भन्दिनु सन्तेलाइ …

Thursday, November 14th, 2019

 

 

 

 

 

 

 

 

 

ओए मिठे !
तँ त त्यहि गाउँमै होलास्
सन्तेलाइ कतै भेटिस् भने भन्दिनु कि
मुटुको लाल(पुर्जा बुझाइसकेकी छ रे रितुले
राजिनामा दिन मात्र बाँकि छ रे
उस्लाइ विश्वास लाग्दैन भने बचनको
बैनाको तमसुक बनाएर जा रे
ल्याप्चे लाइदिन्छे रे
आँखा चिम्म गरेर
साक्षी त बस्देलास नि तँ हैन मिठे ?

देखेकै होस् तैले पनि
रितुको मनभरि सन्तेले अँधिया गरेको
हिउँदको खडेरीमा सिँचाईं गरेको
चैतको टन्टलापुर घाममा मकै छरेको
अनि बदलामा
एक मुरी आस र तीन पाथी भरोसा भाग बाँडेको
अनि नबिर्सि भन्दिनु कि सन्तेलाइ
अब फिर्ता चाहिएन रे अँधिया
त्यो बैना कागज च्यातिदिओस रे
बाँचुन्जेल गरि खाओस रे
सिर्फ त्यो मलिलो छातिको पाटो
बिर्सेर सम्झनाको झरी
बाँझो नपल्टोस रे ।

तर
सुन् मिठे,
यो कुरा सन्तेलाइ नभनेस्
मेरी आमालाइ पनि नभनेस्
बिर्सेर नि नभनेस्
लाहुरेको जाली मायाँ
सन्तेको जाली रुमाल भन्दा ठूलो देखें
सन्तेको पसिनाको गन्ध भन्दा
लाहुरेको अत्तरको बास्ना मीठो ठानें
कहाँ सक्नु अक्षर नचिनेकी मैले
मायाका अनेक रंग छुट्टाउन
विवशता कति सजिलै बिक्दो रहेछ गाउँमा
मनभरि सन्तेले लगाएका ल्याप्चेहरु छोपिनेगरि
कहाँ( कहाँ ल्याप्चे लगायो लाहुरेले ।

सुटबुट रअत्तरले तानिएर
कसरी छुटायो होला त्यो प्रीतको डोरी?
झिसमिसेमा देउराली कट्दा मन कटक्क नभएको नि हैन
सुनौली बोर्डर कट्तै गर्दा छाति चसक्क नभएको नि हैन
यस्तै रैछ मिठे
ठुलो मोबाइल बोक्ने रहर
आमाको एउटा बुलाकी लाउने रहर
बाले धितो राखेको घरको लाल(पुर्जा फिर्ता गर्ने रहर
सहरका सुगन्धित सपना हेर्ने रहर
के थाहा यत्ति जाबो रहर किन्दा जिन्दगी नै बेचिन्छ भन्ने

के भन्नु मिठे,
मलाई किस्सा( किस्सामा जोखियो
हिस्सा(हिस्साको मोलतोल भयो
एक चिम्टी सिन्दूरले किनिएकी म
लाखौँमा बेचिएँ
मेरो कुमारित्वको कारोबार
मेरो यौवनको रकम
मेरो शरिरको सरगम
मेरो सुन्दरताको सौदा
लिलाम बडाबड भयो मुम्बई सहरमा ।

यस्तै रैछ मिठे,
पैसाले प्रेमलाइ फिक्का बनाउँदो रैछ
अभावले जीवनलाइ दिक्क बनाउँदो रैछ
छि( छि दूर(दूर नगर्दो हो त मेरै आँगनले
मेरो मैलो छोप्दो हो त मेरो आँचलले
पखालिदिंदो हो त यो सिन्दूरको नाता दरौंदीको पानीले
फर्कि आउँथे फेरि
त्यहि बाँझो खेत खन्न
सन्तेका हल गोरू पछ्याउँदै
मकै र गहुँ छर्न ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest