भोगाई

Tuesday, December 11th, 2018

 
कसरी सहन्छ मान्छे ‘हे भगवान मलाई यो कठिन परिस्थितिबाट पार लगाउ । न त म उनीसँग’ जान सक्छु न त उ विना बाँच्न नै । यी छमछम गर्ने चुरा कसरी फुटाउँ, अनि अनि शीरमा रंगिएको सिन्दूर पखालुँ कसरी । गलाको पोते छामेँ, एकछिन त गलामै थियो । त्यसपछि होस् हवास भएन । नाई नाई भन्दै म कराएँ । सपनाबाट विउँझे झै गरेर । हातका नारी छामे, अनि मेरा ती बाटिएका कपाल भिजेर निथ्रुक्क फिजारिएको, पागल झै यता न उता छरिएर बसेको थियो कपाल । घाँटीमा किलकिले लागेझै भएको थियो बोल्न नसकेर । आफ्ना गला छामे, खै अघिको मेरो पोते ? म चिच्याएँ । सब एकटकले हेरिरहेका थिए, लाग्छ ठूलो नाटक प्रदर्शन छ झै गरेर । चीर अपरिचित वल्ला पल्ला गाउँका सबैतिरका किन नाटक हेर्न आए यी सब । दुई घण्टासम्म कसरी बिते पलहरू । कति प्रदर्शित भए नाटकहरू केही पत्तो पाइनँ । उसको नजिकै गएँ, उठनोस् न, हेर्नाेस् त मेरो सिन्दूर खै, चूरा खै, अनि खै मेरो गलाको पोते, विजयको बाबा, म एकछिन के निदाएको थिएँ सबै खोसेर लगे यी राक्षसहरूले । मागि दिनोस् न, कसले लग्यो, ती तपाईले दिएका अमूल्य गहना । हेर्नू त म त उठँे, अब तपाईं पनि उठ्नुस् । उता विजय हेर्नुस् त, हिजोमात्र तपाईंसँग पचास रूपैयाँ मागेर मेहेन्दी लगाउँछु भन्दै थियो होइन ? अनि ती रंगिएका कपाल ठूटै बनाउँदैछन् । छोरो पनि रोइरहेको छ, खेदाउनुस् यी सब रमितेलाई, अनि खोसिदिनुस् मेरा गहना, भनिदिनुस् विजयको कपाल नकाट भनेर । बोल्दा बोल्दै स्वर भासियो ।
म अब उनीसँग रम्न थालेँ । बाल्यकालदेखि उनीसँग नभेटिएकासम्मका पलहरू अनि सम्बन्ध गाँसिएका क्षणहरू । घरमा पहिलो सन्तानका रूपमा ग्रहण गरेका थिए मेरा बाबुआमाले मलाई । जताततै हर्षाेउल्लास मनाइरहेका थिए, लाग्छ महान चाड त त्यही हो । हरेक दिन हरेक साँझ दशैं र दीपावली झिलमिलाइरहेको र घन्किरहेको थियो, मीठामीठा गीत । विकट गाउँ क्यासेट हाम्रैमा थियोे, हाम्रो क्यासेट खोला पारिसम्म गुञ्जायमान हुँदा साथमा साथ थियो वरिपरि गाउँको दीपावली मनाउन । बिस्तारै अरू सन्तान थपिदै गएपछि जीवनको जिम्मेवारी भाइबहिनी प्रति र घरायसी कामप्रति ढल्किँदै गएको थियो । दुइ,चार अक्षर त नजिकैको गाउँको स्कूलबाट चिन्ने मौका पाए तर विस्तारै ठूलो कक्षामा पढ्न ती दूधे भाइ बहिनी र बुढा बाबुआमालाई छाडेर जान पाइनँ सदरमुकामसम्म । सदरमूकाममै बसेर पढ्ने हैसियत पनि त थिएन । अब भाइबहिनीको जिम्मेवारी हामी बाबु आमा र ममा आएको थियो । कहिले पाँच पाथी कोदो, कहिले मकै बोकेर दिनभरको बाटो शुक्रबारे हटिया हामी चार–पाँच जना संगीनी हटिया भर्न जान्थ्यौं । यसरी नै बित्दै गएका पलले उमेर पनि बढाउँदै लगि उसको घरमा भित्र्याएको थियो । हो त्यही बेलादेखि अहिलेसम्म सम्पूर्ण जीवन र जिम्मेवारी उनैमा सुम्पेको थिए ।
उनमामात्र सीमित थिएन जिम्मेवारी । माइतीघरबाट जेठो सन्तानका रूपमा ग्रहण गरेका बाबुआमाले मलाई उनलाई पनि यहाँ जेठै सन्तानका रूपमा ग्रहण गरेका थिए, उस्तै भुगोल थियो यहाँ पनि, मेरो झै कहानी थियो उनको पनि । त्यसैले पनि होला दैवले जुराएको हामीलाई मनमन एक पार्न अनि शरिर पनि । जहाँ गएपनि जिम्मेवारीले छोडेन मलाई । न त उनलाई नै छोड्यो । सासु ससुराको ढल्कँदो उमेर, अनि उता देवर नन्दको बढ्दो, लाग्थ्यो त्यो ढल्कदो र बढ्दो उमेर हाम्रै हो, अर्थात् हामी दुइको । फेरि पनि उही कथान्त भोग्नुपर्याे, यहाँ आएर मैले, त्यही उकाली ओराली धाउनुपर्याे जिम्मेवारी पूरा गर्न । विस्तारै थप अर्को जिम्मेवारी थपियो काँधमा, नयाँ सन्तानका रूपमा छोरा । हरेक कुराको दुइ पक्ष नै हुने । ठूलो पछि सानो, जेठोपछि कान्छो । के गर्ने उसले पनि ? जेठो नै सन्तानका रूपमा नयाँ पारिवारिक सदस्यको स्थान पायो । यो भोगाई उसले कहिल्यै भोग्नु नपरोस् । मेरो र उनको सपना पूरा गर्ने जिम्मेवारी अब त्यही सदस्यको काँधमा थियो । मैले र उनले आफ्नो घर दह्रो बनाउन सकेनौं । “मलाई पक्का विश्वास छ विजयको बाबा, उ हाम्रो सुनौलो बिहानी हो,, उनी पनि त्यो आगनीमा विजय साँच्चिकै विजयको उत्सव मनाइ नाँचिरहेको थियो दीपावलीमा । अघाउने गरी सपना देखेर म विउझे ँ। मान्छेको झन्झन्, आगमन, के उत्सब थियो त्यहाँ, म टोेलाएँ । मेरा आँखा निकै सुन्निएका थिए । सायद उनीसँग विजय मेरो र उनको सँगै सँगै दीपावलीमा रम्दारम्दै अनिँदो भएर होला ।
उनलाई यताउती हेरेँ, नदेखेपछि सबै भीड उछिनेर हिँडे । मानिसहरू रमिते बनेर मतिर हेरिरहेका थिए, खासखुस गर्दै । धेरै नै खोजेँ उनलाई, जब बाहिर आएँ, त्यो उत्सव थिएन, त्यो अघिको दीपावली पनि थिएन, सबको मुहार मलिन थियो । उता उनी तुलसाको मोठमा पो सुतेका । एकपटक त मलाई विधुवा बनाएकै हुन् काँधको जिम्मेबारी काँधमा काँध थुप्रिएर होला, त्यत्ति ठूलो भारी सहन नसकेर एक्कासी भुँइमा लडे उठने गरी हो या होइन । आखिर किन यो दैवले म माथिमात्रै कुदृष्टी राख्छ, किन दिन्छ यत्ति ठूलो दुःखको भारी धान्न नसकेरै होला उनी उठेनन् , जताततै अन्धकार छायो । नजिकै कही अस्पताल थिएन, भएको एउटा स्वास्थ्य चौकीले काठमाडौं रिफर ग¥यो । बाँच्ने र बँचाउने आश थिएन, घरका सबै भेला भएका थिए, हरेकले मेरो सिउँदोमा नजर लाउँदै रंगिएको सिउँदोमा मलिन अनुहार पारिरहेका । घरतिर मात्रै होइन, माइती पक्ष नै सबै भेला भएका थिए । डाक्टरको यताउता मलिन र हतासिएको चहलपहल सबैले नियालिरहेका थिए । हेर्दा हेर्दै मेरा आँखामा कालो बादलले छोपी वर्षका भेल बगाए । भेलले ठूलाठूला पहिरो ल्याइ सम्मिएको माटो एकै छिनमा भिरालो बनाइदियो, जसबाट न चढ्न सकिन्थ्यो, न झर्ननै । जीवन भने पहिरोबीचमा अड्कि नै रह्यो फेरि क
ित्तबेला अर्काे वर्षाको भेल आइ बगाएर लाने हो, पत्तै नपाउने गरी । डाक्टरले मलिन अनुहार लिँदै भने,“भित्रको बिरामी को हो, कोठा नं १५ वेड नं ४ को,, यस्तो लाग्यो अन्धकार बादलले छोपी वर्षा हुनै लाग्यो, जसलाई कुनै ठूलो दैवीशक्तिबाहेक अरूले रोक्ने आँटै गर्दैन । खुट्टा थर्थर काँपे, भुँइको माटो फाटेर खुट्टा भासिए
थर्थर काँपे, भुँईको माटो फाटेर खुट्टा भासिए झैँ भयो, ओठ थर्थर काँपे, बोल्न केही सकिनँ । नत कसैले बोल्ने आँट नै ग¥यो, त्यो बिरामी मेरो हो भन्ने कसैमा साहस थिएन । साहस बटुलेर मैले भनेँ,“म…….,, स्वर भासियो, उसको कुरा सुन्न पाइनँ, पछि अस्पतालकै वेडमा “विजयको बाबा“ जुरूक्क उठे, हातमा लगाइएको स्लाईन रहेछ, सबै खुस्कियो । मलाई जवर्जस्ती तानेर सोही वेडमा ल्याइयो, आराम गर्न भनियो । विस्तारै ३, ४ दिनको आरामपछि मन बुझाउँदै आएँ, अनि साहस बटुलेर सोधेँ, खै विजयको बाबा ? कुनै चिन्ता लिनुपर्दैन, लामो प्रयासपछि उनी फर्किएका छन् तर….तर तर के, उनमा लिभरको समस्या छ, साथमा रक्तचाप उच्च,जुन समाधान हामीमा छैन, दुवैको औषधी अलिकति तलमाथि नगरी खुवाएमा औषधिको वलमा अझ बाँच्ने आश छ, अनि उनमा कुनै पनि जिम्मेवारी नदिनुहोला,आजै दुबैको डिस्चार्ज गर्दैछौं, केही समस्या पर्नासाथ तुरुन्तै आउनुपर्नेछ । जिम्मेवारी अब सब एउटामात्र काँधमा आयो, अरू बाटो खोज्दै कोठा लिइ बस्न थाल्यौं ।
आज रातभर निद आएन, यताउति छटपटी गलेको ज्यानले पनि खै किन आराम पाएन । बिहानीपख उठेर उनी भन्दै थिए, ज्यानलाई सन्चो भएको अनुभूत
धैरैदिन पछि भयो भनेर । फेरि औषधी खान विर्सेलान् भनि औषधि दिए । अस्तिमात्रै चेक गरेर डाक्टरले औषधि दिएका, त्यही औषधीले राम्रो काम गरेर नै होला आजको अनुहार उसको साह्रै उज्यालो छ । आज त उनी काममा पनि पो जाने भन्दैछन्, अरूबेला पनि सन्चो हुँदा कहिलेकाँही नजानु भन्दा भन्दै घरायसी दुःख देखेर होला आज जाने भएका । “दिउँसोको औषधी खान विर्सेला भनी उनको गोजीमा राखिदिइ घरधन्दामा लागि एकछिन पछि म पनि आफ्नो काममा लागेँ, बाटोमा उनले फोन गरे उठाउँदा अपरिचित आवाज, तपाईंको आफन्तलाई गाह्रो अनुभव भयौ, तुरून्त आउनुस् न । औषधि खानेवेला यस्तै हुन्छ, उहाँको गोजीमा औषधी छ खान भन्नुस् न । त्यसको केही समयपछि फोन आयो “हैन, हैन एकपटक हजुर आउनु रे । फोन दिनुस् त,हेलो हजुरलाइ के भयो, तुरून्त आउन गाह्रोे भो, हत्तासिदै पुगेँ, के भयो ? पेट अति दुख्यो, हतासमा एम्बुलेन्स बोलाई चढायौं, उनी सोही वेला बेहोस भए । पाटन अस्पताल पुगि घरतिर बिरामीको खवर सुनाए, सुनाउँदा सुनाउँदै सबै आफन्त बोलाउनुस्, छोराछोरी बोलाउनुस्को आवाज आयो, अरू के भयो, थाहै नपाई यहाँ आएँ ।
किन यहाँ सुत्नुभएको विजयको बाबा ? हेर्नु त , सबैले हेरिरहेका छन्,उठनुस् न उठ्नु । मुख छोपेर निदाएका उनी निकै पटक बोलाउँदा पनि अहँ उठ्दै उठेनन् । हरियो बाँसमाथि त्यो पनि बिझाउने ओछ्यान । कसले लगाइदियो तपाईलाई यो ओछ्यान ? यहाँ कसले सुताइदियो, किन सुत्नुभको, तपाईँलाई यो ओछ्यानले बिझाउँछ उठ्नु न उठ्नु । सब एकएक हेरिरहेका थिए, कसैले सघाउने काम गरेनन्, उठाउन म एक्लैले वल गरी गरी उहाँलाई भित्र ओछ्यानमा लगेर सुताउन भनी उठाएर बोक्न प्रयास गरेँ, त्यत्तिन्जेल पनि कोही आएन सघाउन । बरू उल्टै मलाई तेसो गर्न दिएनन् ती पापीहरूले । छोरो कहाँ गयो, पत्तै पाइनँ । विजय आउन त आयो तर बाबुलाई उठाउन होइन, बाबुलाई सुताएको ओछ्यानै उठाउन । खौरिएको कपालमा सेतो फेरो लगाई आएको थियो । मेरा लुगा पनि लछार पछार गरी सबै खोली दिइ अर्काे लगाई मलाई घिसार्दै लगे । त्यत्ति गर्दा पनि उनी उठेनन् । कसैले सहयोग गरेनन्, कसैले बँचाएनन्, मलाई मनभरी उनकै दृष्य छाइरह्यो । पूजाको उत्सवमा वज्ने शंख अब त्यहाँ बज्न पुग्यो ।“नाई नाईं उनलाई बोक्नुपर्दैन उनी आफंै हिँडिहाल्छन् नि, म सँगसँगै,, मेरा हात खुट्टा लल्याकलुलुक भए । गिट्टीमा खाली खुट्टा हिँडाए, अनि उनीलाई चै सुताएर । सँगसँगै सुख दुःख खेप्ने भनी बाचा गरेका हामी तर मलाई यसरी खाली खुट्टा हिडाउँदा नि उनी उठेनन् ।
अब त पशुपति नजिकै आइरहेको थियो । विवाहको पहिलो वर्ष रंगिन साडीमा दर्शन गर्न आएकी थिए उनीसँग तर पशुपतिको दर्शन गर्ने बाटो नलगेर खै कता हो, खोलैखोला लगेर ठूलो दाउराको बनाएर फेरी खाटमाथि सुताए । अब झन् कति घोचो उसलाई त्यो दाउराले । खोलाछेउ नसुताओ, लड्नुभो भने बग्नुहुन्छ, अनि कसले बचाउँछ, उहाँलाई पौडी खेल्न पनि आउँदैन । “फेरिनी उहाँलाई उठाउन तम्सिएँ तर उल्टै मलाई जवर्जस्ती नै घिसारे त्यहाँबाट । अब त दुइतिर शंख बज्न थालेको थियो, एउटा मन्दिर, एउटा यता तर धुन अलग्गै विल्कुल फरक । उता चम्किला मुहार लिइ पूजा गर्दै, यता मलिन फूलमाला र अविर दुवैतिर थियो चढाउन । उता चम्किला मुहार लिइ यता मलिन । उता अग्निमा चरू बलिरहेको थिया,े यता पनि उनलाई चरू बनाएर बाल्नै लाग्दा मैले अग्नि खोसेँ । हात पोल्दा त उ फुफु गर्ने अनि तर्सेर भाग्ने कसरी सहलान त्यो अग्नि । “भो उनी चरू होइनन्, बरू त्यहाँबाट निकाल म होम गर्ने चरू ल्याइदिन्छु । सरासर मन्दिर जानै लाग्दा जवर्जस्ती रोेके । उता विजय धोती लगाए अग्नी लिइ उभिएको थियो आफ्नै बाबुलाई चरू बनाएर । कसरी हेरूँ यो दृष्य । मेरा आँखा झन्झन् अँध्यारोले छोपियो, उता अग्नीको ज्वालाले वरिपरि चम्काई त रह्यो तर यता मेरा आँखामा झनझन अन्धकार छाउँदै थियो ।
त्यसपछि के के भयो भयो उठेर हेर्दा केहिले पानी छम्किरहेका थिए मलाई, उता अग्निको दहनमा जलिरहेका उनी त्यत्रो खोलामा पानी हुँदा पनि कसैले त्यो अग्नि निभाउन आँट गरेनन् । अब मनै सकी नसकी अंजुलीमा पानी भर्दै निभाईरहेँ तर आगो त अहिले कोइला भई खरानी भइसकेको थियो तर उनी त्यहाँ थिएनन् । नत त्यहाँबाट उठेर पानीमा हाम्फाले कि आगोले पोलेर । यताउति हेरेँ, यत्रो पानीमा यत्तिबेलासम्म कहाँ बगायो । “उ उ विजयको बाबा,, म दगुर्दै ओरालो लागेँ तर त्यहाँ ठूलो काठको दाउरो पो रहेछ । खै उनी कहाँ गए मलाई छोडेर, आज वर्षांै बितिसक्यो उनी आएनन् । खाँदा बोलाएँ, सुत्दा कति कुरे, कति बिते अनिँदा रातहरू उनलाई कुरेर तर उनी आउँदै आएनन् । एकछिन टुप्लुक्क आइ सपनामा सुटुक्क भागेछन्, केही बोल्नै नपाई । कुरिरहेछु विजयको बाबा छिट्टै भेट्न आउनु है ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest