भूतपूर्व प्रेमिका

Thursday, August 9th, 2018

 
भूतपूर्व प्रेमिका पात्र होइन, प्रवृत्ति हो । ऊ प्रेमिकामात्र होइन, प्रेमी पनि हो ।
ऊसँग मेरो प्रेम भयो । भयो भन्नुको मतलब योजनावद्ध प्रेम गरेको होइन, आफैं भयो ।
ओहो ! कति मिठो थियो त्यो प्रेम । यतिबेला त्यो मिठासको मात्र अनुभूति गर्न सक्छु, वर्णन गर्ने शब्द नै छैन मसँग तर त्यो मिठास धेरै दिन टिकेन ।
उ र म बीचको प्रेममा डिमाण्डको प्रवेश भयो । प्रेमको मैदानमा मस्तसँग पौडी खेलेर सितलता लिँदा लिँदै उ मसँग विभिन्न डिमाण्ड गर्न थाली । सुरुमा उसका डिमाण्ड सानातिना थिए, जो मेरो वशमा थिए, पूरा गरेँ । पछि उसका डिमान्ड बढ्दै गए । मेरो आर्थिक हैसियतले धान्न नसक्ने भयो ।
एकदिन उसले भनी “मलाई एउटा राम्रो फ्ल्याट किनिदेउ न । फ्ल्याट किनेर बस्ने मेरो जीवनको धोको हो ।” तर उसलाई फ्ल्याट किनिदिने मेरो सामथ्र्य थिएन । मात्र प्रेम गर्ने सामथ्र्य थियो । फ्ल्याट किनदिन नसक्ने मलाई उसले प्रेममासमेत असामथ्र्य ठानी ।
एकदिन उसले भनी“तिमी मेरा लागि यति एउटा फ्ल्याटको डिमाण्ड त पूरा गर्न सक्दैनौ भने तिमी मलाई के प्रेम गर्छौ ?”
प्रेम नगरेको होइन, म तिम्रो लागि असंभव आकाशका तारा खसाल्छु त भन्दिन तर संभव हुने ज्यान दिन सक्छु–मैले तर्क गरेँ ।
“तिम्रो ज्यान मलाई के काम ? खान मिल्दैन । फ्ल्याट भए बस्न मिल्छ ।” उसले भनी ।
“तिमीलाई फ्ल्याट नै चाहिने भए केही वर्ष धैर्य गर । कमाएर केही वर्षमा अवश्य किनौंला ।” मैले भनेँ ।
“केही वर्षमा ? क्या गज्जब कुरा गर्छौ हगी तिमी । आफ्ना इच्छा आकांक्षालाई उधारोमा राखेर पनि प्रेम गरिन्छ ? केही वर्ष त अहिले पनि बितिसके तिमीलाई मैले र मैले तिमीलाई प्रेम गरेको होइन र ? अब त कति पर्खने ? धन्न तिमीसँग बिहे चाहिँ गरिहालिएनछ र बचेँ ।” उसले भनी ।
“बचेँ भन्नुको मतलब ?” मैले जिज्ञासा राखेँ ।
“मतलब, स्पष्ट छ । तिमीसँग अब मेरो रिलेसन नो मोर । अब अगाडि जाँदैन, तिम्रो मेरो सम्बन्ध,बुझ्यौ ।” उसले रिसाउँदै भनी ।
“आवेगमा आएर त्यसो नभन, म तिम्रो इच्छा बिस्तारै पूरा गर्छु ……” आदि इत्यादि भन्दै म उसलाई फकाउँदै थिएँ । उसले उग्ररुप धारण गरी । नारी महाकालीको रुप हुन् भन्ने त सुनेको थिएँ । आज भने मैले प्रत्यक्ष महाकाली देखेँ ।
फ्ल्याट किनिदिन नसकेकेको बहानामा ऊ मेरो जिन्दगीबाट गई । केही वर्षको अन्तरालमा सुनेँ, मलाई छोडेर हिँडेपछि उसले फ्ल्याट किनिदिन मञ्जुर गर्ने अर्को एक जनासँग प्रेम गरिछ । केही वर्ष फ्ल्याटवालासँग बसेपछि उसले फ्ल्याटवालासँग कारको अफर गरी । त्यसले पनि भनेकै दिन कारको अफर पूरा गर्न सकेन । अनि त्यही बहानामा आफ्नो नाममा भएको फ्ल्याट बेचेर पैसा पोको पारिछे र त्यसलाई पनि बिचल्लीमा पारेर हिँडिछे ।
………………………………
जिन्दगीमा मोडहरु फरक फरक आउँछन् । सोचे जस्तो नभएपछि कहिलेकाहिँ जिन्दगीले पनि अर्कै मोड लिन्छ । उसले मलाई छोडेर हिँडेपछि म एक्लो, फगत एक्लो महशुस गर्न थालेँ । मलाई विवाह गर्न मन लागेन, किन कि मेरो आत्मिक विवाह ऊसँग भइसकेको थियो ।
जसो गरे पनि आखिर जिन्दगी बाँच्नुपर्दोरहेछ । जिन्दगीलाई सहज बनाउन म अध्ययन अध्यापन क्षेत्रमा लागेँ । युनिभर्सिटीमा मनोविज्ञानको अध्यापक भएर काम गर्न थालेँ । अध्यापनबाट बचेको समय नयाँ नयाँ कुराको खोजीमा लगाउँथे । रिसर्चमा बढी समय दिन थालेकोले होला युनिभर्सिटीमा सहकर्मी तथा विद्यार्थी मलाई नामलेभन्दा पनि रिसर्चर सर भनेर बोलाउने गर्थे । रिसर्चबाट पनि केही समय बाँकी निस्केमा प्रवचन सुन्थेँ ।
युनिभर्सिटीमा गुरुहरुको आँखा छल्ने मौका पाउनासाथ केटाकेटीहरु प्रेमको अँगालोमा बाँधिएको देख्थेँ । सुरु सुरुमा त त्यो दृश्यले मेरो दिमागमा उसँग प्रेम गरेका दिनको याद आउँथ्यो । पछिल्ला दिनमा भने उसँग बिताएका ती दिनलाई सकेसम्म बिर्सने प्रयास गर्थेँ तर जति नै बिर्सन खोजे पनि उसलाई मैले बिर्सन सकेको थिइनँ । हरेक दिन उ मेरो दिमागमा सम्झना बनेर आउँथी । उ भौतिकरुपमा जति टाढा गए पनि आत्मिकरुपमा मेरै मनको मन्दिरमा थिइ । किन कि उ मेरी प्रेमिकामात्र थिइन, साँच्चै प्रेम पनि थिइ ।
…………………
प्रेममा उतार चढाव भोगेकाले पनि होला, मलाई प्रेम विषयक सामग्रीको अध्ययनमा धेरै रुची थियो । मेरो रिसर्चको एउटा विषय प्रेम र घृणा पनि थियो । कोही मान्छे किन एउटा समय कोहीलाई अति प्रेम गर्छ र अर्को सयम त्यही मान्छेसँग किन अति घृणा गर्न पुग्छ भन्ने मेरो रिसर्चले फाइण्डिङ निकाल्नु थियो । प्रेम कसरी हुन्छ भन्दा पनि प्रेममा घृणा कसरी हुन्छ भन्ने कुरामा म बढी खोजी गर्न चाहन्थेँ । म घृणाको पात्र भएर पनि हो कि मलाई प्रेममा घृणाको विषयले बढी तानिरहेको थियो । कुनै दिनको प्रेम विषयक सत्यको पूजारी म आज घृणा विषयक सत्यको अन्वेषक बनेको थिएँ ।
त्यसो त प्रेमको वैज्ञानिक, मनोवैज्ञानिक र समाजिक पक्ष पनि मेरो रिसर्चको पार्ट थियो । प्रेम मानव जातिको विकास र अस्तित्वसित सम्बन्धित छ भन्ने सामाजिक कुरा पनि मैले थाहा पाइसकेको थिएँ । मानिसहरुमा प्रेम हुनुको प्रमुख कारण ‘एण्डार्फिन’ नामक हर्मोन हो, कुनै मानिस प्रेममा पर्दा वास्तविक जादु उसको मुटुमा होइन, उसको दिमागमा देखिन्छ र प्रेमले कोकेनले जस्तै ‘प्लेजर सेन्टर’ नामक खुसीको महशुससँग सम्बन्धित हाम्रो दिमागको एउटा भागलाई सक्रिय बनाइदिन्छ, त्यसैकारण स–सानो कुराले पनि प्रेममा परेको मान्छे खुसी हुन्छ भन्ने केही विज्ञानका तथ्य पनि मैले संकलन गरेको थिएँ । विज्ञानको आँखाले हेर्दा त प्रेम नशा र कुलत बाहेक केही होइन कि भने झैँ पनि लाग्थ्यो । वास्तवमा प्रेम के हो ? खाएपछि लाग्ने केही समयपछि छोड्ने नसापछिको भ्रम नै हो त प्रेम ? या समाजले भने झैँ मानव जीवनको सबैभन्दा साश्वत सत्य ? यस्ता प्रश्न मेरो रिसर्चमा बग्रेल्ती थिए ।
प्रेममा दूर्घटना हुने हो कि दूर्घटना भएर प्रेम पर्ने हो ? यो विषयले पनि मेरो रिसर्चलाई खुब चाखलाग्दो बनाएकोे थियो । प्रेम र अध्यात्म पनि मेरो अध्ययनमा त्यत्तिकै तानिँदै थियो । एउटा रिसर्चरका रुपमा म प्रेम विशेषज्ञ भनौँ लभ एक्सपर्टतर्फ उन्मुख हुँदै थिएँ तर प्रेम पढ्ने विषय त होइन, यो त अनुभूति पो हो त भन्ने विषयले पनि मलाई घच्घच्याइरहन्थ्यो । अनि कतै म ढुंगालाई गाई सम्झेर दूध दुहुने प्रयास त गरिरहेको छैन भन्ने कुराले पनि यदाकदा सताउँथ्यो ।
…………………
शहरमा केही दिनदेखि हल्ला चल्दै थियो– प्रेमको साश्वत मूल्य र जीवन विषयमा प्रवचन हुँदैछ । माता प्रेमेश्वरीले प्रवचन दिँदै हुुनुहुन्छ । प्रेम र जीवन विषयमा उहाँको दर्शनले विश्वमा नै चर्चा पाइरहेको छ । विश्वभर प्रेमको महत्ता दर्साउँदै हिँड्ने प्रेमेश्वरी माताको दर्शन गर्नसमेत कति गाह्रो छ । प्रेममा देखा परेका हरेक जटिलताको समाधान उहाँसँग छन् । धेरै मान्छेहरु उहाँको दर्शनले मात्र पनि आफ्नो प्रेम सफल हुने ठान्छन् ।
म पनि प्रेममा असफल भएको मान्छे । प्रवचनको विषयले मलाई तानिरहेको थियो तर उहाँको दर्शन गरेर प्रेम सफल पार्ने मोह चाहिँ ममा थिएन । किन कि मेरी प्रेमिका मलाई छोडेर गएको नै झण्डै दुई दशक बितिसकेको थियो । यद्यपी माता प्रेमेश्वरीको प्रवचनले मेरो प्रेम र घृणा विषयक अनुसन्धानलाई सहयोग पुग्ने देखेर मैले पनि माता प्रेमेश्वरीको प्रवचन सुन्न आफ्नो नाम टिपाएँ ।
………………….
प्रवचन हुने दिन म दर्शक दीर्घाको सबैभन्दा अगाडिपट्टि गएर बसेँ । अरुसँग माता प्रेमेश्वरीका प्रवचन सुन्ने कान मात्र थिए, मसँग माताका प्रवचनका सार टिप्ने कापी कलमसमेत थिए । प्रेमेश्वरी माताको प्रवचनपछि प्रश्नोत्तर सेसन पनि राखिएको थियो । मातासँग प्रेम विषयक केही प्रश्न राखेर जिज्ञासा मेट्न र आफ्नो रिसर्चलाई थप बलियो बनाउने हेतुले मैले केही प्रश्न पनि बनाएको थिएँ ।
प्रवचन कक्षको दर्शकदीर्घा भरिएपछि गेरु वस्त्रमा सजिएकी कपाल जुरो बाँधेकी, चन्दनको लामो टीका लगाएकी माता प्रेमेश्वरी मञ्चमा उपस्थित हुनुभयो । सबैले उठेर अभिवादन ग¥यौँ ।
प्रवचन सुरु भयो । माता प्रेमेश्वरीले प्रेमको शास्वत मूल्य मान्यता र मानव जीवनका बारेमा प्रवचन दिँदै भन्नुभयो“जीवनमा सबै कुरा छोडेर जे बाँकी रहन्छ, त्यो नै प्रेम हो । यसको अर्थ जसको अन्त्य छैन, त्यो नै प्रेम हो । प्रेम संसारका लागि सबै कुरा हो । दृृष्टिविहीनका लागि प्रेम आँखा हो, खुट्टा नहुनेका लागि खुट्टा हो प्रेम, दुःखीका लागि बाँच्ने आधार हो प्रेम । प्रेमजीवन मात्र होइन जीवनदर्शन हो । प्रेम आत्मा हो, प्रेम तपस्या हो, प्रेम हृदयको कोमल अनुभूति हो । प्रेम आत्माबाट आउने भावना हो । संसारको कुनै पनि विषयभन्दा प्रेम माथि हुन्छ । जब मानिससँग केही हुन्न, तर उसँग प्रेम छ भने उ सबैभन्दा संसारको धनी हो । त्यसैले त भनेको नि प्रेम नै सबथोक हो । त्यसैले प्रेम गर्नुस्, तर प्रेममा कहिल्यै धोका नदिनुस् । कहिल्यै घृणा नगर्नुस् । किन कि धोका र घृणा प्रेममा बर्जित छ । त्यसैले धोका नदिनु र घृणा नगर्नु नै शास्वत प्रेम हो ।”
माताको कुराले म अत्यन्त प्रभावित भएँ ।
प्रश्नोत्तर सेसनमा मैले मातासँग प्रश्न राखेँ–“प्रेममा घृणा बर्जित छ तर फेरि किन प्रेम घृणामा परिणत हुन्छ त माता ?”
“जब प्रेमलाई वस्तुसँग तुलना गरिन्छ, तब प्रेम घृणामा परिणत हुन्छ ।” माताले भन्नुभो ।
“प्रेममा विछोड किन हुन्छ माता ?” पुनः अर्को प्रश्न गरेँ ।
“घृणाबाट नै बिछोड हुन्छ ।” माताले भन्नुभो । तर माताले भन्नु मात्र भएन, मेरो मनको कुरा भन्नुभो । उहाँको विद्वतामा म झनै नतमस्तक भएँ ।
प्रवचन सकियो ।
औपचारिक कार्यक्रम सकेर माता मञ्चबाट बहिरिनु भो । माता आफ्ना भक्तहरुलाई असाध्यै माया गर्नुहुन्छ । प्रवचनपछि आप्mना भक्तसँग बसेर खाना खानुहुन्छ र खाना खाने बेलामा पनि प्रेम र जीवनका बारेमा अनौपचारिक जिज्ञासा राख्न सकिन्छ भन्ने जानकारी आयोजकबाट पहिले नै गराइएको थियो । मातेश्वरीबाट ज्ञान लिने त्यो मौका पनि म चुकाउनेवाला थिइनँ । खाना खाने लङमा म मातालाई पर्खिरहेको थिएँ ।
खाना खाने ठाउँमा माता अनौपचारिक पोशाकमा आउन लाग्नुभो । मैले परैबाट मातालाई देखेँ । उहाँको शरिरबाट गेरुवस्त्र हटेको थियो । निधारमा चन्दन थिएन । घाँटीमा रुद्राक्ष पनि थिएन । जुरो बाँधेको कपाल पनि खोलिएको थियो । मातेश्वरी जतिजति मेरो नजिक नजिक आउँदै हुनुहुन्थ्यो, उतिउति मलाई अघि मञ्चमा देखेभन्दा फरक अनुहार लाग्दै थियो । जब मैले अनौपचारिक भेषमा मेरो नजिकै माता प्रेमेश्वरीलाई देखेँ, तब म छाँगाबाट खसे जस्तो भएँ, किन कि माता प्रेमेश्वरी अरु कोही नभएर मेरी भूतपूर्व प्रेमिका थिइ । जसले मलाई फ्ल्याट किनिदिन नसकेको झोकमा छोडेर हिँडेकी थिइ ।
कतै म सपनामा त होइन ? आफैँले आफैँलाई चिमोटेँ । होइन, म विपनामै रहेँछु । उ मेरी भूतपूर्व प्रेमिका नै थिइ । लीला थियो उसको नाम, अर्थात् प्रेमको लीला । जसले दुनियाँलाई भ्रममा पारेर जीवनभर प्रेमलीला मच्चाइ । उमेर भएसम्म प्रेमिकाका रुपमा नवयुवालाई प्रेम गर्दै छोड्दै गरेर प्रेम लीला मच्चाइ । उमेर ढल्कँदै गएपछि आज प्रेमेश्वरी माताको रुपमा भेष बदलेर प्रवचनमा अरुलाई भ्रम छर्दै अगाडि पछाडि अनुयायी जम्मा गरेर प्रेमलीला मच्चाउँदै छे । लीला अनन्त छ । भविष्यमा पनि प्रेममाथिको भ्रमलीला चलिरहने छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest