यो साँझ, यो सहर मेरो पनि हो

Friday, November 1st, 2019


कन्चट फुट्लाजस्तो भइरहेको बेला साँघुरो कोठा जहाँ पर करिडोरबाट आइपुगेको दुई धर्सो मधुरो उज्यालोमा आफूलाई एउटा कुनामा पोको परेर थर्थर काँप्दै गरेको पाई उसले । अचम्मको अस्तव्यस्तताबीच आँखाबाट एक हुल उदासी फालहालेर मानौँ कोठाभरि व्याप्त भए । आफ्नै हुलियाको अनुगमन गरी उसले । अलिक पुरानै ब्याग जो ऊसँग भएका मध्येकै नयाँ, कोत्रिएको ठाउँमा स्टिकरले टालेको अर्दानो जिन्स पाइन्ट । ह्वाङ्लाङ्ग परेको टिसर्ट, कानमा साना इयररिङ, अँ जुत्ताचाहिँ शरीरमा बहाल अन्य सबै चीजभन्दा नयाँ जो ऊ आफैँलाई पनि अलिक भद्दा लाग्दालाग्दै पनि लगाएकी थिई । के थाहा त्यही मुसाकाटे टालेको पाइन्ट र भड्किलो जुत्ता पनि उसलाई ‘खोर’ सम्म ल्याउने कारण बन्न सक्लान् भनेर ।
“… म त्यस्तो केटी होइन दिदी ! म त कलेजबाट भर्खर निस्केर घर जाने गाडी खोज्दै छु… ! भनेर भनिनसक्दै तीमध्ये कोही जङ्गिएको थियो, … त्यो त तेरो टालेको पाइन्ट र उत्ताउलो जुत्ताले नै कलेजको परिचय दि’राछ नि !
हो एउटा अत्यन्त वर्जित, लज्जास्पद र दुःखद कुरो भएको छ कि ऊ आज बिना कुनै प्रयोजन प्रहरी चौकीमा ल्याइएकी छे याने कि चल्तीको भाषामा भन्नुपर्दा ‘खोर’ मा जाक्किएकी छे ! किन ? के ? कसरी ? भनी सोच्नु भन्दा पनि उसलाई यति बेला अचम्मको रिस उठिरहेको छ । प्रहरीले हठात् कठालो समात्दा, जबरजस्ती भ्यानमा कोच्दा र लगातार एउटा अकल्पनीय, अपशब्द आरोपी नाम ‘वेश्या’ ले अलङ्कारित गर्दै खोरसम्म पु¥याउँदासम्म ऊ लगातार रोइरही । हात जोडेर याचना गरिरही र “…मलाई छोडिदिनुस प्लिज ! म वेश्या होइन !” भनेर गिड्गिडाइरही । हठात् आइलागेको विपतले उसलाई भित्रैसम्म हल्लाइदिएको थियो । त्यस बेला सबैभन्दा धेरै बूढीआमाको सम्झना आयो उसलाई । “… यो खबर सुनिन् भने त त्यसै मुटु नै फेल भएर मर्छिन् होली आमा त…. !” कल्पना मात्रै गर्दा पनि भाउन्न भएर आयो उसलाई । त्यसपछि दाइभाउजू, भाइ, बहिनी, आफन्त, छरछिमेक, साथीभाइ सबैसबैलाई सम्झिँदै भित्रभित्रै सम्भावित बेइज्जतीको राँकोले असिनपसिन बनायो उसलाई । रुँदारुँदा आँखा सुन्निसके, त्यसमाथि प्रहरीहरूको अति तुच्छ र भद्दा अनि अश्लील शब्द र सम्बोधनले झनै विक्षिप्त बनेकी थिई । तर केही घण्टाअघिको उसको याचनाभरि अनुहारमा यति बेला भने व्रmोधको ज्वाला दन्किन थालेको थियो । उसले हजार बार भनिसकी, “… सर ! म वेश्या होइन ! दिदी ! पशुपतिनाथको कसम ! म त्यस्तो केटी होइन । म त कलेजबाट निस्केर गाडी कुर्दै थिएँ, तपाईंहरू आएर समात्नुभयो !”
“…ओइ ! चुप लाग् ! तँजस्तीको मुखबाट कलेजको नाम ? अझै चोखिन खोज्छेस् ?”
के जवाफ देओस् उसले ! संयोग नै त्यस्तै थियो कि आजै नै उसको झोलामा एउटा पनि किताब थिएन सिवाय दिउँसो किनेको एउटा रफ कपी र पेन ! बिहान काममा जाँदा कलेज । आज कलेज जाने सोचाइ नै थिएन । बाँच्नका लागि सहरकै एउटा कपडा पसलमा सेल्सगर्लको रूपमा काम गर्थी । बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म लुगाहरू फिजाउने र पट्याउने काम गर्नुपथ्र्यो केही हजार रुपियाँका लागि । माथि पुग्नका लागि त कि आफ्नो मान्छे ठाउँमा हुनुप¥यो कि चोरबाटो समात्न प¥यो, नत्र त यस्तै हो यो मुलुकमा भन्ने जानेरै पनि सकिनसकी साँझ–बिहान गरेर केवल पास डिभिजनको पढाइलाई लतारिरहेकी थिई । काम र पढाइ सकेसम्म सँगसँगै जाओस् भनेर काम गर्ने ठाउँदेखि अलिक पर्तिरको कलेजमा रात्रि सत्रमा भर्ना भएकी थिई । हुन त कलेज जाने भनेको आक्कलझुक्कल महिनामा एकाध पटक हो । जागिरबाट बँचेको समयलाई यात्रामै, घुमघाममै र घरमै मिलेसम्म पढेर नै परीक्षा दिँदै आएकी हो उसले आजसम्म । त्यस दिन भने कपडा पसलको जागिरबाट अलिक छिट्टै छुट्टी मिलेकोले यसो कलेज पसौँ न त भन्दा त्यो आपत आइलागेको थियो उसलाई । एक त निकै समयपछिको कलेज टेकाइ, उसमाथि उसलाई मनपर्ने साहित्यकारको लेक्चर क्लास अनि मिल्ने साथीसँगको धेरैपछिको भेटघाटको पनि साइत जुरेको हुँदा बेलुकीको समय घर्केको उसलाई पत्तै भएन ।
क्लासपछि साथीको गफ सकेर हतारहतार गेटबाट निस्केर अलिक पर्तिरको बसस्टपसम्म पुग्दा स्याँस्याँ गरी श्वास फुलिसकेको थियो । ओहो ! यति राति त कहिल्यै भएको थिएन । अब घरतिर जाने बस् भेटिएन भने बित्याँस परेन त ! हतारमा गोडा लर्बराउँदै चोकसम्म पुगी । छेउछाउका गल्ली र घरतिरबाट कुकुर भुकेको कर्कश आवाज बाहेक अरू केही छ जस्तो लागेन उसलाई चोकमा । सडकमा गाडीका चाप अत्यन्त न्यून थियो । हुन त त्यस बेला अबेरै राति भन्नुपर्ने ढिलो भइसकेको त थिएन तर खोइ किन हो सडक यति बिघ्न सुनसान ? र नभन्दै उसको घरतिर जाने गाडी एउटा पनि नजर आएन । हुन त सहरबाट उसको घर पुग्न जाम नपरी हाँकेको बेला बसले त्यस्तै ४१ मिनेट जति लगाउँथ्यो । यसलाई विकट नै त के भन्नु तर साँझ–¬बिहान ओहोरदोहोर गर्नलाई भने अलिक अपायक नै भन्नुप¥यो । के गर्ने नगर्ने भनेर सोच्न नभ्याउँदै मोबाइल डायल गर्न खोजी घरतिर तर दुर्भाग्य ! ब्याट्री लो ! को सिग्नलसँगै मोबाइल सेट नै निदायो मस्त । अत्तालिँदै यताउता भौँतारिँदै गर्दा परबाट एउटा प्रहरीको भ्यान बत्तिएर आयो र घ्याच्च रोक्यो अघिल्तिर । यिनीहरू सँगै केही सहयोगको कुरा गरौँला भनेर सोची नभ्याउँदै तीन–चार जना महिला–पुरुष प्रहरी आए र “समात ! यो पनि हो रातकी कमाउ वाली !” भन्दै क¥यापकुरूप पारेर भ्यानमा कोचिहाले । यो सब यति छिटो भयो कि मानौँ उसले आँखा झिमिक्क मात्रै गरेकी हो र एउटा भयानक तरङ्ग मनमा उठेको मात्रै हो । भ्यानमा भित्र घुसार्ने बितिक्कै प्रश्नको वर्षासँगै केरकार सुरु भयो । यही केरकार झम्टिनुअघि नै गरेको भए ! तर त्यसो भएन । केरकार पनि यस्तो थियो कि केवल प्रश्न सोधिन्थ्यो तर जवाफ र सफाइको पर्खाइ या अपेक्षा त्यहाँ गरिन्नथ्यो । मानौँ उनीहरू प्रश्नकै लागि प्रश्न गरिरहेछन्, जवाफ सुन्न या यथार्थ जान्नका लागि होइन ।
केही बेरको भ्यान हुइक्याइपछि एउटी थसुल्ली प्रहरी बम्की, “… यस्ताहरूलाई समातेर खोरमा नजाके यो सहर झन् कति बिग्रिँदै जाला !”
एउटी छोरी के कारण रात–बिरात सडकमा उभिएकी हो भनेर जान्न, सुन्न र आवश्यक परे यथानुरूप सहयोग र सुरक्षा दिनतर्फ समेत नसोची सबैलाई एकै आँखाले हेर्ने प्रहरीहरूको यस्तो हर्कतले यो सहर, यो समाज कुन हदसम्म सुध्रिने हो त्यो त उसले अनुमान लगाइसकेकी हो र मनमनै निष्कर्ष निकाली कि सिंहको पन्जामा च्यापिएको हरिणको याचनाको के अर्थ ?
सुरुमा त मोबाइल अफ हुँदा घरमा खबर गर्न नपाउनुले झनै बौलाएकी थिई तर पछि सोची “… जे भयो ठिकै भयो… उसै पनि यति बेलासम्म घर नपुग्दा त्यो पनि बिना कुनै सूचना … घरकाहरू कति आत्तिएका होलान्, आमा त रुँदै होलिन । झन् यति बेला आफू खोरमा रहेको र रहनुको भ्रमित आरोप सुनाउनु भनेको अकल्पनीय भूचाल निम्त्याइदिनु हो … !
यो अप्रत्यासित घटना र परिस्थितिले जति हतास बनाइदियो उसलाई, त्योभन्दा झन् आफ्नै अन्तस्करणबाट पिल्पिलाइरहेको डरले झण्डै बेहोस भएकी । यो खबर सुनेपछि कतै उसलाई आफ्नैहरूले पनि शङ्काको दृष्टिले हेरे भने ! यो आरोप पत्याइदिए भने… ! “कपडा पसलको काम त बहाना पो रहेछ तेरो !” भन्न थाले भने ! अकारण किन मैले यो मानसिक तनाव खेप्नु परिरहेछ ?
चुपचाप कुनामा आफूलाई समेटिरही । अर्कोतिर ड्युटीमा रहेका प्रहरीहरूको हल्ला, कटाक्ष र ओहोरदोहोर चलिरहेकै थियो । ऊ फेरि सोचाइको गहिराइमा पुगी, “… म जस्तो बिल्कुल बेकसुरलाई त यसरी अनाहकमा यहाँ ल्याइन्छ भने साँच्चैका नगरवधुहरूलाई पनि त यसरी नै ल्याइँदो हो पक्कै पनि । यदि तिनका हर्कतले यो सहर, समाज बिग्रिने हो भनेर यसो गरिएको हो भने यसरी दुईचार जनालाई ल्याएर यहाँ दुईचार दिन राखेर फेरि छोडिदिने गर्दैमा यो समस्या समाधान हुन्छ त ?”
बाहिर कर्कश कटाक्ष गुन्जिरहेकै थियो, “… दुईचार रात खोरमा जाकिएपछि ठेगानमा आइहाल्छन् नि !”
“तकदिरको कुन दरिद्री तुफानले हुत्याएर यस्तो नर्क पेसामा होमिएका ‘बिचरा’ हरू यस्ता दुईचार रातको खोर बसाइले ठेगानमा आउलान् त ? यी रक्षक भनिएका व्रmूर प्राणीहरूलाई थाहा छैन र ! भोकको ज्वालासामु केही पनि टिक्दैन … स्वाभिमान, अभिमान, इज्जत र सम्मानका ढर्रा, हक–अधिकारका बडेबडे भाषण सबैसबै भोकको आगोमा जल्छन् भनेर ! !
खैर कुन दुःखद संयोगले आज उसलाई पनि त्यही तक्मा भिराइदिएको छ यही सहरकै सुरक्षाकर्मी भनाउँदाहरूको बाहुलीबाट । यो सबै सोच्दासोच्दा उसलाई भयङ्कर रिस उठिरहेको छ । रोएर थाकेका आँखामा आँसु नभएर आव्रmोश उम्लिन थालेको छ । अनुहारमा व्रmोधको लाली चढिसकेको छ ।
“यो देश, यो समाज र यसका चालक… नियम वाहकहरू, यिनका जराजीर्ण प्रणाली र मनोमानी हर्कतबाट यही समाजमा रहेका स–साना मान्छेहरू (जसको सपना नै दुई छाक पेटभरि खाएर नचुहिने छानोमुनि टाउको ओत्ने हुन्छ) तिनीहरू कसरी हरदिन पिस्सिरहेका हुन्छन् … कसरी निर्दोषहरूको अनुहारमा पनि कलङ्कको ध्वाँसो पोतिन्छ… !”
सोचको भुमरीमा व्रmोधित भई मुट्ठी कस्दै दाह्रा किटिरहेको बेला एउटा अलिक भद्र लाग्ने अनुहार अघिल्तिर उभिन्छ र सम्झाउने ढर्रामा बोल्न थाल्छ “… नानी ! मैले तिम्रो सबै कुरा सुनेँ, हुन सक्छ तिमी निर्दोष हौली ‘हौली’ भित्र निर्धक्क शङ्काको क्लेश अनुमान गर्न सकिन्थ्यो, मतलब त्यो भद्र अनुहारवालाले पनि घुमाएर उसलाई ‘वेश्या’ नै भनिरहेछ)… तर दोष तिम्रो पनि त छ नि ! तिमीलाई थाहा थिएन यति अबेर राति–साँझ छोरी मान्छे सहरमा हिँड्नु हुँदैन भनेर ? त्यो पनि एक्लै एक्लै ? ढुक्कैले छोरा जसरी त्यति बेला बरालिनु तिम्रो गल्ती हो कि होइन त … ?”
त्यो भद्र अनुहारवाला अरू पनि के के फलाक्दै थियो तर उसले यति मात्रै सम्झी र सुनिरही, … तर दोष तिम्रो पनि त छ नि ! तिमीलाई थाहा थिएन यति अबेर राती–साँझ छोरी मान्छे सहरमा हिँड्नु हुँदैन भनेर ? त्यो पनि एक्लै एक्लै ? ढुक्कैले छोरा जसरी त्यति बेला बरालिनु तिम्रो गल्ती हो कि होइन त … ?”
… यो मुलकमा म कुन दर्जाको प्राणी हुँ ? सम्भावित खतरालाई लिएर म सजग हुनु आफ्नो ठाउँमा छ तर असुरक्षाकै कारण राति नहिँड्नु, एक्लै नहिँड्नु जस्ता मन्त्र किन छोरीलाई पढाइन्छ ? यो भयानक असुरक्षाको कारण के हो ? साँझ पर्ने बितिक्कै जङ्गलका यावत हिंस्रक पशुहरू सहर पस्ने त होइन नि । सहरमा रात होस् या दिन रहने त मानिसहरू नै हुन् भने एउटा मानिसबाटै अर्को मानिस डराएर चुकुलभित्र थुनिनुपर्ने किन ? किन संसाँझै मान्छेबाट दानव बन्नेहरूलाई नियन्त्रण गर्ने तर्फ नलागि उल्टै उनीहरूबाट डराउन सिकाइन्छ ? यो मनपरीतन्त्र– हुल्याहावादको संरक्षण हो कि सुरक्षाको प्रत्याभूति ? के यो सहरमा मेरो स्वामित्व दिनको उज्यालोमा मात्रै हो ? रातमा सम्पूर्ण छोरीहरू अर्कै ग्रहका अपरिचित ¬अनौठा प्राणीमा परिणत हुन्छन् …?”
सोच्दासोच्दै ऊ थरथरी काँप्न थाली र ऊभित्रको सम्पूर्ण व्रmोधको मुस्लो एकैपटक निस्कियो पूरै सहर थर्किने गरी, “यो साँझ, यो सहर मेरो पनि हो बुझ्नु भो ?!”
तर सुन्नुपर्ने कुम्भकर्ण सहर भने सुतिरहेको थियो लापर्वाह निद्रामा ।

काठमाडौँ

deepssanu@gmaiil.com

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest