बढ्दो उमेरमा सौन्दर्यता कायम राख्ने तरिका

Tuesday, December 24th, 2019

एउटा सुन्दर मानिस बन्नको लागि तन र मन दुवै सुन्दर हुनु जरुरी हुन्छ । जीवन अमूल्य छ, अतः यस्तो बहुमुल्य जीवनलाई सुन्दर बनाउन तन, मन, बचनले लाग्नु पर्दछ । एउटा साधारण मानिसको जीवन तव राम्रो हुन्छ जव उसको जीवनशैली असल हुन्छ । हाम्रो जीवनशैलीलाई जहिले पनि हामी उत्कृष्ट बनाउन हरसम्भव कोशिष गर्न जरुरी छ । जुन मानिसको जीवनशैली राम्रो हुन्छ उसको कुनै पनि कुरा नराम्रो हुदैन ।
विहान सवेरै उठ्नु र वेलुका छिटो सुत्नु स्वस्थ हुने धेरै विकल्प मध्ये एक हो । यसै गरि योग, ध्यान, व्यायाम गर्नु पनि उत्तिकै जरुरी हुन्छ । विहान कमसेकम एक घण्टा योग तथा ध्यान गरेमा हाम्रो शरीर उर्जावान हुन्छ, जति नै धेरै उमेर भए पनि जवान नै भएको महशुष हुन्छ । स्वस्थ रहन र सुन्दरताको लागि समेत योगको साथसाथै खानपिनको पनि उत्तिकै महत्व हुन्छ । मानिसको प्राकृतिक खाना भनेको शाकाहारी खाना, रेशादार खाना हो । मांशहारी खानाले विभिन्न किसिमको रोग निम्त्याउँछ, त्यसैले बढि मात्रामा शाकाहारी खाना खान प्रयास गर्नुपर्छ ।
महिलाहरुको सौन्दर्यतामा निखार एवं स्वस्थ रहन योग, ध्यान जति प्रभावकारी माध्यम अरु कुनै छैन । योगले तन मात्र नभएर मनको पनि शुद्धिकरण गर्ने हुनाले यसको फाइदा अनगिन्ति छन् । सम्पूर्ण शरीरको नसनाडी खुलाउन योग तथा ध्यान गर्नु आजका व्यस्त नारीको आवश्यकता हो । योगले हामीलाई जीवन जिउन सिकाउँछ, नवजीवन दिन्छ, त्यसैले यस्तो पवित्र कार्यमा लाग्नु जरुरी छ । हाम्रो शरीरलाई मसाजको पनि उत्तिकै आवश्यक पर्छ । मसाजले रक्तसंचार राम्रो तरिकाले गराउँदछ साथै रगत बाक्लो हुनबाट जोगाउँछ । हप्ताको एक पटक शरीरको मसाज गराउनु पर्छ, जसले गर्दा छालाले उपयुक्त स्याहार पाउँदछ, छालाको ग्लो बढाउँछ, छालामा चमक आउँछ ।
उमेर बढ्दै गए पछि छालाको कसिलोपन हराउँदै जान्छ । छालाको कान्ति कायम राख्न फेसियल गर्नु आवश्यक छ । मुहारको छालामा चाउरीपन बढि नै छ भने हरेक पन्ध्र पन्ध्र दिनमा फेसियल गर्नु पर्छ, सामान्य अवस्थामा भने महिनामा एक पटक फेसियल गर्नु पर्दछ । यी कुराहरुलाई जीवनमा लागू गर्यौ भने हामी सधैं जवान देखिन्छौ । अतः योग, ध्यान, मसाज र फेसियलबाट महिलाहरुको बढ्दै गएको उमेरलाई पनि सुन्दरताले निखार्न सकिन्छ, सुन्दर शरीर र स्वस्थ भएर हामी बाच्न सक्छौ, अरुलाई पनि भरपुर माया गर्न सक्छौ, सामाजिक र परोपकारी कार्यमा लागिरहन सक्छौ, सम्मानित जीवन जिउन सक्छौ ।
(लेखिका पतञ्जली योग समिति कि योग
प्रशिक्षक हुन् । )

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest