मिश्रीत प्याकेज हो नवनारी

Thursday, August 2nd, 2018

-जानुका ढकाल
साउने झरी बनी आउछांै सधै तिमी, हरेक बर्ष हरेक बर्षा ऋतु बनी सजाउँछौ धर्ती तिमी यस्तै यस्तै मनमा आउने महिना हो श्रावण । हरियाली जताततै अनि पानीको रिमझिम साच्चै मनमोहक समय पनि हो यो । हरेक महिना प्रकृतिले बिशेष दिएको छ हामीलाई तर त्यसलाई कसरी सदुपयोग गर्ने र त्यो समयमा भरपुर मनोरन्जन लिने भन्ने कुरा तपाई हाम्रो हातमा छ । श्रावण महिना बिशेषगरि महिलाहरुलाई मनपर्ने महिना हो । हरियो, पहेंलो रंगसँग सजिने यो महिनामा असारमा विवाह भएका नवजोडिहरुको लागि त झनै रोमान्स भरिएको महिना हो । मौसम अनुशार हाम्रो शरिरको पनि बिशेष ख्याल गर्नुपर्दछ । यदि त्यसो गर्न सकिएन भने भरपुर आनन्द लिन सकिदैन अझ भनौ विरामी परेर प्रकृतिले दिएको अनुपम उपहारलाई हामी त्यसै खेर फाल्न पुग्दछौ ।
त्यसैले नवनारीले हरेक समय अनुशार तपाईंहरुलाई कसरी राम्री देखाउन सकिन्छ, फेसनेवल देखाउन सकिन्छ अनि कसरी स्वास्थ्य राख्न सकिन्छ यी कुराहरुमा ध्यान दिदै सामाग्रीहरु खोजेर पस्कने प्रयास गरिरहेका हुन्छौ । यो अंक पनि तपार्इंहरुको लागि यस्तै यस्तै खुराकको प्याकेजको रुपमा ल्याउने प्रयास गरेका छौ । यति मात्र होइन महिलालाई कसरी अगाडि बढाउन सकिन्छ र अगाडि बढिरहेका महिलाहरुलाई कसरी प्रोत्साहन गर्न सकिन्छ यी सब कुराहरु हाम्रो प्राथमिकतामा पर्छन् । रमाउनु पर्छ, स्मार्ट बन्नुपर्छ, फेसनेवल बन्नुपर्छ तर हरेक कुरामा सफल पनि बन्नुपर्छ यहि नै हो हाम्रो लक्ष्य हाम्रो उदेश्य ।
चुलोचौकाबाट बाहिर निस्किएर खुल्ला संसारमा आफुले चाहेको क्षेत्रमा अब्बल बनेर पुरुष सँगसँगै कदम अगाडि बढाउनु पर्छ हामी महिलाले पनि । आजको युग परिवर्तनको युग हो तर परिवर्तन आफै हुँदैन हामी हरेक महिलाले प्रयास गर्नुपर्छ, पहिला आफु परिवर्तन हुन सक्यो भने, आफु सक्षम हुन सक्यो भने मात्र हामी अरुलाई पनि सिकाउन सकछौ । यस्ता सफल महिलाहरुलाई पनि समेटेका छौ यो अंकमा जो समाजमा आफ्नो प्रयासले बिशेष स्थान बनाउन सफल रहेका छन् । एउटा महिलाका मिश्रीत बिषयलाई समेटिएको यो अंक पनि अब यहाँहरु समक्ष आएको छ । कसरी यसलाई जतन गर्ने, सम्हाल्ने अनि सुन्दर बनाउने यसको जिम्मा यहाँहरुमा पनि छाडेका छौ । झरीमा रमाउनुहोस् अनि उर्जा बटुल्नुहोस् तर आफ्नो स्वास्थ्य र सुन्दरतालाई पनि बिशेष ध्यान दिनुहोस् यहि कामना छ हामी नवनारीको ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest