मेरो पहिलो काम मानिसको धारणा परिवर्तन गर्नु होः शुसिला

Thursday, March 8th, 2018


शुसिला मिश्र भट्ट, उपमेयर, धनगढी उपमहानगरपालिका
स्थानीय तहको चुनाबमा धनगढी उपमहानगरपालिकाको उपमेयरमा १७ हजार ४ सय ८ मत लिएर विजयी शुसिला मिश्र भटट् सानैदेखि राजनीतिमा सक्रियरुपमा लागेकी महिला हुन् । उनीसँग धनगढीको विकासकाबारे गरिएको कुराकानी ।
राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
म वि.सं.२०२५ सालमा डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएकी हुँ । म राजनीतिक परिवारमा हुर्केकी मान्छे, जब थहा पाउने भएँ, मैले काँग्रेसलाइ देखेँ, मेरो घरमा काँग्रेसका धेरै कार्यकर्ताहरु आउने जाने गर्थे । त्यसबेला काँग्रेस प्रतिबन्धित थियो । पञ्चायतकालमा हामी स्कूलमा काँग्रेसकाबारेमा बोल्थ्यौं जुन अत्यान्तै चुनौतीपूर्ण थियो । २०३६ सालपछि मैले बहुदलको पक्षमा प्रचारप्रसार गरेको थिए, जुन बेला म मात्र ११ वर्षकी थिए । औपचारिकरुपमा भने क्याम्पस पढ्दा देखि लागेको हुँ ।
चुनाब लड्नुभन्दा अगाडि के प्रतिवद्धता गर्नुभएको थियो ?
विकासका कुरा त सबैले गर्छन्, बाटोघाटो पुलपुलेसा बनाउछु भनेर । त्यसबाहेक मैले मेरो मनको कुरा भनेको थिएँ कि म पहिलो नम्बरमा मानिसमा भएका नकारात्मक धारणा हटाउँछु भनेर । सामाजिक विकासका कुराहरु निरन्तर चलिरहने प्रक्रिया हुन् । जुन समाज निर्माणका बाधक छन्, यस्ता किसिमका कुरितीलाई हामीले जरैबाट हटाउनुपर्छ भन्ने मेरो मान्यता हो । अर्काेकुरा मान्छेको नकारात्मक दृष्टिलाई हटाउने हो सकरात्मक सोचले मात्रै हामी देश बनाउन सक्छौ । जस्तै अहिले नेपालका युवाको नजरमा नेपालमा केही पनि छैन भनेर विदेसिने प्रवृत्ति छ, त्यस्तो सोच हटाउने पहल मेरो पहिलो काम हुनेछ ।
मध्य तथा सुदूरपश्चिममा रहेको छाउपडीका बारेमा के भन्नुहुन्छ ?
मध्य तथा सुदूरपश्चिमको मात्र समस्या होइन छाउपडि, यतातिर बरु कम भइसक्यो तर काठमाडांैलगायत शहर बजारमा अझै पनि यो चलन यताभन्दा धेरै छ । मात्र यतातिर छुट्टै छाउगोठ बनाएर बस्छन् भने त्यत्तातिर एउटैै घरमा सुत्छन् । यतातिर केही जातिहरु बाहुन, क्षेत्री र दलित समुदायमा यो चलन अत्याधिक छ, अन्यमा त्यत्ति देखिँदैन । यो नराम्रो चलन हो र यसलाई हटाउन म एक्लैले सम्भव छैन, त्यसैले मेरो एउटै उद्देश्य हो, मानिसको गलत धारणालाई चेन्ज गर्नु ।
वालविवाह न्यूनीकरणका लागि के गर्नुहुन्छ ?
हो, नेपालमा केही वर्ष अघिसम्म आमाबाबुकै कारण वालविवाह बढेको तर अहिले छोराछोरीहरु नै २०÷२२ वर्ष नपुगी विवाह गर्न मान्दैनन् । तर अहिलेका केटाकेटीहरु स्कूल, कलेज पढ्दै गर्दा एक अर्कामा आकर्षित भई भागेर आफैं विवाह गर्ने क्रम पनि देखिएको छ । यो ठूलो समस्याका रुपमा अगाडि आएको छ । यसका लागि पनि उनीहरुको सोच विचार परिवर्तन गर्नुपर्ने हुन्छ । त्यो पनि मेरो प्रमुख कार्य हुनेछ । जसका लागि विद्यालय तहमै नेपालमा भएका सकारात्मक कुराहरु सिकाउने उद्देश्यले म प्रत्येक दिन कुनै न कुनै स्कूलमा गएर विद्यार्थीलाई केही मोटिभेट गर्दै आइरहेकी छु ।
प्रस्तुति ः रघुनाथ पुजारा ,धनगढी ,कैलाली

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest