बलात्कारीलाई मृत्यु दण्डको माग

Friday, September 7th, 2018

पछिल्लो समय महिला तथा बालबालिकामाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटना बढेको भन्दै अन्तरपार्टी महिला संजाल नवलपुरले सरकारको ध्यानकर्षण गराएको छ । संजालले बिहीबार कावासोतीमा पत्रकार सम्मेलन गरेर अपराधका घटना न्यूनीकरण गर्न सरकार उदासिन भएको भन्दै ध्यानकर्षण गराएको हो ।  लामो संघर्षपछि आएको परिवर्तनले महिलाहरुलाई स्वतन्त्र पूर्वक बाँच्न पाउने हकअधिकार प्राप्त भएको भनिएपनि महिला र बालिकामाथि हुने यस्ता घटनाले उक्त अधिकारको प्रत्याभुती हुन नसकेको सञ्जालले बताएको छ ।

यस्तै बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीलाई कानून संशोधन गरेर मृत्यु दण्डको सजाय हुनुपर्ने संजालले माग गरेको छ । संजालकी अध्यक्ष अमृता सिग्देलले कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या र त्यसपछि उत्पन्न परिस्थितिले देशमा कानून नै नभएको अनुभव भएको बताइन् । उनले भनिन्, ‘ठूलाबडाले जे गरेपनि हुन्छ भन्ने आम नागरिकमा अहिले निराशा छाएकाले सरकारले घटनाका दोषीलाई पत्ता लगाई कडा कारबाही गर्नुपर्छ ।’

अहिलेको अवस्थामा महिला तथा बालिकाहरु समाजमा स्वतन्त्र पूर्वक हिँड्डुल गर्न सक्ने वातावरण समेत नभएको भन्दै अध्यक्ष सिग्देलले कहाँ कतिबेला के हुने हो भन्ने त्रासैत्रासमा बस्नुपर्ने अवस्था आएको बताइन् । यस्तै संजालले बिहीबार नै जिल्ला प्रशासन कार्यालय नवलपुरमार्फत महिला हिंसा, हत्या र बालिका बलात्कार जस्ता घटना न्यूनीकरण गर्न र दोषीलाई मृत्यु दण्डको सजाय कायम गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएको छ । महिला खबरबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest