बलत्कृत हुनु महिलाकै दोष

Monday, March 19th, 2018

-जानुका ढकाल
पछिल्लो समयमा महिला हिंसाका घटनाहरु मिडियामा छ्याप्छ्याप्ति देखिन्छन् । त्यस माथी पनि सामुहिक बलात्कारका घटना र बालिका बलात्कारका घटना थुप्रै आउन थालेका छन् । केहि दिन अगाडि मात्र ८ बर्षकी बालिकालाई सामुहिक बलात्कार गरेर मर्नुन बाँच्नुको अवस्थामा पु¥याए केहि युवाहरुले । ती बालिका अहिले उपचारर्थ हस्पिटलमा नै छिन् । सप्तरीमा भर्खरैमात्र दुइवटा बलात्कारका घटनाहरु भए । एउटी १८ बर्षकी युवतीलाई औषधि लिन गएको मौकामा पाँचजनाको समुहले गहुँ खेतमा लगेर बलात्कार गरे भने अर्की तेतीस बर्षकी महिलालाई दुइजनाको समुहले कोशि नहरको झाडीमा लगेर बलात्कार गरे । गुल्मीमा ६ बर्षकी बालिकालाई मन्दिरमा खेलिरेको अवस्थामा चाउचाउको लोभ देखाएर एक युवकले बतात्कार गर्यो । यी घटना सेलाउन नपाउदै गुल्मीमा अर्की युवतीले प्रेमीका कारण आत्महत्या गर्न बाध्य भइन् । नेपाल, भारत लगायत केहि देशमा यस्ता बलात्कार र जघन्य हिंसाका घट्नाहरु बढी नै हुने गरेको देखिन्छ । पछिल्लो समयमा यस्ता कैयौ घटना जिल्ला प्रहरी कार्यलय या महिला सेलमा दर्ता भएका छन् । दर्ता हुन आएका घटनाको संख्यालाई हेर्दा पनि यस्ता घटनाहरु बढेको देखिन्छ । झट्ट हेर्दा यो घटनाहरु दिन प्रतिदिन बढ्दै गएको जस्तो लाग्छ तर वास्तविकता भने त्यो होइन ।
पहिले पहिले कतिपय घरायसि हिंसालाई हिंसाको रुपमा लिइदैनथ्यो भने धेरैजसो घटनालाई लुकाइन्थ्यो, समाजले के भन्ला, छोरीको विहे नहोला, इज्जत जाला आदि आदि कुराहरुको डरले । विवाह गरिदिनु नै छोरी प्रतिको सम्पूर्ण जिम्वेवारी पूरा गर्नु हो भन्ने मानसिकता थियो हाम्रो समाजमा । पितृसतात्मक सोचमा अगाडि बढेको समाजमा महिलाको अवस्था दयनिय नै रहयो र अझ पनि दयनिय अवस्था नै छ महिलाको । महिलामाथी हुने यस्ता घटनाहरु दबाइन्थ्यो परिवार भित्र नै या दबाउन बाध्य पारिन्थ्यो । घरभन्दा बाहिर भयो भने पनि समाजले ढाकछोप गर्दथ्यो या मिलापत्र गराउथ्यो । यहाँ छोरी मान्छेको इज्जत जान्छ भन्ने डर देखाएर पनि मिलापत्र गराइन्थ्यो । ससुराले बुहारीलाई, बाउले छोरीलाई, दाइले बैनीलाई या आफन्तले बलात्कार गरेका घटना घरभन्दा बाहिर निस्कदैनथ्यो । छोरीको विहे हुँदैन भन्ने डर एकातिर थियो भने परिवारको इज्जत जाला भनेर बाहिर निस्कन दिइदैनथ्यो घटना । पीडित दिनप्रतिदिन पिडा सहेर बाच्न बाध्य थिए । श्रीमानले पीट्नु, नहेर्नु, अर्की श्रीमती ल्याउनु यी सब कुराहरुलाई सामान्य रुपमा हेरिन्थ्यो र महिलाहरु पनि आफ्नो भाग्य सम्झन्थे । अहिले पनि पूर्ण रुपमा यो मानसिकता हट्न सकेको छैन ।
पुरुष मालिक र महिला दासि यहि सोचबाट अगाडि बढेको समाज हो हाम्रो । हाम्रा अधिकांश धार्मिक ग्रन्थमा पनि महिलालाई दासिको रुपमा नै प्रस्तुत गरेको छ त्यहि कथा सुनेर हुर्केको हाम्रो मानसिकताले गर्दा महिला माथी हुने हिंसा अर्थात घरभित्र हुने हिंसालाई हिंसाको रुपमा व्याख्या गरिदैनथ्यो । अझ भन्नु पर्दा पनि पुरुषमा आश्रीत जस्तो रहनु पर्ने अवस्था छ अहिले पनि । महिलाको श्रमलाई पुरुषको आम्दानीको रुपमा लिएको छ । घरायसि काम, बुढाबुढी, बच्चाको हरेचाह, कृषिमा काम गर्नुलाई महिलाको कामको रुपमा लिइदैन किनभने त्यहाँ महिलालाई पैसा आम्दानी हुँदैन । जब महिलासँग आम्दानी हुदैन उसले सानो सानो कुराको लागि पुरुषमा भर पर्नु बाध्यता हुन्छ यसको कारण पनि त्यो पुरुषले मालिकको दर्जा लिन चाहन्छ भने महिलालाई दासि सरह मान्छ अर्थात उसको इशारमा नाच्न बाध्य बनाइन्छ महिलालाई । यहि कुरालाई देख्दै र व्यावहारमा उतार्दै आएको छ हाम्रो समाजले, बाबुले आमा प्रति गरेको व्यावहार देखेर हुर्केको छोरा, कुनै केटी बलत्कृत हुँदा दोषको भागिदार केवल केटी मात्रै भएको देख्दै आएका युवा पीडि, गर्भवती हुँदा केटी समाजबाट निकालिन्छे तर त्यहि गर्भवती बनाउने केटा सम्मानजनक रुपमा हिड्न सक्छ, आफुले रोजेकी केटी विहेगरेर राम्रो जिन्दगी जिताएको उदहारण देखेका हाम्रो समाजका युवालाई कुनै महिलालाई या बालिकालाई बलात्कार गर्नु सामान्य जस्तै लाग्छ । हाम्रो सामाजिक परिवेशले महिलालाई होइन पुरुषलाई स्वीकारेको छ जसका कारण अहिले पनि कैयौ महिलाले लिंग पहिचान गरेर भ्रुण हत्या गर्न बाध्य छन् । सरकारले बनाएको कानूनको दायरामा पीडकले उभिनु परेको छैन उसलाई उसकै समाजले बचाएको छ, पीडितलाई दोषि बनाएर उसलाई अझ हिरो बनाएइदिएको छ हाम्रो समाजले । यहि कारण पनि विभिन्न प्रकारका घटना घटिरहेका छन् हाम्रो वरपर ।
केहि बर्ष अगाडि सम्म महिलामाथी हुने हिंसा बिरुद्धमा उजुरी गर्ने साहस थिएन र अहिले जस्तो महिलाका मुद्धालाइ हेरिदिने निकायहरु पनि थिएनन् । बलात्कार हुँदा अहिले पनि केटी मानिसको नै दोष देखाइन्छ, कहिले उसले गलाएको लुगा, कहिले उसले बोल्ने शैली आदि कुराको कारण बलात्कार भयो भन्छ हाम्रो समाजले ।
यति लेखिरहदाँ हाम्रो मानसिकतामा कुनै पनि परिवर्तन आएको छैन भन्ने हैन एकदमै परिवर्तन आएको छ । महिला शिक्षित बन्दै गइरहेका छन् । अधिकांश अभिभावकले छोरीलाई पनि पढाउनु पर्ने रहेछ भन्ने बुझ्न थालेका छन् भने छोरीलाइ अन्याय भयो भने बोल्नु पर्छ भन्ने पनि चेतना आउन थालेको छ । अहिले धेरै महिलाहरु सचेत भएका छन् । महिलाहरुले स्वयमंलाई अत्याचार सहेर बस्न हुँदैन भन्ने चेतना आएको छ । बलात्कारका या कुनै पनि घरेलु हिंसाको बारेमा बोल्न सकने भएका छन्, रिपोर्ट गर्न सक्ने भएका छन् भने यस्ता घटनाहरुको बारेमा बोलिदिने संघसंस्था तथा व्याक्तिहरु पनि छन् हाम्रो वरपर जसले गर्दा घटनाहरु दिनप्रतिदिन बाहिर निस्कने क्रम भने बढ्दै गएको छ । समाजिक सञ्जालको लोकप्रियताले अझ यस्ता घटनाहरुलाई छताछुल्ल रुपमा बाहिर ल्याएदिएको छ । हामी सञ्चारको पहुँचमा छौ त्यसैले हामी यस्ता घटना भएको देख्छौ हरेक दिन जसो कतै न कतै । तर यो पहिला पनि थियो फरक यति हो हामीसँग सामाजिक सञ्जाल फेसबुकको उपलब्धता थिएन्, सञ्चार माध्यमको सहज पहुँच थिएन र रिपोर्ट हुन्थेनन् यस्ता घटनाहरु कुनै पनि निकायमा । हामीलाई झट्ट सुन्दा कतै बढेको हो की भन्ने लाग्छ तर बढेको होइन बाहिर आएको हो । यसरी घटना बाहिर निस्कनुले अन्य महिलाहरुलाई पनि पीडित भएर बस्न हुँदैन आफुमाथी भएको हिंसालाई मैले बोल्नपर्छ भन्ने साहस जुटेको छ । यसकारण पनि दिन प्रतिदिन हामी यस्ता घटनाको बारेमा सुनिरहेका छौ ।
बलात्कार जस्तो जघन्य घटनाहुनमा परिवार र आमा बाबुको पनि दोष छ । हामी छोरीलाई सहन सिकाउँछौ भने छोरालाई तिमी छोरा मान्छे हो गल्ती गरेपनि केहि छैन छोराले गल्ती त गरिनै हाल्छ नि भनेर छुट दिन्छौ । समाजले केटा मान्छेको हरेक गल्तीलाई सहर्स स्वीकार्छ जसले गर्दा झनै प्रोत्साहन मिल्छ महिलामाथी हिंसात्मक व्यावहार गर्नलाई । संस्कार छोरीलाई सिकाउछौ तर छोरालाई कुनै पनि संस्कार सिकाउदैनौ त्यसलाई हाम्रो कर्तव्य पनि ठान्दैनौ । छोरी मान्छेको इज्जत गर्न हामीले घरबाट नै सिकाउनु पर्दछ । छोरालाई अनुशासित बनाउन आमाको र त्यस घरका सदस्यको ठूलो भूमिका हुन्छ । त्यसैले अबको समय भनेको छोरा र छोरीलाई बिना भेदभाव संस्कारयुक्त वातावरणको हो । ताकि हामीले घरबाट राम्रो वातावरण र संस्कार सिकाउन सफल भयौ भने उसले कुनैपनि युवती या महिलामाथी नराम्रो दृष्टि राख्न हुन्न भन्ने कुरा सिक्दछ र भविष्यमा महिला माथी हुने जघन्य अपराधहरु कम हुँदै जानेछन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest