फूल मुस्काउँदैन आजकल

Sunday, December 15th, 2019
 
खाँदिन आजकल ऊ
काकाले दिएको ललिपप
गर्दिन आजकल ऊ
बाबाको काखमा लुटपुट
खाँदिन गालामा पप्पी
चक्लेट ल्याइदिने प्यारो अंकलको
जाँन छोडेकी छे लुकामारी खेल्न
ऊ छिमेकी दाइको ठूलो घरमा
मान्दिन संगै बस्न खाटमा
प्यारो लाग्ने हजुरबा संग ।
डराउछे दार्ही संग
तर्सिन्छे धोत्रो स्वरसंग
बुझ्दिन के फरक छन्
उसका बाबा र दादा
त्यो छायाँ भन्दा
जसको सप्पैको स्वरूप
त्यहि छायाँ संग मिल्छ
जुन छायाँले उस्लाइ च्याप्प समातेर
निमोठनामोठ पारेथ्यो अँध्यारोमा
कलिला ओठ, गाला, छाति अनि कोपिलाहरु
सिरु जस्तै कोप्ने दारिले रगताम्य पारेथ्यो
कपासजस्तो मखमली सरीर ।
सम्झने प्रयास गर्छे
अँध्यारोमा अस्पष्ट अवयवहरु
-आस्कोट
-दारी
-पाइन्ट
-पेटि..
र अन्य यस्तै यस्तै..
आजकल ऊ,
त्रसित नजरले हेेर्छे दार्हिवालहरुका जाङतिर
अनि मुर्छित भएर पल्टिन्छ मिर्गीको रोगी जस्तै
मुर्छाबाट ब्यँझे पछि
आमालाइ सोध्न मन लाग्छ
`आमा तपाईंलाइ बाबासंग संगै सुत्न डर लाग्दैन?´
फेरि के सोच्छे चाबी लगाउछे आफनो जिब्रोमा
इस्र्यालु नजरले हेर्छे भाइलाई
नाङ्गै नुहाउँदै गरेको
उसलाइ छोप्नु पर्ने केही छैन
सायद छैन ऊ संग
निमोठिने,मठारिने या च्यातिने जोखिमयुक्त
कुनै त्यस्तो वस्तु
जुन उस्लाइ लुकाउन हम्मे-हम्मे परेको छ
लुकाएर पनि जोगाउन हम्मे-हम्मे परेको छ ।
आजकल ऊ
परै बाट कापि दिन्छे गुरुलाइ
मान्दिन हात मिलाउन लाइन बस्दा केटा-साथि संग
निभाउँदिन बत्ति सुत्ने बेला पनि
मुठ्ठी कस्छे..
के के बरबराइरहन्छे
र झस्कन्छे निद्राबाट अत्तालिँदै
`आमा´
नाइ! नाइ !
ऐया! ऐया !
खै के को चित्र हो बनाइरहन्छे
र खाट मुनि लुकाइरहन्छे
भित्र भित्र दार्हा किट्छे
जब मिल्न जान्छ त्यो तस्बिर
आफ्नै प्यारो काकासंग ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest