महिलाको सफलतामा बाधक महिला

Monday, March 19th, 2018

-जानुका ढकाल

हुनत समयसापेक्ष हरेक कुरा परिवर्तन हुँदै गएको छ। वास्तवमा परिवर्तनका लागि समय लाग्छ । इतिहास पल्टाएर हेर्ने हो भने आजको यो युगसम्म आइपुग्दा महिलाले धेरै उपलब्धिहरु हासिल गरेका छन् । यसका लागि महिलाले धेरै संर्घष गर्नुपरेको इतिहास छ । घरपरिवार त्यागेर पनि महिलाले अधिकारका लागि लडाइ लडे, धेरै कुरा सहे तर त्यो संघर्षमा कयौं पुरुषले पनि महिलालाई साथ दिएको कुरालाई वेवास्ता गर्नु न्यायोचित हुँदैन । केही पुरुषले महिलाका आन्दोलनमा अग्रणी भूमिका निभाएकै हुन्। फलस्वरुप हाम्रा जिजु आमा, हजुरआमा र आमाहरु भन्दा हामी निकै स्वतन्त्र छौं र अधिकार सम्पन्न छौं, शिक्षित र समृद्ध पनि छांै । उहाँहरुले जुन पीडा भोग्नुभयो, त्यसको हामी कल्पनासम्म त गर्न सकौंला तर महशुस गर्न भने हामी सक्दैनांै र महशुस गर्न पनि पाउने छैनौं। यसलाई सकारात्मकरुपमा लिनुपर्छ । उहाँहरुको समय र आज हाम्रो समयलाई तुलना गर्ने हो भने यो परिवर्तनलाई ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ । तर यसो भनिरहँदा अझै पनि विद्यमान रहेको दाइजो प्रथा, छाउ प्रथा, जुन जुन ठाउँमा छ, त्यहाँका महिलाको जीवन अवश्य पनि सहज छैन । कतिपय ठाउँमा यो कुप्रथा प्रत्यक्षरुपमा देखिएका छन् भने कतिपय ठाउँमा अप्रत्यक्षरुपमा । यस्ता ठाउँमा न महिला अधिकारकर्मी पुगेका छन्, न त सरकारी योजनाहरुले नै काम गरेका छन् । यहाँ जनचेतनाका कार्यक्रम गर्न पनि ठूलै चुनौती छ। पुरुषमात्र दोषी छैनन्, महिलासमेत यी कुरीतीबाट बाहिर आउन चाहिरहेको अवस्था छैन । जबसम्म महिला आफैंले चाहँदैनन्, तबसम्म परिवर्तन सम्भव हुँदैन ।
हामीहरु नारी दिवस हर्सोल्लासका साथ मनाउछांै तर हामी नारी नै नारीप्रतिको सोचलाई परिवर्तन गर्न, आफ्नो हीतको लागि लड्न कहीँ न कहीँ चुकिरहेका छौं । वुहारी भित्र्याउँदा दाइजो चाँहिदैन भन्ने आँट सासुमा छैन, छाउ हुँदा कोठाभित्र पस्दिनँ या गोठमा बस्दिन भन्ने साहस महिलामा छैन, जो जसले परिवर्तन चाहे धेरै अप्ठ्याराका बाबजूद पनि परिवर्तन भएकै छ । यहाँ सहज त केही पनि छैन, यो त झन् समाजको सोच परिवर्तन गर्ने कुरा हो । यसको मतलव पुरुषबाट महिला पीडित छैनन् भन्ने होइन तर सवै पुरुषलाई एउटै घानमा हालेर महिलामात्रै पानीमाथिको ओभानो बन्न पनि मिल्दैन । हो, पुरुषबाट महिला धेरै पीडित छन् भने पुरुषबाटै साथ सपोर्ट पनि पाएका छन् । सकारात्मक र नकारात्मक दुवै कुरालाई आजका शिक्षित जमातले हेर्न आवश्यक छ । पुरुषबाटमात्र होइन, घरमा महिला महिलाबाट नै पीडित छन् भने कार्यस्थलमा पनि खुट्टा तान्ने पहिलो लाइनमा महिला नै देखापर्छन् । घरमा छोरीलाई संस्कार सिकाउने महिलाले छोरालाई संस्कारविहीन हुन सिकाइरहेका छन् । छोरालाई समाजलेमात्र छाडा हुन छुट दिएको छैन, कम्तिमा एउटी महिला आमा त छोरा र छोरीलाई समान गरेर उदाहरण बन्न सक्छिन् तर त्यो सोच हामी महिलामा आइरहेको छैन । जसरी महिलाको साथले पुरुष अगाडि बढेका छन्, त्यसरी नै पुरुषको साथले महिला पनि अगाडि बढेका छन् । संसार चलेको महिला या पुरुषमध्ये कोही एकको कारणले होइन, दुवैको साथ र सहयोगले हो । जसरी महिलाबिनाको संसार सम्भव छैन, त्यसरी नै पुरुषविना पनि । जबसम्म एक महिलाले अर्की महिलाको सम्मान गर्न सक्दैनन्, तबसम्म पुरुषलाई मात्रै दोष दिनुको कुनै औचित्य देखिँदैन । यहाँ पुरुषद्वारा महिला हिंसा भएको छैन भन्न खोजिएको होइन, प्रसस्तै छन् यस्ता घटना तर यसविरुद्ध लड्न पनि महिला एकजुट हुन आवश्यक छ । अहिले पनि महिलाको सफलतामा महिला बाधक बन्दै आएका छन् । एउटी महिलाको सफलतामा जवसम्म अर्को महिलाले गर्व गर्न सक्दैनन्, तबसम्म महिला पछाडि पर्नुको दोष पुरुषलाईमात्र होइन, महिलालाई पनि जान्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest