बहिनीको विवाहका लागि पिताले लिएर्को साढे १३ लाखको सावाँब्याज ६ वर्षमा झन्डै दुई करोड

Monday, February 22nd, 2021


वीरगन्ज :पर्साको वीरगन्ज–१२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारीले ६ वर्षअघि छोरीको बिहेका लागि आदर्शनगरका मदनमोहन मित्रुकासँग १३ लाख ६० हजार रुपैयाँ ऋण लिएका थिए । वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ ।

२०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्धक गरिदिएका थिए । अन्सारीका अनुसार मित्रुकासँग १३ लाख ६० हजार ऋण लिएकोमा चलनचल्तीमा त्यसको दोब्बर २६ लाख रुपैयाँको दृष्टिबन्धक लिखत पारित गरिएको थियो । ऋण चुक्ताका लागि हरहिसाब माग्दा १३ लाख ६० हजारको ब्याज नजोडी ५१ लाख रुपैयाँको जोडिएको छ । ‘त्यही मितिमा मदनका भाइ मुरलीमनोहर मित्रुकाले झुक्याएर २५ लाख रुपैयाँको छुट्टै कपाली तमसुकसमेत गराएका रहेछन्,’ पूर्वप्रहरी निरीक्षकसमेत रहेका अन्सारीले भने, ‘मुरलीमनोहरसँग त एक रुपैयाँ पनि मैले लिएको थिइनँ । एउटै कर्जाबापतको दुइटा कागज गराएका हुन् ।’

बाध्यताको फाइदा उठाएर घरवारविहीन पार्न खोजेको उनको गुनासो छ । मित्रुका दाजुभाइले ठगेको भन्दै अन्सारीले गत माघ १८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दिएका थिए । गत साता प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मित्रुका दाजुभाइलाई छलफलका लागि बोलाएका थिए । ‘त्यो बेला दुवैले १३ लाख ६० हजार रुपैयाँ मात्र कर्जा दिएको स्वीकार गरेका थिए,’ अन्सारीले भने, ‘सीडीओ सापको अगाडि १३ लाख ६० हजार कर्जा स्वीकारे पनि बाहिर आएर पुरानै हिसाब माग्दै छन् ।’

मुरलीमनोहर मित्रुकाले कपाली तमसुकका आधारमा एमडी साहबुद्दिन अन्सारीविरुद्ध अदालतमा लेनदेन मुद्दासमेत दर्ता गराएका छन् । २५ लाख रुपैयाँको सावाँब्याज भराइपाउँ भनी २०७६ पुस २० मा पर्सा अदालतमा मुद्दा दर्ता गराएको अन्सारीले बताए । ‘बहिनीको विवाहका लागि बुबाले १३ लाख ६० हजार रुपैयाँ ऋण लिएको हामी सबैलाई थाहा छ,’ साहबुद्दिनका छोरा समीरले भने, ‘ऋणको हिसाब मिलान हुन नसकेपछि कतारबाट जागिर छाडेर घर फर्किनुपरेको छ ।’

उनका अनुसार हिसाब मिलाउन तीन पटक मित्रुका दाजुभाइको घर जाँदा पनि दृष्टिबन्धक कपाली तमसुक र ५१ लाख रुपैयाँको कागज देखाएर एक करोड ९० लाख रुपैयाँ हिसाब निकाल्दै आएका छन् । उनले भने, ‘यति त घरबार बेचेर पनि चुक्ता गर्न सक्दैनौं ।’ मित्रुका दाजुभाइले आफूजस्ता १० जनाभन्दा बढीलाई मिटर ब्याजमा ठगेको आरोप उनले लगाएका छन् ।

मुर्लीका नुरुल हक देवानले २०७१ सालमा मुरलीमनोहर मित्रुकासँग उनले दुई लाख ऋण लिएर ६ लाख रुपैयाँमा ७ धुर जमिन खरिद गरे । तर, दुई लाख रुपैयाँ ऋणको उनले ११ लाखको दृष्टिबन्धक गर्नुपरेको सुनाए । ‘जुन मितिमा लिखत पास गराए त्यही दिन मुरलीमनोहरलाई ११ लाख रुपैयाँको दृष्टिबन्धक गर्नुपर्‍यो,’ उनले भने, ‘आठ दिनपछि दुई लाखको कपाली तमसुक पनि गराए ।’

प्रजिअ तामाङले अन्सारीले उजुरी दिएपछि मित्रुका दाजुभाइलाई छलफलका लागि बोलाएको बताए । ‘एउटै मितिमा २५ लाख रुपैयाँको कपाली तमसुक र २६ लाख रुपैयाँको दृष्टिबन्धक गरिएको पाइएको छ,’ उनले भने, ‘चक्रवर्ती ब्याजका आधारमा करोडभन्दा बढी हिसाब पुर्‍याइएको छ । मित्रुका दाजुभाइलाई १० दिनको तारेख दिएका छौं, पीडितले न्याय पाउँछन् ।’

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest