मुक्त हलिया वस्तीमा मन्त्री अर्याल

Wednesday, April 24th, 2019

 


कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल पुगेर उनले गत आइतबार उक्त बस्तीको निरीक्षण गरेकी छन् । आफ्नो बस्तीमा पहिलोपटक मन्त्री उपस्थित भएर आफ्नो समस्याका बारेमा जानकारी लिएपछि स्थानीय मुक्त हलियाहरुले आफ्नो समस्या समाधान हुने अपेक्षा समेत गरेका छन् । भिमदत्त नगरपालिकाको वडा नम्बर १९ स्थित बागफाटा र वडा नम्बर एक स्थित बाह्रकुण्डाको मुक्त हलिया बस्तीमा मन्त्री अर्याल पुगेकी हुन् । आफ्नो बस्तीमा पहिलोपटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्री समक्ष शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पूरा गर्न माग गरेका थिए ।
बिगतमा बँधुवा मजदुरसरह जीविकोपार्जन गरेका उनीहरु अहिले लामो समयदेखि पुर्नस्थापनाको पर्खाइमा छन् । राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष ईश्वर सुनारले समाजको तर्फबाट मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए ।


मन्त्री अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै यसै वर्ष पुर्नस्थापनाको काम सम्पन्न हुने बताएकी थिइन् । संघीय सरकारले आगामी वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि विभिन्न कार्यक्रमहरु समावेश गर्ने तयारी भइरहेको पनि मन्त्री अर्यालले कार्यक्रममा बताइन् ।
कञ्चनपुरको बागफाँटा मुक्त हलिया वस्तीमा ३६ घर र बाह्रकुण्डामा ३७ घर मुक्त हलिया बस्तीको भवन निर्माण कार्य चरणमा रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुर्नस्थापनाको काम गरिरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest