जानुका ढकाल
बिश्वभरी महिला दिवस मनाइरहदा कैलालीमा भने राधा चौधरी बोक्सिको आरेपमा ६ घण्टा सम्म मुड्की र लात्तिले पिटिइन्, बिक्षप्त बनिन् । गाउँलै पुरै रमिते बनेर उनीमाथीको अत्यचार हेरिरहे बिना कुनै रोकतोक । त्यस समाजमा पढेलेखेका बुद्धिमानी भनाउँदाहरु नभएका पनि होइनन् लज्जा त त्यहाँ छ उनीहरु पनि मुकदर्शक भएर बसे, तालि पिटे धामीले राधालाई पिटिरहदा । गाउँका बुद्धिजिविहरुले पनि यो हिंसालाई सपोर्ट गरिदिए । आधा भन्दा बढी गाउँका मानिसले झार्की धामीकै सपोर्टमा बोल्नुले यहाँ चेतना तल्लो स्तरमा भएको देखिन्छ । एकजना महिला महिलाबाट पनि पिटिइन र पुरुषबाट पनि । यहाँ ती महिला महिला भएर पुरुषबाट पिटाइ खाएकी होइनन् महिला भएकोमा समाजबाट नै पीटिएकी हुन् वास्तवमा । यसले अन्तराष्ट्रिय रुपमा नेपालको शिर झुकाएको छ । जब सम्म यस्ता कुरीतिहरु समाजमा बिद्यमान रहन्छन् महिलाले सम्मानजनक रुपमा बाच्न पाउने कल्पना पनि नगर्दा हुन्छ । ६ घण्टा सम्म लगातार एउटी महिला पिटिदा सबै मुकदर्शक हुनु भनेको पीट्नेलाई सपोर्ट गर्नु हो उसलाई उर्जा थपिदिनु हो त्यहाँ पनि त्यहि काम भयो । अहिले धामी रामबहादुर चौधरी र पार्वती भनिएकी किस्मति चौधरीलाइ प्रहरीले पक्रिए पनि कस्तो कारवाहि गर्छ यो भने हेर्न बाँकी नै छ । धामीलाई पक्रेर मात्र यस्ता घटनाहरु कम हुदैनन् जब सम्म यस्ता अन्धविश्वासलाई जरैबाट फाल्न सकिदैन । समाजको यस्तो अन्धविश्वास लाई कसरी परिवर्तन गर्न संभव छ राज्यले त्यसमा ध्यान दिन आवश्यक छ । गैरसरकारी संस्थाहरु जो सम्बन्धित क्षेत्रमा यति काम ग¥यौ यति परिवर्तन ल्यायौ भन्छन् तर अब वास्तवमा कसरी काम गर्ने भन्ने सोच्ने बेला आएको छ, पाँचतारे होटेलमा होइन फिल्डमा उत्रेर काम गर्न आवश्यक छ । कैलालीको घोडाघोडीका मेयर ममताप्रसाद चौधरी स्वयमं रमिते बन्नु कहाँ सम्मको जायज हो ? आफ्नो क्षेत्रकी एउटी युवती पिटिन्छे अनि त्यसमा आफु साक्षि बनेर पीडकलाई छुटाउन पुग्छन् उनी राज्यका एक प्रतिनिधि पात्र हुन् यहाँ उनको गैर जिम्वेवारीपन प्रस्ट देखिने मात्र होइन उनी स्वयमंले त्यो घटनालाई सपोर्ट गरे । उनी संगै वडा अध्यक्ष प्रेम रोकाय र उनलाई छोडिदिने निमित्त प्रमुद दिनेश बिष्ट यी सबै अपराधि हुन् । राधा त एक प्रतिनिधि पात्र हुन उनी जस्ता थुपै महिला यसरी बोक्सीको आरोपमा पिटिन्छन, मारिन्छन्, दिशा खुवाइन्छन र बसेका ठाउँबाट निकाला गरिन्छन् अझैपनि । जसो गरेपनि पिडित हुने महिला नै देखिएको छ । अहिले सम्म बोक्सो भनेर पिटिएको सायदै होला तर महिला भने हरेक समय पीडित भइरहेका छन् । जब सम्म धामी र धामीका कुरामा विश्वास गर्ने समाजको दृष्टिमा परिवर्तन हुँदैन तबसम्म बोक्सि बनिरहन्छन् त्यो समाजका कैयौ महिला । पिटिन्छन् मारिन्छन् र रमिते बन्छ समाज । जब सम्म ममता प्रसाद चौधरी जस्ता मेयर रहन्छन् तब सम्म यस्ता घटनाले संरक्षण पाइनै रहन्छन् । यो एक व्याक्ति या एक संस्थाले मात्रै परिवर्तन गर्न सक्ने कुरा होइन यसको लागि सरकारी निकाय, गैर सरकारी संघ संस्था र प्रत्येक व्याक्तिको पहल हुन आवश्यक छ ।