्रदर्शनमा आउनेछन्। पहिल्यै प्रदर्शनमा आएका ‘सेन्टी भाइरस’ र ‘आमा’ पुनस् प्रदर्शन गर्दै हल सञ्चालनमा आउने हलवालाहरूले बताएका छन्।अन्नपूर्णबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest