महिलाका समस्यालाई पुरुषले र पुरुषका समस्यालाई महिलाले पनि बुझ्न जरुरी छ

Sunday, December 24th, 2017

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भर्खरैमात्र सकिएको छ । विभिन्न संघ संस्था, समूहहरु उत्साहजनकरुपमा अभियानमा जुटेका थिए । खासगरी यस्ता कार्यक्रमहरु राजधानीमा बढी देखिएको थियो । त्यसो त राजधानी बाहिर पनि छिटपुटरुपमा कार्यक्रम भएका थिए । समाचारमा ग्रामीण क्षेत्रका महिला बढी हिंसापीडित रहेको सुनिँदै आएको छ तर यस्ता घटनाबिरुद्धमा आवाज भने शहरी क्षेत्रमा मात्रै उठ्ने गरेको पाइन्छ । यो १६ दिनमा थुप्रै बजेट खर्च भएको छ । सरकारदेखि अन्तराष्र्टि«य राष्ट्रिय गैरसरकारी संस्थाहरुले दिवस मनाउनका लागि धेरै लगानी गरेका छन् तर यो शहरमूखी अभियान कत्तिको प्रभावकारी भयो त भन्ने बारेमा खासै ध्यान गएको देखिँदैन । महिलाको अधिकार र स्वतन्त्रता के हो भन्ने नबुझेका महिला, जसले हिंसा सहनु महिलाको धर्म हो, जे जस्तो अवस्थामा पनि सहेर बस्नुपर्छ भन्ने सोच भएका र रामायणमा सीतालाई पढेर सीतालाई आइडल नारी मान्ने, स्वस्थानीमा गोमा ब्राह्मणीको कथा पढेर आफूलाई त्यहीरुपमा ढाल्न खोज्ने सोझा महिला, जसले श्रीमान्लाई भगवान मान्छन्, श्रीमान्ले जे गरे पनि सहनुपर्छ भन्ने मान्यता राख्छन्, भाग्यमा नै अन्धभक्त भएर विश्वास गर्छन्, उनीहरुले यो अभियानबाट के बुझे त ? हिंसालाई चलि आएको संस्कारका रुपमा स्वीकार गर्ने महिलाका लागि यो अभियानले के योगदान पु¥यायो ? यसबारेमा कसैको ध्यान दिए जस्तो लाग्दैन । यसवर्ष पनि शहरका विशेषगरी पढेलेखेका महिलामा उत्साह देखियो । जो महिला आत्मनिर्भर छन्, सक्षम छन् र पुरुष बराबरी भएर अघि बढेका छन्, यो १६ दिने अभियान उनीहरुका लागिमात्रै भएजस्तो देखियो । अधिकांश स्थानमा महिला सहभागिता देखियो तर लैंगिक हिंसाका घटनामा पुरुषद्वारा महिलालाई गरिने हिंसाका घटनाहरु बढी मात्रामा छन् । महिला हिंसाबिरुद्धको कार्यक्रममा या जेन्डर स्टडिजमा महिलाको मात्रै सहभागिता देखिन्छ । महिलाका विषयमा महिलालेमात्रै बुझेर कत्तिको परिवर्तन सम्भव छ ? सोचनीय छ । महिलाले त आफ्ना समस्या बुझेकै छन्, समस्या भोगेकै छन् तर पीडकले यसबारेमा जानकारी नपाउने हो भने सदियांैसम्म महिला हिंसा कम हुन्छ भन्न सक्ने अवस्था रहँदैन । महिलाका समस्यालाई पुरुषले र पुरुषका समस्यालाई महिलाले पनि बुझ्न जरुरी छ, अनिमात्र संभव छ, समानता र बराबरिका कुरा । महिला र पुरुषबीचको भिन्नता यही समाजले निर्माण गरेको हो, त्यसैले पनि समाजका हरेक व्यक्तिले महिलाका समस्याबारेमा बुझ्न आवश्यक छ, समस्या बुझेर महिलालाई साथ दिन आवश्यक छ । यसको सुरुवात दिवस मनाएरमात्रै होइन, हरेक आमा बुबाले आफ्नो घरमा छोरा र छोरीलाई समान शिक्षा, संस्कार र एक अर्कालाई इज्जत गर्न सिकाएर मात्रै संभव छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest