म हिमालकी छोरी,लाक्पा फुटी शेर्पा

Monday, December 9th, 2019


खोला, समय र जीवन उस्तै उस्तै रहेछ । बगिरहेको खोला अनेक स्थितिसँग जुध्दै आफ्नो गति निरन्तर अगाडि बढाइरहन्छ । उस्तै लय र सुरमा जीवन पनि लम्किरहेको हुन्छ । म आफ्नो जीवन भोगाईलाई यिनै विषयसँग हेर्न मन पराउँछु । अनेक खालका अवस्था, पात्र, चरित्र, घटनाहरुसँग जोडिएर मैले आफ्नो जीवन–यात्रा गरिरहेँ । म आफैंलाई कहिलेकाँही घोर अनौठो लाग्छ – जीवनको यात्रा कहिले एकदमै ओरालीमा पुग्यो, कहिले एकदमै उकालीमा पुग्यो । म हिमाली बस्तीकी सन्तान हुँ । मेरा पितापुर्खा र मेरो जन्मस्थान हिमाली संसारसँग आबद्ध छ । जमीनदेखि एकदमै अग्लो हिमालसम्म मैले टेक्न पुगेँ । मेरो आफ्नै जीवनको आरोह–अवरोह पनि त्यस्तै अग्लो–होचो बन्न पुग्यो । भारी बोकेर जीवनका संघर्षशील गोरेटातिर लम्केकी म नेपाल सरकारको एक जिम्मेवार पद सम्म पुग्न सकेँ । म कयौं चोटि दुःखको गहिरो खाल्डामा पुगेँ । कति पटक जीवनका अपार हर्षका चुचुरामा टेक्न पुगेँ । यसरी जीवनले विविध अनुभूतिसँग गाँसिन पुगेको म ठान्छु ।
लुक्लाबाट एकघण्टा हिँडेपछि पुगिने अत्यन्त दुर्गम ठाउँ मुसेमा मेरो जन्म भएको हो । म मामा घरमा जन्मिएँकी हुँ । म आमा बुबाको ९ जना सन्तान मध्ये पहिलो सन्तान हुँ । लोसार आउने बेलाको पूर्णिमा पक्षमा म जन्मिएकी थिएँ । आमाले भनेअनुसार पछि मैले खुबै क्यालेन्डर खोजेर पत्तो लगाएँ– आफ्नो जन्म मिति । बुधबार, फेब्रुअरी महिनाको ५ तारिख १९६४ मा मेरो जन्म भएको रहेछ । हामी पाँचजना दाजुभाइ, चारजना दिदीबहिनी जन्मिएछौँ । मलाई जन्माउने बेलामा आमालाई चारदिन बेथा लागेको रहेछ । घर बाहिर छाप्रोमा तुसारो परेको बेलामा म जन्मिएकी रहेँछु । त्यो बेला साह्रै कष्ट भएछ आमालाई । मैले मेरो छोरो जन्मेपछि थाहा पाएँ– आफूलाई जन्माउने आमालाई कहिल्यै मुख फर्काउनु नहुने रहेछ । हिमाल चढ्ने पहिलो व्यक्ति तेन्जिङ शेर्पाको टोलीमा मेरी आमाकी माइली दिदी सहभागी हुनुहुन्थ्यो । हिलारी र तेन्जिङ सगरमाथा चढ्न जाँदा पैसाको डबलको भारी बोकेर उनीसँगै ठूलीआमा पनि जानु भएको रहेछ ।
२०४४ सालमा स्थापित महेन्द्र ज्योति माध्यमिक विद्यालय क्योङ्मो प्रारम्भिक पढाई सकाए । यो विद्यालयमा म पढ्न आउँदा एडमण्ड हिलारीले आफैं काठ काटेर, ढुंगाको माटोमा गारो हालेर बनाएका थिए । मैले स्कुलको एउटा कुनामा काठ ताछिरहेको, कीला ठोकिरहेको हिलारीलाई देखेकी थिएँ । मेरो घर छेउको बाटो भएर पर्यटकहरु नाम्चेतिर जान्थे । हिमाल चढ्न जाने ती खैरे–खैरेनीहरु एकदमै सुकिला लुगामा हुन्थे । सफा जुत्ता, चस्मा, लट्ठी र झोला बोकेर हिँडेका हुन्थे । तिनको त्यो रुप देख्ता साह्रै लोभ लाग्थ्यो, उनीहरुसँग बोल्न मन लाग्थ्यो तर भाषा आउँदैनथ्यो । धेरै परसम्म ती हाँस्दै हिँडेको म हेरिरहन्थेँ । ती हात समातेर गएका हुन्थे । ती अँगालो हाल्दै गएका हुन्थे । ती चुम्बन गर्दै गएका हुन्थे । तिनीहरुको हरेक कुराले मलाई भित्रैसम्म छोइरहेको थियो । आहा, ती जस्तै हिँड्न पाए ! अहो, ती जस्तै जान पाए ! अहा, ती जस्तै घुमफिर गर्न पाए !!
यस्तै रहर र सपनाले म थिच्चिएकी थिएँ । म १२–१३ वर्षकी थिएँ हुँला । वुवा संग जिद्धी गरेर म पनि संगै गएकी थिए । एकबिहान म चिया बोकेर नजिकैको पालमा गएँ । केही समय टी–टी भन्दा पनि पालबाट कुनै संकेत नआएपछि आफैंले स्वाट्टै पाल उघारेँ । पालभित्र एक जोडी नग्न अवस्थामा थिए । म झसङ्गै तर्सिएँ । दिनभरि त्यो जोडीको म नजिकै बस्न पनि सकिन, मुख हेर्न पनि सकिन, परपर भाग्थेँ । तर, उनीहरुले त्यसबारेमा त्यति महत्वै दिएजस्तो लागेन । त्यो बेला पैसा हात परेको त थाहा छैन तर मनभरि नयाँ ठाउँ पुगेको खुशी भने बेस्सरी थियो । यही बेलादेखि मलाई घुमफिरको रस बसेको हुनुपर्छ । अन्ततः मैले बिहे गरेँ स्वीस नागरिकसँग । बिहेपछि अब मेरो जीवन छ महिना यूरोप, छ महिना नेपाल हुन थाल्यो । मैले विदेशमा रहँदा खासगरी स्वीजरल्याण्ड, इटाली, फ्रान्स, जर्मनी जाने मौका पाएँ । यसैगरी बेल्जियम, अष्ट्रिया, हल्याण्ड पनि म गएँ । मेरो गाउँभन्दा नजिकै पर्छ – सुर्के । त्यहीँकी हुन् पासाङ ल्हामू शेर्पा । सन् १९९३ को स्प्रिङदेखि नै उनले सगरमाथा सँगै जाऊ भनेकी थिइन् मलाई । हाम्रो नयाँ टिम बन्यो – पासाङ ल्हामू शेर्पा, नन्दा राई र लाक्पा फुटी शेर्पाको । नेपाली नारीहरु सगरमाथा चढ्दैछन् भनेर ठूलो हल्लीखल्ली भयो त्यतिबेला ।
२०४९ फागुनको २५ गते । बिहानै आँखा खुले । आजदेखि म सगरमाथातिर लाग्दैछु । केम्प –३ मा लेक लागेन भने अन्यत्र लाग्दैन, शेर्पाहरु भन्थे । म त्यै भएर निकै सतर्क भएर हिँडिरहेकी थिएँ । बाटोमा ज्यादै हावा लागेको थियो । ओहो, कति ठूलो हावा–मान्छे नै उडाउला जस्तो ! हावाले घरीघरी उडाउनै खोज्थ्यो । हिउँको धुलो स्वार्र–स्वार्र खसेर बेला बेलामा बाटो अँध्यारै हुन्थ्यो । एकदमै डरलाग्दो गल्छी, खोँच र भीर नाघेर म केम्प – ३ मा पुगेँ । त्यहाँ पुग्दा दिउँसो १ बजेको थियो होला । मसँग एकजना शेर्पा थिए । पासाङ ल्हामुलाई तीन जना शेर्पाले सघाएका थिए । बाटोमा तेन्जिङ शेर्पाका नाति भेटिए । केम्प–३ को उचाइ ७,४०० मीटर छ ।
केम्प–४ बाट भरे खबर आयो । ‘हामी तलबाट माथि जान सकेनौं । माथिबाट पनि तल आउन सकेनन् । राति मौसम एकदमै बिग्रियो ।’यो खबरबाट अब रुवाबासी भयो । सारा बर्वाद भयो । सारा सपना ध्वस्त भयो । सारा इच्छा समाप्त भए । साराको कामना अपूर्ण भयो । ‘मेरो दुःख, मेरो समस्या र मेरो असजिलो देखेरै पासाङ ल्हामूले मलाई छोडेर गएकी थिइन् ।’
मैले उनी नफर्कने गरी गएकी केम्प–४ तिर हेर्दै मनमनै भनेँ । म पनि साथै गएकी भए हामी दुईजना नै बाँच्थ्यौँ अथवा म पनि उनीसँगै कहिल्यै फर्कने थिइनँ कि ! क्रमशः सबै शेर्पाहरु तल झरे । एकजना सरदार मात्र झरेनन् । अनि झरिनन् पासाङ ल्हामू पनि । सगरमाथा चढ्ने मेरो अधुरो सपना सम्झेर भित्रभित्रै रोएँ । अब जाने हालत थिएन । अक्सिजन सिद्धिएको थियो । भरिया, शेर्पा, कुल्ली सबैजना तल आइसकेका थिए । हरेक कुरा लथालिङ्ग भइसकेको थियो । म भित्रभित्रै रोएँ, भित्रभित्रै चोइटिएँ, भित्रभित्रै टुक्रा–टुक्रा भएँ । मेरो आफ्नै टाउकोमा पहिरो खसेजस्तो लाग्यो । १८ दिनपछि सँगै सगरमाथा चढ्न गएकी साथी पासाङ ल्हामूको लास आयो । केहीपछि पासाङका बुबाले मलाई भन्नुभयो – ‘पासाङलाई किन छोडेकी ?’‘पासाङले मलाई छोडेकी, मैले होइन !’मैले जवाफ दिएँ ।
काठमाडौंमा बस्न मेरो मन मानेन । छोराको सम्झनाले म आत्तिएकी थिएँ । कहाँ, कतिखेर र कुनबेला भेटुँ भइरहेथ्यो । म लुक्लाबाट फर्केको १५–२० दिनपछि स्वीजरल्याण्डतिर उडिहालेँ । विदेशमा म निकै वर्ष बसेँ । खासगरी ११–१२ वर्ष जति बसेँ । म स्वीजरल्याण्डमा बढी बसेँ । युरोपबाट फर्केपछि मैले निर्णय गरेकी थिएँ – अब म बिहे गर्दिनँ । यो सन् १९९८ को कुरा हो । तर परिस्थितिले चर्चित गायक लाक्पा शेर्पा संग विहे भयो । स्वीस राष्ट्रपति महामहिम ओगीले नेपालको राजकीय भ्रमण गरेका थिए । राष्ट्रपतिको भेटघाट हाम्रा राजा वीरेन्द्र र रानी ऐश्वर्यसँगै राजपरिवारका सदस्यहरुसँग पनि रहेछ । निकै माया गर्ने राजदूतले मलाई पनि सोल्टी होटलमा बोलाएका थिए । त्यहाँ प्रधानमन्त्री, मन्त्री लगायत विशिष्ट महानुभावहरु थिए । मलाई राजदूतले रानी ऐश्वर्यको नजिकै लगेर चिनाउँदै भने – ‘यिनी हिमाल चढ्न नामी छिन् । फ्रेन्च, जर्मन, इङलिस, नेपाली धेरै भाषामा कुरा गर्न सक्छिन् ।’रानीले ‘ए, हो ?’ भन्दै खुशी भएर टाउको हल्लाएको र मज्जाले हाँसेको मैले देखेँ । रानीको कमलो र गोरो अनुहार हेरिरहेँ । मैलेँ उहाँको हाँसो एकदमै नजिकैबाट देखेँ । अति सुकोमल अनुहार र सिँगारिएको ठूलो केशराशिबाट म लोभिइरहेकी थिएँ । मसँग रानीको चिनाजानी भइरहँदा मैले रानीको उचाइ हेरेँ । रानीभन्दा म अलिक अग्ली रहिछु । रानीभन्दा केही थोरै अग्ली हो जस्तै मलाई लाग्यो । मैले मनमनै भने पनि – ‘रानीभन्दा त मै अग्ली रहिछु ।’
सन् २००० सालमा म दोस्रो पटक आमा भएँ । मेरो कान्छो छोरा छेतेन डिसेम्बर ६ तारिखमा जन्मियो । म र दुवै छोरा एउटै ‘ड्रागन’ वर्षमा जन्मिएका हौँ । अर्थात् ११ः४५ भएको थियो – दुवैको जन्मिँदाको समय ।
समाजसेवामा मेरो रुचि निकै अघिदेखि नै हो । खासगरी महिला, प्रौढ शिक्षा र बालबालिकाका लागि सेवामूलक काम गर्नु पर्छ भन्ने सोचले यिनै कार्यलाई आफ्नो सामाजिक सेवाको पाटो बनाए । अन्य धेरै संस्था संग पनि म जोडिएकी छु, हिमालयन उमेन ह्यान्डिक्राफ्ट डेभलपमेन्टमा अध्यक्ष, नेपाल पर्वतारोहण महासंघमा संचालक समिति सदस्य, शेर्पा संघमा सदस्य, हिमालयन शेर्पा सांस्कृतिक संघमा सल्लाहकार, पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानमा म सुरुमा सदस्य भएँ । पछि यसका अन्य पदाधिकारीले मलाई उपाध्यक्षमा मनोनयन गरे ।
यसै बीचमा पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सञ्चालक समितिको सदस्यको रुपमा मेरो नियुक्ति भयो । म पर्यटन क्षेत्रमै रहेर पसिना चुहाइरहेकी नै थिएँ । यो प्रतिष्ठानमा आएपछि मेरो भावना जोडिएको संस्थामा आइपुगेँ भन्ने गौरव र गर्व लाग्यो । गार्मास्थित निर्माणाधिन पर्वतीय प्रशिक्षण प्रतिष्ठानको जग्गाका लागि मुआब्जा दिने र गुरुयोजना निर्माण गर्न सकेका थियौं । २०६६÷१÷२० का दिन प्रतिष्ठानको कार्यकारी निर्देशक (सदस्य–सचिव) का रुपमा म नियुक्त भएँ । मैले गार्मा पुगेर जग्गाको मुआब्जा वितरण गरेँ । यसका निम्ति राजनैतिक दलका नेता, कार्यकर्ताको राम्रो सहयोग पाएँ । त्यो बेला प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो प्रदीप राज कँडेल । उहाँले मलाई हार्दिकताका साथ सहयोग गर्नुभयो । म उहाँको काम गर्ने शैलीबाट निकै प्रभावित भएँ ।
नेपाल सरकारका कर्मचारीहरु सगरमाथा आरोहणका लागि जाने भए । यसको सम्पूर्ण व्यवस्थापन, जिम्मेवारी, सामान खरिद, निर्देशक प्रतिष्ठानले पाउने भयो । अनि यो महत्वपूर्ण काम आएपछि म चौबीसै घन्टा खट्न थालेँ । त्यसैले आफ्नै पेशा, धर्म र कर्मका निजामती कर्मचारी सगरमाथा आरोहणका निम्ति सहकार्य गर्न पाउनु मेरा लागि गर्व र गौरवको विषय थियो । सम्झौता नगरी म एक चित्तले आरोहीको सफलतामा मात्र केन्द्रित रहेँ । मलाई त्यो बेलामा पर्यटन मन्त्री खड्ग बहादुर विश्वकर्माले निकै मद्धत गरे । यसैगरी सचिव किशोर थापाले सँधै प्रोत्साहित गरिरहनु भयो । त्यस्तै मुख्य सचिव लीलामणि पौड्याल, परराष्ट्र सचिव दुर्गा प्रसाद भट्टराई र पर्यटन उद्योग महाशाखाका प्रमुख लक्ष्मण भट्टराईको हौसलाले कार्यसम्पादनमा एकदमै ‘सपोर्ट’ पुगेको थियो । गारो, सारो र अप्ठ्यारोमा रञ्जनकृष्ण अर्याल, सुरथ पोखरेल र ज्ञानेन्द्र श्रेष्ठले सघाउनुभयो । निजामती आरोहणको तयारीको क्रममा सहसचिव मुरारी बहादुर कार्की, उपसचिवहरु बाबुराम भण्डारी, कृष्ण गोपाल श्रेष्ठ, सुरेन्द्र सापकोटाको सहयोग पनि म सम्झिन्छु । प्रधानमन्त्री झलनाथ खनालले आरोही टोलीलाई शुभकामना सहित विदाई गर्नुभयो । मैले रातदिन नभनी खटेको कामको एउटा चरण पुरा भयो । टोली विदा गर्न म लुक्लासम्मै पुगेँ ।
अन्ततः जेठ ४ गते पहिलो टोलीले बिहान ६ः१५ तिर र लगत्तै ७ः१५ तिर अर्काे टोलीले सगरमाथाको सफल आरोहण गरेको खबर आयो । यो खुसी सचिव लीलामणि पौड्याल, किशोर थापा अनि मुख्य सचिव माधव प्रसाद घिमिरेसँग बाँडे । म औधी खुसी भएँ । म आफै पनि सगरमाथामा पुगेको आनन्दीले रमाएँ । ९ जना कर्मचारीहरुसँगै मैले पठाएका १५ जना नै शेर्पा गाइडहरुले सफल आरोहण गरेछन् । ती १५ जना सगरमाथा आरोही कर्मचारीहरु अहिले प्रतिष्ठानको ‘व्याक सपोर्ट’ भएका छन् । तिनै १५ जना आरोहीहरुका अनुभव समेटी मेरै प्रधान सम्पादकत्वमा ‘भ्वाइस अफ हिमालय’ प्रकाशन गरेँ । त्यहाँ धेरै कुराहरु मर्मस्पर्शी रुपमा आएका छन् । त्यसै गरी मैले मेरा जीवन भोगाईका सबै पाटाहरुलाई संगालेर हिमालमा चालीस वर्ष र उपन्यासको रुपमा हिमाल कि छोरी कृति पनि प्रकाशित गरेकी छु । फेरी पनि भर्खरै मलाई अर्को महत्वपूर्ण जिम्मेवारी राज्यले सुम्पिएको छ । पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्षको रुपमा । अवको मेरो लक्ष भनेको विश्वमा नै पहिलो पर्वतीय विश्वविद्यालय स्थापना रहेको छ ।
जीवन त यस्तै थुप्रै स्मृति र मायाको श्रृङ्खलामा गाँसिने अर्काे थप परिचय न रहेछ !
प्रस्तुति :हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest