महिला र पुरुषसँगै हिड्नुपर्छ भवानी राणा

Friday, March 2nd, 2018

भवानी राणा
(अध्यक्ष उद्योग वाणिज्य महासंघ)
भवानी राणा उद्योग वाणिज्य महासंघकी पहिलो महिला अध्यक्ष हुन् । मनमोहन मिश्र र शोभा मिश्रकी कान्छी छोरीका रुपमा २०२६ सालमा उनको जन्म भएको हो । उनी सम्पन्न परिवारकी छोरी हुन् । आफ््नो पारिवारिक वातावरण राजनीतिक भएपनि उनलाई सानैदेखि व्यवसायमा रुची थियो । त्यसो त उनले यही गर्छु भनेर लक्ष्य कहिल्यै बनाइनन् तर केही न केही उपलब्धीपूर्ण काम गर्नुपर्छ भन्ने लाग्थ्यो । सेन्टमेरिज स्कूलबाट विद्यालयस्तरको अध्ययन पूरा गरेकी उनले स्कूले जीवनमा नै धेरै कुराहरु सिक्ने अवसर पाइन् । उनका बुबा अञ्चलाधीस थिए, जसका कारण उनले विभिन्न जिल्ला भ्रमणमा जाने मौका पाइन् । बुबाको सामाजिक र विकासका कामलाई नजिकबाट नियाल्ने मौका पाइन् ।
भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्यायन गरेकी उनले भारतमै एक बर्षको फेसन डिजाइनिङ्सम्बन्धि तालिमसमेत लिएकी थिइन् । व्यावसायमा उनलाई केही गर्न सक्छु भन्ने लाग्यो तर उनको परिवार व्यावसायमा नभएकोले व्यावसायमा आफूलाई स्थापित गराउनका लागि निकै चुनौती व्यहोनुप¥यो ।
पर्यटन व्यावसायी असित शम्शेर राणसँग विवाह बन्धनमा बाँधिएपछि उनलाई आफ्नो व्यावसाय फैलाउन सहयोग पुग्यो । त्यतिवेला असित शम्शेर स्थापित व्यावसायी बनिसकेका थिए । विवाहपछि धेरै कुरा सिक्ने मौकासमेत पाइन् । आफ्नो बुबा र सासुलाई आफ्नो मार्गदर्शकका रुपमा लिने उनी महिला अघि बढ्न परिवारको ठूलो हात रहने बताउँछिन् । भवानी नेपालगञ्जस्थित होटल स्नेहाकी सञ्चालिका हुन् । उनी सधैं महिला सक्षम हुनुपर्छ भन्ने कुरामा जोड दिन्छिन् । आफू यहाँसम्म आउन धेरै मिहनेत गरेको र निरन्तर मिहनेत गरिरहने बताउने उनले होटल व्यावसाय, एग्रो बिजनेसलगायत सञ्चालन र प्रवद्र्धन गर्दै आएकी छिन् । साथी संस्थाकी संस्थापक सदस्यसमेत रहेकी भवानी राणा सधैं महिला हिंसाबिरुद्धका अभियानमा संलग्न हुँदै आएकी छिन् । आर्थिक क्षेत्रमा बलियो हुनुपर्छ र सामाजिक काम गर्नुपर्छ भन्ने उनको सोचाइ रहेको छ । समाज र राष्ट्रलाई केही योगदान दिनसक्यो भनेमात्रै बाँचेको सार्थक हुने उनको मान्यता रहेको छ । उनी मिहनेतमा विश्वास गर्छिन् तर भगवानप्रति पनि भरोसा राख्छिन् । उनकी आमाले उनलाई महिला हरेक क्षेत्रमा शसक्त हुनुपर्छ भन्ने गर्थिन् र भवानीले पनि आफूलाई त्यसमा खरो उतारिन् । १८ जना पुरुष अध्यक्ष भइसकेको उद्योग वाणिज्य महासंघको ५१ वर्षे इतिहासमा नै उनी पहिलो महिला अध्यक्ष बन्न सफल भइन् । सुरुमा सदस्यका रुपमा मनोनित भएकी उनी अन्ततः निर्वाचनमार्फत अध्यक्ष बन्न सफल भएकी हुन् । त्यसो त पुरुषको भीडमा एक्ली महिला अध्यक्षको पद सम्म पुग्न त्यत्ति सहज थिएन । महिला र पुरुष सँगसँगै हिड्नुपर्छ भन्नेमान्यताकी राणा कार्यकारिणी सदस्यमा मनोनित हुँदा ११ जनामा एक्ली महिला थिइन् । उनी टीमको काममा विश्वास गर्छिन् । उनको विचारमा महिलाहरु उद्यमी बन्न बाधक बनेको छ आर्थिक अवस्था । उनका अनुसार अहिले पनि पूँजीमा महिलाको पहुँच नहुनु र समाजिक परिवेशले पनि महिलालाई उत्साहजनकरुपमा व्यावसायी बन्नमा बाध पु¥याइरहेको छ । तर पनि अहिले र पहिलाका महिलामा धेरै परिवर्तन आएको उनी बताउँछिन् । थोरै भएपनि आर्थिकरुपमा महिला सक्रिय छन् । महिलाको मल्टिपल रोल भए पनि हरेक क्षेत्रमा महिलाले राम्रोसँग काम गरेका छन् । आर्थिकरुपमा सक्षम महिला नभएसम्म चौतर्फीरुपमा विकासहुन नसक्ने उनी बताउँछिन् । महिलालाई कानुनीरुपमा सम्पत्तिमा अधिकार भएपनि अझै पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । उनले महिला उद्यमी महासंघबाट पनि महिला उद्यमी विकास र महिला सशक्तीकरणका लागि काम गरिरहेकी छिन् । अहिले पनि चाहे जसरी लगानी र खर्च गर्ने वातावरण महिलाका लागि नबनेको उनको ठहर छ । पुरुषको दाँजोमा महिला अगाडि आउन हाम्रो समाजिक बनावट अझै पनि बाधक रहेको उनी बताउँछिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest