यौनजन्य अपराधमा नयाँ कानूनी व्यवस्था

Friday, August 17th, 2018

 

-अधिवक्ता हरिराम पौडेल

जंगबहादुर राणा संग नेपालको राजनैतिक इतिहास संगै जोडिएको छ कानूनी इतिहास पनि । जंगबहादुर बेलायत भ्रमण गएका बखत उनले बेलायतको कानूनको बारेमा पनि धेरै जानकारी लिए । सोही जानकारी मुताविक नेपालमा पनि वि.स. १९१० मा मुलुकी ऐन बनाएर लागू गरे । १९१० मा बनेको मुलुकी ऐनलाई २०२० सालमा विस्थापन गरियो, तत्पश्चात मुलुकी ऐन २०२० जारी भयो । २०२० मा लागू भएको यो मुलुकी ऐन पटक पटक संशोधन गरियो ।
संसद्को विधायन समितिले विभिन्न मुलुकका कानुन अध्ययन र विश्लेषणपश्चात् मुलुकी ऐन प्रतिस्थापन विधेयक पारित गरी संसदले प्रमाणिकरण समेत गरिसकेको छ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्न पाँचवटा ऐन बनेका छन् । मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ वि.सं. २०७५ भदौ १ गते देखि कार्यान्वयनमा आएसँगै वि.सं. १९१० को मुलुकी ऐन विधिवत् खारेज भएको छ ।
नेपालको संविधानले नै महिला अधिकार र सुरक्षामा विशेष व्यवस्था गरे बमोजिम २०७५ भदौ १ गते देखि जारी भएका यी ऐनले पनि महिला अधिकार, महिला प्रति हुने विभिन्न किसिमका यौनजन्य हिंसालाई अन्त्य गर्न केहि विशेष व्यवस्था गरेको छ ।
के के छन् त विशेष व्यवस्था ?
जवरजस्ती करणी गर्न नहुने ः जवरजस्ती करणी महिला विरुद्धको गम्भीर र जघन्य अपराध हो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२४ (१) ले कसैले जवरजस्ती करणी गर्न नहुने व्यवस्था गरेको छ । जवरजस्ती करणी गर्नेलाई मृत्युदण्ड सम्मको सजाय हुनुपर्छ भन्ने नारी आवाज रहेको भएता पनि वर्तमान कानूनले मृत्युदण्डको भने व्यवस्था गरेको छैन । जवरजस्ती करणीलाई महिलाको उमेर अनुसार फरक फरक सजायको व्यवस्था ऐनमा गरिएको छ जस अनुसार ः–
दश वर्ष भन्दा कम उमेर कि बालिका भए १६ वर्ष देखि २० वर्ष सम्म कैद,
दश वर्ष वा दश वर्ष भन्दा बढि चौध वर्ष भन्दा कम उमेरकी बालिका भए चौध वर्ष देखि सोह्र वर्ष सम्म कैद,
चौध वर्ष वा चौध वर्ष भन्दा बढि सोह्र वर्ष भन्दा कम उमेरकी बालिका भए वाह्र वर्ष देखि चौध वर्ष सम्म कैद,
सोह्र वर्ष वा सोह्र वर्ष भन्दा बढि अठार वर्ष भन्दा कम उमेरकी बालिका भए दश वर्ष देखि वाह्र वर्ष सम्म कैद,
अठार वर्ष वा अठार वर्षभन्दा बढि उमेरको भए सात वर्ष देखि दश वर्ष सम्म कैद ।
मञ्जुरी लिए पनि जवरजस्ती करणी ठहरिने ः अठार वर्ष भन्दा कम उमेर कि बालिकालाई मञ्जुरी लिएर करणी गरेता पनि जवरजस्ती करणी गरेको मानिने कानूनी व्यवस्था छ भने अठार वर्ष भन्दा माथी कि महिलालाई करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने र त्यसरी मन्जुरी लिएता पनि जवरजस्ती करणी गरेको मानिनेछ । त्यसै गरी होस ठेगानमा नरहेको अथवा मानसिक सन्तुलन गुमाएको अवस्थामा लिइएुको मञ्जुरीलाइ पनि मञ्जुरी नमानी त्यस्ता महिलालाई गरिएको करणीलाई पनि जवरजस्ती करणी गरेको मानिनेछ ।
कस्तो अवस्थालाई जवरजस्ती करणी मान्ने ?
सामान्य बुझाईमा कुनै युवतीलाई बलप्रयोग गरि निजको योनीमा पुरुषको लिंङ्ग प्रवेश गराई घर्षण समेत गरि विर्यपतन गराउनुलाई जवरजस्ती करणी मानिने जस्तो बुझिएता पनि यो बुझाई पर्याप्त हुदैन । कुनै नारी वा बालिकाको गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै (नक्कली लिङ्ग, औला या लिङ्गाकार कुनै पनि चिज) बस्तु योनीमा प्रवेश गराएमा पनि जवरजस्ती करणी गरेको मानिनेछ र सोही अनुसार सजाय समेत हुनेछ ।
पत्नीलाई जवरजस्ती करणी गर्न नहुने ः वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गर्न हुदैन । पत्नीलाई जवरजस्ती करणी गरेमा ऐनका दफा २१९(४) उपदफा (३)ं बमोजिम पाँच वर्ष सम्म कैद हुने व्यवस्था रहेको छ ।
यौन दुव्र्यवहार गर्न नहुने ः यौन दुव्र्यवहार विभिन्न स्थान र विभिन्न व्यक्तिहरुबाट हुन सक्दछ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२४ (१) ले कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउन हुदैन भन्ने व्यवस्था गरेको छ । यौन दुव्र्यवहार भन्नाले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशिल अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्वन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाएमा, निज संग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिकरुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निज संग अस्वभाविक, अवाञ्चित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिन दफा २२४ (२) मा व्यवस्था गरिएको छ । यौनजन्य दुव्र्यवहारलाई महिला विरुद्धको हिंसाको रुपमा पनि बुझिन्छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैया सम्म जरिवाना हुनेछ ।
कार्य स्थलमा यौन दुव्र्यवहार
कार्यालयहरुमा आफ्नो विपरित लिंगी साथीलाई विभिन्न अश्लिल कुराहरु गरि दुःख दिने, हैरानी दिने, केटी साथी बसेको कम्प्युटरमा अश्लिल तस्वीरहरु पठाउने, घुरेर हेर्ने, आँखा जुधाउने, अश्लिल इसारा गर्ने कार्यलाई कार्य स्थलमा हुने यौन दुव्र्यवहार भन्ने बुझिन्छ । कार्यालयको माथिल्लो कर्मचारीले महिला कामदार, कर्मचारीबाट यौनजन्य लाभ नलिई जागिर जोखिममा पार्ने धम्की दिने वा पुरस्कार वा कार्य क्षमताको उच्च मुल्यांकन वा पदोन्नती आदिको अनुचित प्रलोभन देखाई कार्यस्थलमा नै यौनजन्य दुव्र्यवहार हुनसक्ने अवस्था र परिस्थिति हाम्रो समाजमा धेरै घटिरहेका छन् । यस्ता घटनालाई पनि यौन दुव्र्यवहार अन्तर्गत नै राखिएको र सोही मुताविक सजाय समेत हुने व्यवस्था रहेको छ ।
बालयौन दुरुपयोग गर्न नहुने ः कसैले करणीका आशयले बालबालिकालाई अस्वभाविकरुपमा एकान्तमा लगेमा, यौन सम्वन्धी निजको अंग छोएमा वा समातेमा, यौन सम्वन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निज संग अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने ऐनको दफा २२५ मा गरिएको छ भने त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैया सम्म जरिवाना हुनेछ कानूनी व्यवस्था रहेको छ ।
अप्राकृतिक मैथुन गर्न नहुने ः कसैले कसैको मञ्जुरीबिना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुदैन भन्ने व्यवस्था ऐनको दफा २२६ मा गरिएको छ । पुरुष लिङ्ग र महिला योनीबीचको समागमलाई प्राकृतिक यौन क्रिडा भनिन्छ भने त्यस बाहेकका अन्य प्रकारका सबै यौन कार्यलाई अप्राकृतिक यौन क्रिडा भनिन्छ । तर महिला र पुरुषको आपसी समझदारीमा भएको अप्राकृतिक मैथुनलाई स्वाभाविक मानिन्छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार रुपैया सम्म जरिवाना हुनेछ कानूनी व्यवस्था रहेको छ ।
पशु करणी गर्न नुहने ः कसैले (पुरुष, महिला वा तेश्रो लिङ्गी) पनि पशु करणी गर्नु वा गराउनु हुदैन । जवरजस्ती करणीको अपराध आफैंमा गम्भीर हिंसाजन्य अपराध हो । यसलाई मान्छेले पशुतुल्य कार्य गरेको रुपमा पनि हेर्ने गरिन्छ भने कसैले पशुलाई आफ्नो यौन इच्छामा तृप्ति लिने साधनको रुपमा करणी गर्नुलाई सामाजिक व्यभिचारको रुपमा लिन सकिन्छ । यस्तो अवस्थामा गाईको करणी गरेको वा गराएको भए दुई वर्ष सम्म कैद र वीस हजार रुपैयाँसम्म जरिवाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्ष सम्म कैद र दश हजार रुपैंयाँ सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
हाडनातामा करणी गर्न नहुने ः कसैले आफ्नो जात वा कुलमा चलि आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नुहने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसंग करणी गर्न हुदैन भन्ने व्यवस्था दफा २२० मा गरिएको छ, जस अनुसार जन्माउने आमा छोराको वा बावु छोरीको करणीलाई सबै भन्दा सम्वेदनशील मानि त्यस्तो कार्य गर्ने व्यक्तिलाई जन्मकैद सम्म व्यवस्था गरिएको छ । आफ्नो वंशको सात पुस्ता सम्मका नातालाई कानूनमा हाडनाता भित्र राखिएको छ ।
थुनामा रहेकी नारी संग करणी गर्न नुहने ः कैद वा थुनामा रहेकी नारी संग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराउन नहुने र यसरी करणी गरे वा गराए थप तीन वर्ष कैद सजाय हुने व्यवस्था ऐनको दफा २११ मा गरिएको छ ।
आफ्नो संरक्षण वा सुरक्षामा रहेकी नारीलाई करणी गर्न नुहने ः कसैले आफ्नो संरक्षण वा सुरक्षा दिएको वा आफ्नो हेरविचारमा रहेको कुनै नारी संग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारिरिक वा मानसिक रोग लागी उपचार वा पुनःस्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै नारी संग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न नहुने र करणी गरेमा थप तीन वर्ष कैद सजाय हुने व्यवस्था दफा २२२ मा गरिएको छ ।
कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने नारी संग करणी गर्न नहुने ः सरकारी वा नीजि कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यवसायिक कामको लागी सम्पर्कमा आएको वा रहेको कुनै नारी संग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न नहुने र यस्तो कार्य गरेमा थप चार वर्ष कैद र चालिस हजार रुपैया सम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनको दफा २२३ मा गरिएको छ ।
थप सजायको व्यवस्था ः आँफूलाई मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी पोजेटिभ) वा सरुवा यौनरोग भएको थाहा पाउँदा पाउँदै कसैले जवरजस्ती करणी गरेको रहेछ भने त्यस्तो कसुरदारलाई निम्नानुसार थप सजाय समेत हुनेछ ः–
मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी पोजेटिभ) भएको थाहा पाउँदा पाउँदै जवरजस्ती करणी भएको भए दश वर्ष कैद र एक लाख रुपैया जरिवाना हुनेछ ।
अन्य सरुवा यौनरोग भएको थाहा पाउँदा पाउँदै जवरजस्ती करणी भएको भए तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुनेछ ।
सामुहिक रुपमा जवरजस्ती करणी गरेमा वा छ महिना भन्दा बढिको गर्भवती, अशक्त वा अपाङ्ग वा शारिरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवरजस्ती करणी गरेमा थप पाँच वर्ष कैद सजाय हुनेछ ।
हाडनाताकि महिलालाई जवरजस्ती करणी गरेमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ ।
कसुरदार जिवित रहदा सम्म कैद सजाय हुने ः मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा (४१) बमोजिम जघन्य प्रकृतिका कसूरदारलाई जीवित रहँदासम्म कारागार बस्नु पर्ने व्यवस्था गरेको छ । जस अनुसार जवरजस्ती करणी गरि ज्यान समेत मारेमा त्यस्तो व्यक्ति जिवित रहे सम्म जेल बस्नु पर्नेछ । अदालतको फैसला बमोजिम तोकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, मुलतवी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपति समक्ष निवेदन दिन सकिने व्यवस्था मुलुकी फौजदारी कायर्र््िवधि (संहिता) ऐन २०७४ को दफा १५९ मा गरिएता पनि ऐनको दफा १५९ (४) ले जवरजस्ती करणी गर्ने व्यक्तिलाई यस्तो सुविधा नरहने व्यवस्था गरेबाट जवरजस्ती करणी गर्ने व्यक्तिलाई कतैबाट उन्मुक्ति नरहने देखिन्छ ।
नेपालको कानूनी व्यवस्थामा यहि २०७५ भदौ ०१ गते देखि लागू भएको नयाँ कानूनले महिलालाई यौनजन्य हिंसा गर्ने विरुद्ध गरेको कानूनी व्यवस्थालाई पर्याप्त मान्न नसकिए पनि विगतको कानूनमा भन्दा केहि विशेष व्यवस्था गरिएकोले भोलीका दिनमा बलात्कार जस्ता जघन्य अपराधमा कमि आउने आशा गर्न सकिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest