महाकालीमा बगेकी महिलाको सेनाको हेलिकप्टरले उद्धार उपचारका लागी कोहलपुर लगियो

Sunday, April 26th, 2020

काठमाडौं :महाकाली नदीमा बगिरहेकी एक जना महिलालाई प्रहरीले आइतबार उद्धार गरेको छ । करिब ३० वर्षीया सपना ऐतवाललाई प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फे भन्ने स्थानबाट उद्धार गरेको हो ।दार्चुलाका प्रहरी प्रमुख दीपेन्द्र शाहीले भने, ‘महाकाली नदीमा बगेर आइरहेको अवस्थामा आइतबार बिहान ६ बजेको समयमा एक जना महिलाको उद्धार गरेका छौं । उनी माथिदेखि बग्दै आइरहेकी थिइन् । हाम्रो टोलीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्‍याएको हो ।
शाहीका अनुसार उनी व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु घर भई हाल जिल्ला सदमुकाम खलंगा तिंकरखेडास्थित माइतीघरमा बस्दै आएकी थिइन् ।
उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि अस्पताल पुर्‍याएको शाहीले बताए । महाकाली नदीमा उनी कसरी बगिन् भन्नेबारे खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए ।

जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालका अनुसार उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उपचारका लागि कोहलपुर पठाइएको उनले बताए ।
डाक्टरको सल्लाहअनुसार नै ती महिलाको थप उपचारका लागि हेलिकप्टबाट कोहलपुर मेडिकल लैजान व्यवस्था मिलाइएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपती श्यामराजा बिक्रम थापाले जानकारी दिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरले सपनालाई बिहान ११ बजेतिर कोहलपुर लगेको उनले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest