बागमती प्रदेशमा पर्ने १३ जिल्लामा मानवअधिकार हननका १५ सय ७१ घटना

Thursday, January 16th, 2020

काठमाडौ : बागमती प्रदेशमा पर्ने १३ जिल्लामा एक वर्षको अवधिमा एक हजार पाँच सय ७१ वटा मानवअधिकार हनन र ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)बागमती प्रदेशले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म भएका मानवअधिकार हनन र ज्यादती सार्वजनिक गरेको हो । इन्सेक प्रतिवेदनमा उल्लेख भएअनुसार काठमाडौंमा सबैभन्दा बढी घटना भएका छन् । काठमाडौंमा एक वर्षको अवधिमा सात सय ३० वटा ज्यादतीका घटना भएको उल्लेख छ ।

ललितपुरमा एक सय ३०, चितवनमा एक सय सात, काभ्रेमा एक सय तीन, सिन्धुलीमा एक सय, सिन्धुपाल्चोकमा ८१ मानवअधिकार हननका घटना भएका छन् । यस्तै, भक्तपुरमा ६०, धादिङमा ४१, रसुवामा १४, रामेछापमा ३०, दोलखामा २९, मकवानपुरमा ४८ र नुवाकोटमा ६५ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीसम्बन्धी रहेको तथ्यांकमा उल्लेख छ ।

मेलमिलापलाई प्राथमिकता
प्रारम्भिक तथ्यांकअनुसार बागमती प्रदेशमा भएका घटनामध्ये बहुविवाह, आत्महत्या दुरुत्साहन, बाल यौन दुव्र्यवहार, बालिका बलात्कार, महिला बेचबिखन प्रयास, महिला बलात्कार, गिरफ्तार, सम्पत्ति क्षतिरआगजनी, हत्या तथा हत्या प्रयास, परिवारजनबाट हत्याजस्ता घटना बढी देखिएको छ । परिवारजनका सदस्यबाट भएका हिंसाको कानुनी उपचारका लागि पीडितले पहल नगर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्ता घटनामा कानुनी उपचारभन्दा मेलमिलापलाई प्राथमिकता दिने गरेको पाइएको इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले बताए ।

मकवानपुरमा यस्तो छ अवस्था
मकवानपुरमा सन् २०१९ मा भएका मानवअधिकार उल्लंघन र ज्यादतीको अवस्था बढ्दो रहेको छ । इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्लामा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाबाट सन् २०१९ मा २६ बालिका, १९ महिला र चार पुरुष गरी ४९ जना पीडित भएका छन् । सन् २०१८ मा १८ महिला र एक पुरुष गरी १९ जना पीडित भएको मकवानपुरमा २०१९ मा दुई महिला र एक पुरुषको हत्या भएको छ । जिल्लामा सन् २०१७ मा २२ महिला र तीन पुरुष गरी २५ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

घरेलु हिंसाका दुई सय ९३ उजुरी
२०१९ मा मकवानपुरमा दुई सय ९३ वटा घरेलु हिंसा भएका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दुई सय ९३ उजुरी दर्ता भएको पाइएको इन्सेकले जनाएको छ । जसमा दुई सय ४७ मिलापत्र भइसकेको छ भने ४६ वटा उजुरी कानुनी प्रक्रियामा रहेको इन्सेक प्रतिनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार बहुविवाहका २४ वटा उजुरीमध्ये १० मिलापत्र र १४ वटा अदालती प्रक्रियामा छन् । सन् २०१९ मा महिलाविरुद्ध हुने हिंसाका घटना गत वर्षको तुलनामा वृद्धि भएको इन्सेकको दाबी छ । यस वर्ष १५ जना महिला पीडित भए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest