महिला हिंसा न्यूनिकरणमा आत्मसुरक्षा आजको आवश्यकता

Wednesday, September 11th, 2019


महिला हिंसा न्यूनिकरणका लागि सरकारी देखि गैरसरकारी तहबाट विनियोजित योजना, कार्यक्रम र बजेट हेर्यो भने बढोत्तरी नै भएको देखिन्छ । महिला अधिकारकर्मी, मानवअधिकारवादी र सचेत समाजको पहल पनि हिंसा विरुद्ध उत्तिकै बढेको छ । कानुन अद्यावधि गरेर झनै सशक्त बनाइएको छ । पीडकलाई गरिएको सजाय र कारवाहीको दर हेर्यो भने त्यो पनि बढेकै देखिन्छ । तर तथ्यांक अनुसार नेपाली समाजमा महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दो क्रममा देखिन्छन् । सञ्चारमाध्यमले दैनिकजसो महिला हिंसाका घटनाहरु सार्वजनिक गरिरहेका छन् । यस्तो अवस्थामा महिला हिंसा न्यूनिकरणका लागि थप के अस्त्र प्रयोग गर्न सकिन्छ होला ? महिला हिंसा घटाउन प्रभावकारी हुने तर प्रयाप्त चासो नपुगेको अति नै आवश्यक अस्त्र हो–आत्म सुरक्षा ।
महिलामाथि घरेलु हिंसा र यौनजन्य अत्याचारको इतिहास निकै लामो छ । महिलालाई होच्याउने, दबाउने, कमजोर पार्ने र उनीहरुलाई मानसिक एवं शारीरिक यातना दिने गरिन्छ । सार्वजनिक स्थलमा मात्र नभएर घरभित्र आफन्तसंगै रहेका महिला र बालिकाहरु पनि असुरक्षित भएका थुप्रै उदाहरणहरु छन् । घर, कार्यालय, स्कुल, कलेज, मेलापातमा होस् वा आध्यात्मिक एवं धार्मिक केन्द्रमा समेत महिला हिंसामा परेका छन् । अधिकांश पीडितहरु न्याय पाउन आश मारेर वा सामाजिक बदनामी हुने डर पालेर पीडा लुकाएरै बस्न बाध्य छन् । परिवार र समाजले पीडितलाई थप पीडा दिनेगरि पीडकलाई पक्षपोषण गरेका धेरै तथ्यहरु पनि छन् । त्यसैले धेरैजसो यौनजन्य अपराध र बलात्कारका घटनाहरु दबिन्छन् । प्रहरीमा उजुरी गरिंदैन् ।
दिनहुँजसो कार्यस्थल, सार्वजनिक सवारी, शैक्षिक, व्यवसायिक संघ संस्था, चलचित्र भवन, सडक, मेलापात जताततै यौन हिंसा हुने गरेका तथ्यहरु सार्बजनिक हुन्छन् । यौन हिंसा भन्नाले जवरजस्ती करणी वा उक्त प्रयास बाहेकका पीडितको इच्छा विपरीत गरिएका यौनसँग संवन्धित कृयाकलापहरु पर्दछन् ।
यौन हिंसा वा यौन दुव्र्यवहारको प्रतिरोध गर्न नसक्दा यसले बलात्कारको रुप लिन सक्छ । अर्को व्यक्तिको सहमति विना शरीरको कुनै अङ्ग वा कुनै वस्तु यौनाङ्ग, मुख वा गुदद्वारमा बलजफ्ती प्रवेश गराउने कार्य नै बलात्कार हो । बलात्कारीहरुले सामान्यतया शारीरिक बल वा धम्की प्रयोग गर्दछन् । कहिलेकाँहि पीडितको मानसिक वा शारीरिक दुर्वलाताको फाइदा लिदै बलात्कार गरेको पनि पाइन्छ । यौन उत्पीडन वा यौन दुव्र्यवहारको प्रतिरोध गर्न नसक्दा त्यसले बलात्कारको रूप लिनसक्छ ।
हाल विश्वमा सूचना प्रविधिले फड्को मारेसंगै प्रविधिको प्रयोग गर्दै महिलामाथि गरिने हिंसामा पनि बढोत्तरी भइरहेको यसै क्षेत्रमा कार्यरत महिलाहको अनुभव छ । महिलामाथि हुने यौन अपराधलाई न्यूनिकरण गर्ने सन्दर्भमा एउटा सामाजिक कार्यकर्ताको रुपमा मैले महिलाहरुलाई यौन उत्पीडन र बलात्कारको वास्तविकताका संवन्धमा जनचेतना र आत्मरक्षा सम्बन्धी तालीम प्रदान गर्दै आएको छु । यो तालीमले कस्ता स्थानमा बलात्कार हुनसक्छ, कस्तो व्यक्ति बलात्कारी हुनसक्छन् र बलात्कारीहरुले के कस्ता हत्कण्डाहरु अपनाउन सक्छन् भन्ने कुराको जानकारी दिने गरेको छ । यौन उत्पीडन र बलात्कारलाई पूर्णरुपमा रोक्न नसकिए पनि आत्मरक्षा सम्बन्धी जनचेतनामूलक तालिमले यौन दुव्यवहारवाट धेरै हदसम्म बच्न सकिन्छ भन्ने विश्वास छ ।
महिला हिंसा रोक्न स्वयं महिलालाई नै सचेत पार्ने, सीप सिकाउने र आत्मसुरक्षाको मनोवल बढाउने पक्षमा ध्यान पुगेको छैन । महिला आफैले आफ्नो रक्षा गर्न सचेत र न्यूनतम रक्षात्मक सीप हुने हो भने केही हदसम्म यौनजन्य हिंसा रोक्न सकिन्छ । यौनजन्य हिंसामा पर्न लागेको अवस्थामा आत्मबल जुटाएर, सहि चाल चलेर आफू उम्कने जुक्ति महिलाहरुले जानिराख्दा राम्रो हुन्छ । त्यसैले महिला आत्मसुरक्षाबारे सचेतना र प्रशिक्षण अभियानलाई जोड दिनु उपयुक्त हुन्छ ।
महिलाहरुलाई हिंसाविरुद्ध उत्रिनका लागि शारीरिक र मानसिक दुबै तहमा तयार रहन प्रेरित गर्नुपर्छ । बल, बुद्धि र विवेक लगाएर यौनजन्य हिंसाको शिकार हुनबाट जोगिन सकिन्छ । महिलाहरुलाई आत्मरक्षाको तालिम दिने मेरो अभियानबाट थप विश्वास जागेको छ कि महिला हिंसा रोक्न स्वयं महिलालाई तयार पारौं ।
नेपालमा मात्र हैन विश्व भर नै महिलामाथि हुने हिंसाका घटना नयाँ नयाँ शैलीमा बढ्दो क्रममा छन् । महिला हिंसा अन्तराष्ट्रिय तहमै सर्वाधिक चासोको विषय मानिन्छ । त्यसमा पनि दक्षिण एशियाका मुलुकमा हिंसाका घटना र प्रकृति अनेक छन् । हिंसा विरुद्ध अभियान र लगानी दुबै बढ्दो छ, तर हिंसा भने घट्दो क्रममा देखिदैन । कानुन र नीतिहरु प्रभावकारी कार्यान्वयन नहुनु मात्रै बढ्दो यौनजन्य हिंसाको कारण हैन । अन्य धेरै कारण छन् त्यसमध्ये आत्म सुरक्षाको चेतना र सीपको कमि पनि एक हो ।
परिवारकै सदस्यहरू, केटा साथी, शिक्षक, हाकिम, आध्यात्मिक गुरु, सैनिक तथा प्रहरी, सवारी चालक, लागूऔषध प्रयोगकर्ता र तनावबाट गुज्रिएका मानिसहरुबाट यौनजन्य हिंसा बढी हुने गरेको अध्ययनहरुले देखाएका छन् । दिनहुँजसो घर भित्रै, कार्यस्थल, सार्वजनिक सवारी, शैक्षिक संस्था, फिल्म हल, सडक, पार्क, मेलापात, जंगललगायतका स्थानमा यौन दुव्र्यव्यहार हुन्छन् ।
महिलाहरुलाई कस्तो ठाउँमा बलात्कार हुनसक्छ ? बलात्कार वा यौनजन्य हिंसाको पूर्वसंकेत कसरी पाउने ? कस्ता व्यक्ति बलात्कारी हुन सक्छन् ? बलात्कारीहरूले के–कस्ता हत्कन्डाहरू अपनाउन सक्छन् ? र त्यसबाट बच्न महिलाहरुले प्रतिरक्षात्मक कस्ता मानसिक र शारीरिक जुक्ति अपनाउनु पर्छ भनेर व्यवहारिक ज्ञान, सीप र अभ्यासहरु विद्यालय हुँदै व्यवहारिक जीवन पद्दतिमा लागू गर्न सके महिलाहरु माथिको जोखिम आधा घट्ने छ ।
यौन उत्पीडन र बलात्कारलाई पूर्णरूपमा रोक्न नसकिए पनि आत्मरक्षासम्बन्धी जनचेतनामूलक तालिमले यौन दुव्र्यवहारबाट धेरै हदसम्म जोगिन सकिन्छ । हेराइ, हाउभाउ, इशारा वा संकेत हुँदै कुनियतपूर्ण शारीरिक स्पर्श पछि बलात्कार हुँदै गर्दाको अवस्थाबाट कसरी बच्ने भन्ने उपाय बारे व्यवहारिक शिक्षा बाँड्नु जरुरी छ । महिला तथा बालिकाहरूले कुनियतपूर्ण हेराइ, हाउभाउ र पहिलो स्पर्शलाई इन्कार गर्न सके भने झण्डै ५० प्रतिशत पुरुषहरुले त्यो भन्दा अगाडी बढेर यौनहिंसा गर्ने आँट जुटाउन सक्दैनन । त्यसैले ‘से नो’ अर्थात हुन्न भन्नु नै पहिलो सुरक्षा सूत्र हो । वक्षस्थल, जननेन्द्रिय, ओठ, गाला, घाँटी लगायत शरीरका अङ्गहरूमा गरिने स्पर्श कुनियतपूर्ण हुनसक्छन् । सुरुमै कुनै पनि प्रकारको दुरासयपूर्ण स्पर्श इन्कार गर्नु नै यौनजन्य समस्याबाट बच्नुको पहिलो उपाय हो ।
आत्मसुरक्षाका तरिका र अप्ठेरो समयमा प्रतिरक्षात्मक बिधि अपनाएर कसरी हिंसाबाट जोगिने भन्नेबारे मैले केही बुँदाहरु यहाँ उल्लेख गर्न चाहन्छु, जुन मैले महिला आत्म सुरक्षा तालिमका क्रममा बाँड्ने गरेको छु । नेपालमा आत्मसुरक्षाको कोर्स नै तयार पारेर हिंसा विरुद्धको प्रयोगात्मक प्रशिक्षण अभियान चलाउने मेरो योजना छ । यौनजन्य हिंसामा फस्न लागेको बेला कस्ता कस्ता शारीरिक र मानसिक कलाबाजी र उपाय अपनाउन सकिन्छ ? केही उपायहरु यहाँ छन्ः

  • कसैले गलत नियतले नजिक हुन खोज्दा ‘नो’ भन्ने ।
  • गलत मानसिकता भएका व्यक्तिको आसपासबाट टाढा रहने ।
  • सानो र साँघुरो गल्लीको साटो मान्छेको चहलपहल भएको बाटो हिड्ने ।
  • भरसक समूहमा हिँड्ने ।
  • रातको समयमा घरमा एक्लै भए ढोका बन्द राख्ने र पूर्ण सावधानी अपनाउने ।
  • घरमा एक्लै भए दुईतीन वटाभन्दा बढी कोठामा बत्ती बाल्नु राम्रो । जसलेगर्दा बाहिरबाट हेर्नेले एकजना मात्रै छैन है भन्ने बुझोस् ।
  • अरूले दिएको खानुकुरा विश्वाससाथ खाइहाल्नु हुँदैन । नशालु पदार्थ मिसाएको पनि हुन सक्छ ।
  • घरभन्दा टाढा घुम्न जानुअघि पूर्वयोजना बनाउनुपर्छ र त्यसबारे अभिभावक र साथीभाइलाई जानकारी दिनुपर्छ ।
  • बाहिर जाँदा परिचयपत्र बोक्नुपर्छ ।
  • रातमा अपरिचित व्यक्तिसँग सकभर लिफ्ट माग्नु हुँदैन । लिफ्ट दिनेको नियत गलत पनि हुन सक्छ ।
  • एकान्त बाटोमा हिड्दा होसियार हुनुपर्छ । सकभर एयरफोन कानमा कोचेर एकसुरमा नहिड्ने ।
  • अप्ठ्यारो परे चिच्याउने–कराउने, प्रहरी बोलाउने । लाज वा अरू कारणले चुपचाप भइदिँदा पीडकलाई अझ प्रोत्साहन मिल्छ र बलात्कारको शिकार बन्न सकिन्छ ।
  • बन्दुक, खुकुरी, भाला मात्र हतियार होइनन् । तपाईंको साथमै हुने मोबाइल पनि हतियार बन्न सक्छ । मोबाइलको कुना पारेर अन्धाधुन्दा हानिदिने अझ राम्र त घाँटीको नशामा हानियो भने जुनसुकै मानिस पनि केही घण्टा बेहोश हुन्छ ।
  • कसैले तपाईंको झोला तान्यो भने त्यसमा बहुमूल्य सामान छ भनेर तान्न खोजेको नहुन सक्छ । उसले बेस्सरी तान्दा झ्याट्टै छोडिदियो भने ऊ ढल्न सक्छ । तपाइलाई भाग्न, उमाथि जाइ लाग्न वा गुहार माग्न मौका हुन्छ ।
  • कलम, छाता, साँचो, भान्सामा प्रयोग हुने सामान, खुर्सानीको धुलो, बालुवा जस्ता अगाडि जे छ त्यसबाट बच्नका लागि जुक्ति निकाल्ने ।
  • केही गाह्रो पर्दा कराउन नसके सिटी फुकिदिने । सिटीको आवाज सुनेर अरू मान्छे आउन सक्छन् र गलत मान्छे भाग्न सक्छ ।

केही पनि हतियार नभएको खण्डमा कुहिनाले हान्ने, खुट्टाले संवेदनशील ठाउँमा हान्ने, चिथोर्ने, टोक्ने, टाउकोले अनुहार वा संवेदनशील अंगमा हानिदिने, आदि ।
 (लेखक पूतेक्वान्दो खेलाडी एवं महिला हिंसा विरुद्धका अभियन्ता हुन् ।)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest