काठमाण्डौ ःनेपाल आदिवासी जनजाती पत्रकार महासंघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ महिला समितिका सदस्य राज्यलक्ष्मी शाक्यको संयोजनमा युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली तथा विदेशीहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ। चारुमती बुद्धिष्ट मिसन नेपाल तथा सम्पूर्ण परिवारको आयोजना एवं सिजी होल्डिङ्स र अरुण चौधरीको सहयोगमा भएको कार्यक्रममा विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि एवं घाइतेको स्वास्थ लाभको कामना गर्दै पुष्प अर्पण तथा दीप प्रज्वलन गरिएको थियो। भिक्षु तपसु धम्मको अध्यक्षता तथा पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माइतीघर मण्डलाको वरिपरि उभिएर दीप प्रज्ज्वलन गरिएको हो। हिन्दु, बौद्ध, किरात, शिखलगायतका धर्मावलम्बीले आआफ्नो धर्मअनुसारको स्वस्ती वाचन तथा मौनधारण गरेर मृतकहरूको आत्माको चीरशान्तिको कामना गरेका थिए।
कार्यक्रममा संस्थाका सदस्य विश्व उलकले बैशाख १ गते पदयात्रा आयोजना गरिएको जानकारी दिए। संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारका तर्फबाट युएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना एवं घाइतेहरूको स्वास्थलाभको कामना गरे। विमान दुर्घटनामा मेधावी छात्रछात्राले ज्यान गुमाएको भन्दै मन्त्री अधिकारीले हवाई सुरक्षाका लागि ध्यान दिइने बताए।
’हवाई सुरक्षा सरकारको मुख्य विषय हुनेछ। दुर्घटनापिच्छे आयोग बन्ने र प्रतिवेदन आउने कुराभन्दा निरन्तर सुधारका लागि ध्यान दिइनेछ’, मन्त्री अधिकारीले भने, ’संसारले अपनाइसकेको प्रविधि हामी आत्मसात गर्नेछौँ। हवाई सुरक्षामा गर्नेछौँ।’ उनले छानविन समितिले काम गरिरहेको बताउँदै यो र अन्य सबै प्रतिवेदन हेरेर हवाई सुरक्षामा विशेष ध्यान दिइने जानकारी दिए। थाहा मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गीले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै हवाई दुर्घटना न्यूनीकरणका लागि राज्यले ध्यान दिनुपर्ने बताइन्। दुर्घटनामा ज्यान गुमाउने मृतक एल्जिना बरालका बुबा गणेशप्रसाद बरालले यस्तो कार्यक्रमले केही राहत मिल्ने बताए। घाइतेहरूको स्वास्थलाभको कामना गर्दै पीडित पक्षको आवाज नसमेटिएको उनको गुनासो थियो। क्षतिपूर्तिलगायत अन्य कार्यक्रममा बंगलादेश सरकारले पीडितहरूप्रति गरेको विभेदप्रति सरकारले बेवास्ता गरेको उनको आरोप थियो।