बालबालिकालाई कोरोनाको संक्रमणबाट कसरी जोगाउने

Sunday, March 22nd, 2020

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसबाट सबै व्यक्ति जोखिममा रहेका छन् ती मध्ये कम उमेरका बालबालिकाहरु बढि जोखिममा रहने गर्दछन्, किनकी बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता वयश्क व्यक्तिमा भन्दा कम हुने गर्दछ, त्यसो त हाल सम्मको अवस्था हेर्दा कोरोनाको संक्रमणबाट मृत्यु भएका बालबालिकाको संख्या नगन्य रहेको छ । अहिले सम्मको तथ्यांक हेर्दा नौ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुमा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको र कुनै मृत्यु नभएको तथ्यांक छ ।
बालबालिकाको कोरोना संक्रमणका लक्षणहरु :
कोरोना संक्रमणको लक्षण बालबालिका र वयष्क तथा अन्य व्यक्तिलाई जस्तै हुने गर्दछ, रुघाखोकी लाग्नु, नाक बन्द हुनु, नाकबाट पातलो तरल पदार्थ बगिरहनु, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने आदि कोरोना संक्रमणका लक्षण हुन सक्छन्, तर मौसमजन्य रुघाखोकीमा पनि यिनै लक्षणहरु हुने भएकोले कोरोनाको संक्रमण हो वा होइन भनेर पत्ता लगाउन भने विभिन्न परीक्षणको आवश्यकता पर्दछ, मौसमजन्य रुघाखोकीमा भने डराउनु पर्दैन, जुन सामान्य उपचारबाट पनि निको हुन सक्दछ, यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकको सिफारिस विना बालबालिकालाई एन्टिवायोटिक औषधी दिनु हुदैन ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ, यसर्थ कोरोना संक्रमण भएको व्यक्तिले एक मिटर भन्दा नजिकबाट खोकेमा, हाच्छ्यु गरेमा, नाक तथा मुखबाट आउने कणहरु जसलाई ड्रोपलेट भनिन्छ जसबाट कोरोना सार्ने सम्भावना प्रवल रहन्छ । ती ‍¥याल, सिंगान, खोकीबाट आएका कण, कुर्सी, बेन्च, डेस्क, गाडीको सिट, ढोकाको ह्यान्डिल, मुख पुछ्ने रुमाल, प्रयोग गर्ने अन्य कपडा आदिमा बस्न सक्छन्, ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन् । खासै हावामा बाच्न नसक्ने हुँदा एरोसोलबाट संक्रमण हुदैन भनिन्छ ।

बालवालिकालाई संक्रमणबाट कसरी जोगाउने

-बालबालिकालाई भीडभाडमा नलैजाने,

घरमा नै पकाएका खानेकुरा खान दिने,

रुघाखोकी लागेका परिवारका सदस्य बालबालिकाको नजिक नजाने,

रुघाखोकी लागेका अन्य व्यक्तिबाट बालबालिकालाई टाढै राख्ने,

घर बाहिर जान परेको खण्डमा गुणस्तरीय मास्क लगाएर मात्र लैजाने

बालबालिकाको हात सधैं सफा राख्न ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न दिने

खाना खानु अगाडी अनिवार्य सावुनपानीले हात धुन लगाउने,

इन्फ्लुएन्जाको खोप लगाउने, यसले पनि कोरोना लागयत रुघा लगाउने भाइरसहरुको संक्रमण वा जटिलताहरु घटाउन सक्छ ।
सरसफाईमा ध्यान दिने,

विद्यालयमा खाजा खादा शेयर गरेर नखाने, आफूले लगेको मात्र आफ्नै चम्चा र प्लेटमा खाने,

रुघाखोकीले संक्रमित भएको साथी संग नबस्ने, नखेल्ने ।

फुटपाथमा बेच्ने पानीपुरी, चना चट्पटे, खुल्ला ठाउँमा राखेका अन्य कुनै पनि खाद्य पदार्थ नखाने,

घरपालुवा जनावरहरु कुकुर, विरालो, खरायो तथा काग, परेवा, हाँस, कुखुरा, सुगा जस्ता पंक्षीहरुको सम्पर्कबाट टाढा रहने, मासु राम्ररी पकाएको मात्र सेवन गर्ने, काचो मासु वा जनावरहरुको मासु असुरक्षित तरिकाले नचलाउने ।
कुनै पनि स्वास्थ्य समस्या देखिएमा विशेषज्ञ चिकित्सकको परामर्श लिने । विशेष गरि चर्को ज्वरो, स्वास फेर्न गाह्रो वा स्वास प्रश्वासको समस्या छिटो देखिनु जटिलताको चिन्ह हुन सक्छ ।
साना बालबालिकाहरु विशेष गरि वाहिरी वातावरणमा घुमफिर नगर्ने तथा खानपिनमा अभिभावकले नै विशेष ध्यान दिने गर्दछन्, जसले गर्दा पनि बालबालिकामा कोरोना संक्रमण अन्य व्यक्तिको तुलनामा कम हुने गर्दछ, अझै पक्का त भन्न सकिन्न तर बालबालिकामा कम कोरोनाको संक्रमण वा जटिलता हुने कारणमा बालबालिकामा क्यान्सर, मधुमेह, मुटुरोग, दम लगायतका दीर्घ रोग कम हुने, कोरोनाले दीर्घ रोगीहरुलाई चाडै र बढि संक्रमण गर्ने भएकोले पनि बालबालिका कोरोनाको जोखिमबाट केहि टाढा रहेको मान्न सकिन्छ । यति हुँदाहुदै बालबालिकाहरुलाई पनि अन्य विभिन्न कारणले कोरोना भाइरसले संक्रमण हुने सम्भावना भने रहि रहने भएकोले विशेष गरि अभिभावकले यसतर्फ विशेष सावधानी अपाउनु पर्दछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest