भ्रमण वर्षको शुभारम्भ दशरथ रङ्गशालाबाट हुने राष्ट्रपति भण्डारीद्वारा उद्घाटन, प्रधानमन्त्री ओलीद्धारा विशेष सम्बोधन

Wednesday, January 1st, 2020


काठमाण्डौ :सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात आजदेखि हुँदैछ ।काठमाण्डौको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने सरकारको तयारी छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नेछीन भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन।समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ(संस्थाले परेड गर्नेछन् ।

आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०१९ मा १२ लाख पर्यटक भित्र्याएको नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन भने चुनौती देखिएको विश्लेषकले बताएका छन् ।

यसैबीच नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका विदेशी पाहुना काठमाण्डौ आइसकेका छन् । समारोहमा सहभागी हुन भारत, चीनसहित विभिन्न देशका पर्यटन मन्त्री तथा विशिष्ट पाहुना काठमाण्डौ आइपुगेका हुन् ।भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एसियाली, मध्य(पूर्वी, युरोपलगायत देशका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि नेपाल आइसकेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest