फुच्ची आरजे अदिती

Thursday, May 17th, 2018

एउटा  सानो बाकस जस्तो चिज, जसभित्र कहिले गीत बज्छ, कहिले केटा मान्छे त कहिले केटी मान्छे बोलेको सुनिन्छ । हामीमध्ये धेरैले सानो उमेरमा यत्ति सानो बाकसमा कत्रा मान्छे
अटेका होलान्, त्यहाँबाट बोल्ने मान्छे कस्ता होलान् ? कत्रा
होलान् भन्ने कौतुहलता मनमा बोकेको हुनुपर्छ । नेपालमा
रेडियोको इतिहास पनि त्यत्ति पुरानो छैन । २००७ सालदेखि
नेपालमा रेडियो प्रसारण नियमित भएको हो भने एफएम
जेनेरेशन त २०५२ देखिमात्रै भित्रिएको हो ।

विभिन्न एफएम स्टेशनमा विभिन्न उमेर समूहका प्रस्तोताहरु रहेका छन् । तिनै रेडियो प्रस्तोतामध्ये एक हुन् अदिती पौडेल । रेडियो सिटी एफएम ९८.८ को तरंङमा
हरेक आइतबार दिनको ४ बजेदेखि ५ बजेसम्मको वालवालिकालाई लक्षित गरिएको प्रस्तुति ‘लिटिल स्टार’ मा अदितिले सुरिलो र मीठासपूर्ण आवाजमा आफूजस्तै साथीहरुसँग भलाकुसारी गर्ने गर्छिन् । उनको प्रस्तुतिमा फोन गर्ने कसैले गीत सुनाउँछन् त कसैले चुट्किला सुनाएर हसाउँछन् । चुट्किला सुन्दा आफूलाई पनि हाँसो लाग्ने अदिती बताउँछिन् ।
अदिति उमेरले मात्र ११ वर्षकी छिन् भने उनी काठमाडांै भ्याली स्कूल,
महाराजगञ्जमा कक्षा ६ मा
अध्ययनरत छिन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि उनको संलग्नता हुने गर्छ ।

नृत्य, गायन, वादविवाद, हाजिरी जवाफ, हिज्जे प्रतियोगितामा उनले सहभागिता जनाउँदै आएकी छिन् । त्यस्ता प्रतियोगितामा पनि अदितीले आफूलाई अव्वल सावित गरेकी छिन् ।
सानै देखि अलि फरक र
केही नयाँ काम गर्ने उत्सुकता अदितीमा रहेको अदितीकी आमा विकला पौडेल बताउँछिन् ।
विद्यालय की अनुशासित र सालिन छात्रा पनि हुन् उनी । कसैसँग झगडा नगर्ने र कसैको विगार नगर्ने बानी भएकोले शिक्षक र शिक्षिकाले पनि माया गर्छन् उनलाई । काठमाडौ भ्याली स्कूल की भाइस प्रिन्सिपल अन्जना श्रेष्ठ भन्छिन् ‘अदिति विद्यालयकी अनुशासित र जेहेन्दार छात्रा हुन् ।’

अदिती विहान सबेरै उठ्छिन् । घरको काममा आमालाई सघाउँछिन् पनि ।
उठेपछि मुख धोएर पसलमा गएर दूध र तरकारी किनेर ल्याउँछिन् । खानेकुरामा पनिरको तरकारी र पनिर मःमः असाध्यै मन पर्छ उनलाई ।
सानैदेखि शाकाहारी उनी दशैंमा पनिरको तरकारी भए पुग्ने बताउँछिन् । उनी भन्छिन् ‘निर्दोष प्राणीको हत्या गरेर मासु खान मन नै मान्दैन ।
’प्राणीहरुमा गाई र चराहरु अदितीलाई असाध्यै मनपर्छ । विहान कौसीमा गएर नित्य कागलाई गहुँको रोटी, परेवा र भँगेरालाई चामल र कनिका छर्छिन् उनी । उनि भन्छिन् ‘कागले चामल वा कनिका मनपराउँदैन, पाउरोटी वा गहुँको सुख्खा रोटी दिनुपर्छ ।’
अदितीले दिएको चारा टिप्न सयौं संख्याका काग र परेवाहरु भुम्मिन्छन् कौसीमा अदितीसँगै । कागले हातैबाट रोटी खोसेर लैजाँदा भने अलि डर लाग्छ उनलाई । सामाजिक र परोपकारी कार्यमा पनि अदितीको रुची अधिक छ । लिस्नर्स क्लव
नेपाल, रोटरी क्लव अफ राजधानी, सोसियल एक्सन नेटवर्क नेपाल (सान नेपाल) लगायतका संघ, संस्थाले आयोजना गर्ने सामाजिक र परोपकारी कार्यमा वुवा हरिराम पौडेलको साथमा सँगै हुन्छिन् । उनी भन्छिन्
‘हामीले दुःख पाएका वालवालिका र आमावुवालाई सहयोग र माया गर्नुपर्छ ।’

अदिती की ९ वर्षकी बहिनी छिन् अनसुया । विद्यालयबाट फर्केपछि कक्षा ३ मा पढ्ने सानी बहिनीलाई खाजा खुवाउने, गृहकार्य गराउनेलगायतका जिम्मेवारी पनि अदितीको भागमा पर्छ । बाबा र आमा कामले ढिलो घर फर्कने हुँदा बहिनीलाई फकाई फुल्याइ राख्छिन् । उनी भन्छिन् ‘बहिनी पनि असल र ज्ञानी छे, मैले भनेको कुरा मान्छे, कहिले काँहि भने निहु खोजेर झगडा गर्छे, म कथा सुनाएर, चुट्किला सुनाएर फकाउँछु, फुल्याउँछु ।’अदिती विभिन्न प्रतियोगितामा पनि भाग लिन्छिन् । इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेनमेन्टले आयोजना गरेको लिटिल स्टार २०१८ मा उनले वेष्ट स्माइलको टाइटल उपाधी पाएकी छिन् । यस्ता प्रतियोगितामा भाग लिँदा नयाँ कुरा सिकिने, वौद्धिकता र वोल्ने कलाको विकास हुने उनको अनुभव छ । गीत गाउन मनपर्छ अदितीलाई ।
‘डोरेमी संगीत पाठशाला’ मा संगीतको कक्षा पनि लिने गरेकी छिन् उनले विदाको समयमा ।
‘अदितीको स्वरमा मीठास छ, मेहनत गरे उनले सांगीतिक क्षेत्रमा केही नयाँपन दिन सक्छिन्’ अदितिको सन्दर्भमा उनका गुरु भानुभक्त बताउँछन् ।

रेडियो सिटी एफएममा ‘लिटिल स्टार’ चलाउँदा पहिलो दिन अलि नर्भस् भए पनि त्यसपछिका दिनमा सामान्य भएको उनी बताउँछिन् । अदितीको क्षमता अनि रहर दुवै
रहेकोले यो अवसर दिइएको रेडियो सिटी एफएमकी अध्यक्ष तथा चर्चित कार्यक्रम प्रस्तोता रुपा विमल बताउँछिन् । उनी भन्छिन् ‘अदितीले प्रस्तुतिको भाव बुझेर कार्यक्रमको सञ्चालन गरिरहेकी छिन्, उनको प्रस्तुतीलाई श्रोताले रुचाएका छन् ।’
प्रस्तुति ः अनुराधा तिमिल्सिना

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest