मुगुमा किशोरी आमाको संख्या बढ्दो

Monday, December 17th, 2018

मुगुमा किशोरी आमाको संख्या बढ्दो पाईन्छ । महिलाहरुको सानै उमेरमा विवाह हुने कारण नै कलिलै उमेरमा आमा बन्न पुग्छन् । १६ वर्षमै विवाह गरेका किशोरी २५ वर्ष पुग्दा नपुग्दै २/३ सन्तानको आमा बनिसक्छन् । जसले उनीहरुको शिक्षा, रोजगारसँगै स्वास्थ्यमा असर पु¥याइरहेको छ । यो मुगुको पूर्वी भेगमा अवस्थित मुगमकामारोङ गाउँपालिकाको चिमाथ गाउँ । ८३ घरधुरी रहेको यो गाउँमा ५०/६० किशोरी आमा बनिसकेका छन् । एकै घरमा २/३ जनासम्म किशोरी आमा बनिसकेका छन् । चेतना अभाव र स्थानीय प्रचलनका कारण यहाँ अधिकांशको १५र१६ वर्षमै विवाह हुन्छ । परिवार नियोजनका अस्थायी साधनको जानकारी नहुनु, हुनेले पनि प्रयोग नगर्नु र ‘नाति–नातिना खेलाउने अभिभावकको ब्यग्र चाहना’ले पनि कलिलै उमेरमा आमा बन्ने बढिरहेका हुन् । १६ बर्षमै विवाह गरेका किशोरी २५ बर्ष पुग्दा नपुग्दै २/३ सन्ताको आमा बनिसक्छन् ।

सानैमा विवाह गरिदिने प्रबृत्तिले मात्र होइन, परिपक्व नहुँदै गाढा हुने प्रेम सम्बन्धले पनि छिटो विवाहलाई प्रोत्साहित गरिरहेको छ । पछिल्लो समय सञ्चारका विभिन्न माध्यमको प्रयोगले प्रेम सम्बन्ध बढाउँदा पनि कलिलैमा विवाह गर्ने प्रबृत्ति बढेको स्थानीयको बुझाइ छ । जिल्ला स्वास्थ्य कार्यालय मुगुको तथ्यांकअनुसार गत बर्ष २ सय ४० किशोरीले गर्भवती परीक्षण गराएका थिए । स्वास्थ्य केन्द्र नआउने गवर्भवती किशोरीको संख्या अझ धेरै रहेको कार्यालयको भनाइले मुगुमा किशोरी आमाको संख्या बढिरहेको स्पष्ट हुन्छ । सरकारी तथा गैर–सरकारी संस्थाले बालविवाह नियन्त्रण, परिवार नियोजनका साधनको प्रयोगसहित स्वास्थ्य सूचना प्रवाहमा राम्रै खर्च गरिरहे पनि परिणाम भने निरासाजनक छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest