मृगौला रोगको लक्षण र उपचार

Friday, October 5th, 2018

प्रा.डा. दिव्या सिंह शाह
वरिष्ठ मृगौला प्रत्यारोपण विशेषज्ञ
त्रि.वि. शिक्षण अस्पताल

हाम्रो शरिरमा मृगौलाको महत्व र काम के हो ?
मृगौलाले हाम्रो शरिरमा महत्वपूर्ण कार्यहरु गर्दछ । ती मध्ये मुख्य कार्य शरिरमा रगतको शुद्धिकरण गर्नु नै हो । मृगौलाले विकार वस्तुहरुलाई रगतबाट छानेर पिसावको माध्यमबाट बाहिर निकाल्ने गर्दछ । विशेष प्रकारको हार्मोन निकालेर रातो रक्तकण वा रगत बनाउन मद्दत गर्दछ, हड्डीहरुलाई मजबुत बनाउने काम गर्दछ । मांसपेसी र नसाहरू चल्नका लागि शरिरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रक्तचाप नियन्त्रण र मुटुको कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मृगौलामा रोग कसरी लाग्छ ?
मृगौलाका बंशाणुगत रोगहरु, पत्थरी, मृगौलामा नकारात्मक असर पार्ने विभिन्न औषधीहरुको लामो समय सम्मको सेवन, मधुमेह, उच्च रक्तचाप, मुटु रोगको कारण मृगौलामा रक्तसंचारको कमी आदि कारणले मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउन तथा मृगौलाले काम नै नगर्न सक्ने अवस्था आउन सक्दछ ।
मृगौला विग्रनु वा मृगौला फेल हुनु भनेको के हो ?
मृगौलाले आफ्नो जिम्मेवारी आशिंक वा पुरा रुपमा वहन गर्न नसक्नुलाई मृगौला विग्रनु वा मृगौला फेल भएको भन्ने गरिन्छ । मृगौला फेल भएमा वा मृगौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मृगौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन सकिन्छ । मृगौलाको प्रत्यारोपण पछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ ।
मृगौलाको रोगका लक्षणहरु के के हुन्छन् ?
आँखाको डिल सुन्निने, गोलीगाठा सुन्निने, पिसाव कम हुने, रातीको समयमा बढि पिसाव लाग्ने, पिसाव पोल्ने, पिसावमा रगत वा फिँज देखा पर्ने, रक्तचाप बढ्ने, रगतको मात्रा कम हुँदै जाने, खान मन नलाग्ने, थाकाई लाग्ने, सास फेर्न गाह्रो हुने, कोखा दुख्ने, ज्वरो आउने, पिँडौलाको मासु फर्किने, वाकवाकी लाग्ने, छाला सुख्खा हुने र चिलाउने, महिनावारी समयमा नहुने, यौन रुचि घट्दै जाने, प्रजनन दरमा कमी आउने, ढाड र कम्मर दुख्ने आदि लक्षण देखिएमा मृगौलामा समस्या हुन सक्दछ ।
मृगौला विग्रनबाट कसरी जोगाउन सकिन्छ ?
माथी उल्लेखित लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिने, जल वियोजनको समयमा उपचार तथा असाध्य अवस्थाको समयमा उपचार गरेर अचानक रुपमा मृगौला बिग्रनबाट बचाउन सकिन्छ । मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरु मृगौला रोगका बढि जोखिममा रहेका व्यक्तिहरुको रुपमा लिइन्छ । त्यस्ता व्यक्तिहरुले मधुमेहको समयमा उपचार गर्ने र रगतमा चिनीको मात्रा मिलाएर राख्ने, उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने गर्नु पर्दछ साथै परिवारमा बंशाणुगत रुपमा मृगौला रोगी भएमा नियमित रुपमा मृगौलाको परीक्षण गर्ने गर्नु पर्दछ ।
महिलाहरुमा गर्भावस्थामा मृगौलाको समस्या हुन सक्छ भनिन्छ नि ?
गर्भावस्थामा अत्यधिक रक्तश्राव, घाउको संक्रमण जस्ता कारणले मृगौलामा असर पर्नुको साथै गर्भावस्थामा धेरै रगत गइरह्यो भने मृगौला कहिल्यै नफर्किने गरी ‘ड्यामेज’ हुनसक्छ । जसलाई ‘एक्युट कर्टिकल नेप्रोसिस’ भनिन्छ ।
नेपालमा के कारणले दिन प्रतिदिन मृगौला रोगीको संख्या बढिरहेको हो ?
मधुमेह र उच्चरक्तचापका विरामीहरु बढ्नु, मोटोपना, तनाव, अस्वस्थ खानपिन, व्यायामको कमीले गर्दा मृगौलाका रोगीहरु बढिरहेका छन् भने विभिन्न खाडी मुलुकहरुमा अत्यधिक तापक्रम, तनाव र अत्यधिक शारिरिक श्रमले गर्दा मृगौला रोगीहरु बढेका छन् ।
मृगौला प्रत्यारोपण कुन अवस्थामा गर्नु पर्छ ?
दुवै मृगौला ठीक नहुने गरि फेल भएमा त्यस उप्रान्त बाँच्नको लागी मृगौला प्रत्यारोपण वा डायलासिस गर्नु पर्दछ, प्रत्यारोपण डायलासिस भन्दा राम्रो विकल्प हो ।
मृगौला प्रत्यारोपणको लागी कानून बाधक छ भनिन्छ नि ?
नेपालमा विरामीको नजिकको नातेदारले मात्र मृगौला दिन सक्ने कानून रहेकाले केहि असहज चाहि भएको छ ।
अहिले मृगौला रोगीको लागी सरकारले गरेको सहज व्यवस्था के के हुन् ?
सरकारले हाल डायलासिस सेवा निःशुल्क गरेको छ । सरकारी अस्पतालमा मात्र नभई आवश्यक प्रक्रिया पुरा गरेर नीजि अस्पतालबाट समेत यो सेवा लिन सकिने भएकोले मृगौलाका विरामीले निक्कै राहत पाएका छन् भने मृगौला प्रत्यारोपणका लागी सरकारले ५ लाख ५० हजार सम्म आर्थिक सहयोग गर्ने भएकोले प्रत्यारोपण पनि सहज र सुलभ भएको मान्न सकिन्छ ।
प्रस्तुति ः हरिराम पौडेल ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest