मुस्ताङमा खोलानाला जमे, देशका विभिन्न भागमा वर्षा

Friday, December 13th, 2019

काठमाडौं :देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहर परेको छ ।

बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले आज बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा आज बिहानैदेखि भारी हिमपात भइरहेका छन् । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ ।

हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन् ।पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।

विभागका अनुसार, हिमपातको यो सिलसिला मंसिर २९ गतेसम्म जारी रहनेछ ।त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन् । तवालो लागेपछि तराईका कतिपय जिल्लाको हवाई उडान प्रभावित भएका छन् ।

विभिन्न स्थानमा वर्षा

बुधबारदेखि विकसित मौसमी प्रणालीले विभिन्न स्थानमा वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंसहित दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्जलगायत स्थानमा वर्षा भएको छ । बिहान ८ः४५ सम्ममा सबैभन्दा धेरै धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा १४ र डडेल्धुरामा ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा पनि शुक्रबार बिहान सामान्य वर्षा भएको छ ।

विभागका अनुसार, शुक्रबार देशभरको मौसम बदली भई हल्का तथा मध्यम वर्षा हुने योग छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनेछ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने छ । शनिबारपछि भने विस्तारै मौसममा सुधार आउने मौसमविद्को अनुमान छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest