बर्दियाबाट ५ वैशाखमा भारत गएका दुई जनामा कोरोना पुष्टि

Sunday, April 26th, 2020

बर्दियाका एकजना कोरोना संक्रमित व्यक्ति भारतको क्वारेन्टाइनमा

 

काठमाडौं :बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरसँग भने, ‘अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी र सतर्कता अपनाएका छौं ।’

ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने बताउँछन् ।

त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताए ।उनले भने, ‘हामीले थाहा पाउनासाथ पीसीआर टेष्टका लागि पठायौं तर कसैमा पनि पोजेटिभ रिजल्ट आएको छैन ।’ उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ ।कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ ।

प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिटेन्डेन्टले हस्ताक्षर गरेको सो पत्रमा ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको र ८ गते स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उल्लेख छ । यद्यपि पत्रमा, र्‍यापिड टेस्टबाट हो कि पीसीआरबाट परीक्षण गरिएको हो भन्ने स्पष्ट उल्लेख छैन ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार कोरोना देखिएका दुई जना भारतीय नागरिकहरु वैशाख ५ गतेसम्म बर्दियामै रहेकाले बर्दिया जिल्ला जोखिममा छ ।यसैबीच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सिमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।त्यसपछि उनलाई भारतीय पक्षले नै नेपाल आउन नदिई क्वारेन्टाइनमा राखेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest