बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

Sunday, June 14th, 2020

हरिराम पौडेल

काठमाडौं जेठ ३२ गते । रक्तदान नै जीवनदान हो । रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । बन्दाबन्दीको यो अवस्थामा रगतको चरम अभाव भएको छ । उपत्यकाका अधिकांश ब्लड बैंकमा सबै समुहको रगत अभाव छ । यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसुति लगायतका आपतकालीन उपचार चाहिने विरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शैयामा छटपटाइरहेका छन् । आज विश्व रक्तदाता दिवस पनि हो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रगतको आवश्यकतालाई परिपुर्ति गर्ने र क्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।


विश्व रक्तदाता दिवसको अवसरमा आज काठमाडौंमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृति फाण्डेशनको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा ५३ जनाले स्वतःस्फुर्त रुपमा रक्तदान गरेका छन् । गिरिजाप्रसाद कोइराला फाण्डेशन, युवा तथा खेलकुद समिति, शुभारम्भ युवा क्लव, साइन्टोलोजी भोलेन्टियर मिनिष्टरको सहयोगमा सम्पन्न उक्त वृहत रक्तदान कार्यक्रममा लिस्नर्स क्लव नेपालका अध्यक्ष जनक चन्द,  सागर पौडेल, मिर्मिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाह, विजयचोक युवा क्लवका अध्यक्ष सुधिर नेपाल, साइन्टोलोजी भोलेन्टियर मिनिष्टरका अध्यक्ष विनोद शर्मा लगायत सेवामा खटिएका प्रहरी, स्थानीय महिला तथा पुरुषको उपस्थिति थियो भने रेडियो सिटी एफ.एम. ९८.८ सुनेर तथा सामाजिक संजालबाट थाहा पाएर केहि किलोमिटर टाढाका रक्तदाता समेत रक्तदानको लागी आएका कृति फाउण्डेशनका अध्यक्ष तथा वृहत रक्तदान कार्यक्रमका संयोजक गुणराज प्याकुरेलले बताए ।

७० जना रक्तदाताले आफ्नो नाम दर्ता गराएकोमा केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न सकेनन्, विगत लामो समय देखि विभिन्न सन्दर्भमा हुने रक्तदान कार्यक्रममा दुई शय पिन्ट रगत संकलन हुने गरेकोमा वर्षातको कारण रक्तदान गर्न घरबाट निस्केका रक्तदाता समेत रक्तदान स्थलमा आउन सकेनन्, लकडाउनको कारणले सार्वजनिक सवारी साधन नचलेको, जोरविजोर सवारी संचालनको कारणले टाढाका रक्तदाताहरु रक्तदान गर्न आउन नसकेको कारणले यस पटक संख्याका केहि कमि भएको उनले बताए ।


काठमाडौंको मुलपानी देखि रक्तदानको लागी भिमसेनगोला आइपुगेका लिस्नर्स क्लव नेपालका अध्यक्ष जनक चन्दले आजको दिन १० औं पटक रक्तदान गर्न पाएकोमा खुसी व्यक्त गरे, रक्तदान गर्न पाउनु अवसर हो, स्वास्थ्य, उमेर आदि विभिन्न परिस्थितिले साथ दिए मात्र रक्तदान गर्न पाइने भन्दै विगतका वर्षहरुमा क्लवले विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना गरि मनाउदै आएकोमा यस पटक बन्दाबन्दीको कारणले क्लवले यस्ता कार्यक्रम गर्न नसके पनि आँफू भने रक्तदान गर्न आएको सन्दर्भ सहित यस दिवसले नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँने बताए ।


नवनारी मिडिया, रेडियो सिटी एफ.एम. ९८.८, रोजगारमञ्च डट.कमको संचार सहकार्य रहेको उक्त वृहत रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest