रविन्द्र जीका अभिलाषा र सपनालाई पुरा गर्न लागि पर्नेछु -विद्या (हेर्नुहोस भिडियोसहित)

Sunday, November 24th, 2019

विद्या भट्टराई (अधिकारी

समयको गति संगै कहिले उकाली कहिले ओराली गर्दै जीवनका खुड्किलाहरु उक्लने गर्दछौं हामी । जीवनको यो यात्रामा धेरै खालका संघर्षहरु पार गर्नु पर्दछ, यी संघर्षले मान्छेलाई कहिले हसाउँछ त कहिले धर्धरी रुवाउँछ आँशु नै सकिने गरि । यस्तै यस्तै परिवेशमा मैले पनि जीवनका खुड्किलाहरु पार गरिरहेकी छु, गरिरहनेछु ।
मेरो जन्म विक्रम सम्वत २०३० सालमा काठमाण्डौमा वुवा हेमराज भट्टराई र आमा भगवती भट्टराईबाट भएको हो । मेरो आमाले म भन्दा अगाडी पाँच सन्तानलाई जन्म दिनु भयो, दुई छोरा र तीन छोरी । तर ती सबै जना जन्मने वित्तिकै यो धर्तीबाट विदा भए, मेरो परिवारले यिनै कठिन परिस्थितिहरु पार गर्दै गर्दा मलाई मेरी आमाले जन्म दिनु भएको हो । धेरै सन्तान जन्माउने प्रशव वेदना पछि मेरी आमाले मलाई जन्म दिनु भयो । मेरो जन्मले मेरी आमा र वुवालाई मात्र होइन मेरो वुवातिर र आमातिर दुवै परिवारलाई उत्तिकै खुशी दिएको थियो । मैले आमा, वुवा र समस्त परिवारका सदस्यहरुको असीम माया संगै हुर्कने अवसर पाए । मेरो दुइटी आमा, अर्को आमातिरबाट मेरो दुई जना दाजुहरु हुनुहुन्छ, दुई दाजुहरु कि म एक्ली प्यारी बहिनी हुने सौभाग्य पाएकी छु ।
मैले काठमाण्डौको चावहिल स्थित पशुपति मित्र मा.वि मा अध्ययन गरे, मलाई घरमा नै वुवाले पढाउनु भएकोले म उक्त विद्यालयमा कक्षा दुईमा भर्ना भएकी थिए । मैले सोही विद्यालयबाट २०४६ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । मेरो गुरुहरुको भनाई अनुसार म पढाईमा अब्बल छात्रा थिएँ । म साथीहरु संग चाडै घुलमिल हुन्थे, वालपनमा साथीहरु संग खेल्दा निक्कै रमाइलो लाग्थ्यो, त्यति बेला म राजनीति बुझ्दिनथे तर पनि म विद्यालय स्तरबाटै नजानिदो तरिकाले राजनीतिमा पनि लागेछु । २०४२ सालमा मेरो विद्यालयका शिक्षक शिक्षिकाहरु हामीलाई पढाउन छोडेर सत्याग्रहमा जानुहुन्थ्यो, हाम्रो विद्यालयमा पनि अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन भएको थियो, म उक्त कमिटीको सदस्य थिए । त्यति बेला हाम्रो कमिटीले गुरुहरुलाई पढाउन छोडेर सत्याग्रहमा जान हुदैन, विद्यालयमा सफा र स्वच्छ वातावरण हुनु पर्छ, विद्यार्थीले पढ्न पाउनु पर्छ भनेर आन्दोलन स्वरुप कक्षा वहिष्कार गर्ने कार्यक्रम गरेको थियो, माथिल्लो कक्षाका अलि पढ्नेमा गनिएका विद्यार्थीहरु चौरमा निस्के पछि म पनि निस्के । मैले अरु साथीहरुलाई पनि हामीलाई साथ दिन आग्रह गरे ।

मेरो दाजु राजन भट्टराई त्यति बेला सक्रिय राजनीतिमा हुनुहुन्थ्यो, म पाँच छ वर्ष हुँदा नै दाजुले मलाई प्रगतिशिल गीतहरु, बाहिर निस्कनु पर्छ भन्ने सन्देश दिने खालका चिनिया लोककथाहरु सुनाउनुहुन्थ्यो, यसरी नयाँ कुरा सिक्न पाइने भएकोले पनि म दाजु संग बढि घुलमिल हुन्थे, यहि भावले म विस्तारै अनेरास्ववियु संग जोडिन थाले । २०४५ सालमा भारतले गरेको नाकावन्दी विरुद्ध अनेरास्ववियुले विद्यालय स्तरमा नै विरोध गर्ने अभियान चलाएको थियो, यो अभियानमा म सक्रिय रुपमा सहभागी भए, त्यस्तै १० वर्षको उमेरमा नै मैले आन्दोलनका योजना बुनिएका विभिन्न चिठीहरु विभिन्न नेताहरु र विभिन्न स्थानमा पुर्याउने गर्दथे, केटाकेटीलाई कसैले शंका नगर्ने भएकोले दाजुले नजिकका व्यक्ति र ठाउँमा त्यस्ता चिठीहरु पुर्याउन लगाउनुहुन्थ्यो । २०४३÷०४४ सालमा हामी तिहारमा देउसी, भैलो खेल्ने गर्दथ्यौ, त्यति बेला जनताको घरघरमा पुगेर हामी जनचेतनामूलक शैलीमा देउसी खेल्थ्यौ, भाइटीकामा केन्द्रीय कारागारमा रहनु भएका नेताहरुलाई भाइटीका लगाउन म केन्द्रीय कारागार पुग्थे, मेरो दाजु राजन पनि जेलमा हुनु भएकोले मलाई जेलमा जान सजिलो थियो, म दाजु लगायत अन्य नेताहरुलाई टीका लगाएर फर्किन्थे । २०४७ सालमा सृजना साँस्कृतिक परिवारको तर्फबाट चेलीवेटी वेचविखन विरुद्धका धेरै नाटक तथा साँस्कृतिक कार्यक्रमहरु पनि हामीले आयोजना गर्यौ ।
मेरो पूर्णकालीन राजनीतिक यात्रा भने पद्यकन्या क्याम्पसमा प्रवेश पछि भएको हो । २०४६ सालमा म पद्यकन्या क्याम्पसमा भर्ना भएकी थिए । त्यति बेला नेपालको राजनीति उत्सर्गमा पुगेको थियो । हामी विद्यार्थीहरु पनि उक्त आन्दोलनमा होमिएका थियौं । आन्दोलनले चर्को रुप लिदै थियो, प्रहरी संगको मुठभेडमा विभिन्न क्याम्पसमा धेरै विद्यार्थी साथीहरु घाइते भएका थिए, प्रहरीको दमन सहिनसक्नु हुन्थ्यो, पक्राउ गरे पछि चरम यातना दिइन्थ्यो, अस्कल क्याम्पसमा क्याम्पसको छतबाटै विद्यार्थीलाई सडकमा खसालेर मारेको थियो । चर्को आन्दोलनको कारण कलेज बन्द भएको थियो । कलेज बन्द भएको जानकारी रेडियो मार्फत घरमा थाहा भइसकेको थियो । कलेज बन्द भएकोले आमा, बुवाले कलेज जान दिनुहुन्थेन, म साथी संग पढ्न, निवन्ध लेख्न जाने बहानामा घरबाट निस्केर आन्दोलनमा होमिन्थे, चैतको घाममा सडकमा चर्का नाराहरु लगाइन्थ्यो, चैत २४ गतेका दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सबैतिरका जुलुसहरू टुडिखेलतिर जम्मा हुदै थिए, हामी पनि राजतन्त्र मुर्दावाद, गणतन्त्र जिन्दावादका नाराका साथ जुलुसमा सहभागी थियौं । त्यति बेला प्रहरीले लाठी, बूट, गोली र अश्रुग्यासलगायतका सबै औजार प्रयोग गरेर आन्दोलनलाई दमन गर्ने प्रयास गर्यो, कतिबेला कताबाट गोली आउँछ र मरिन्छ भन्ने टुंगो हुन्थेन, आन्दोलनमा सहभागी दर्जनौँ मारिए, सयौँ घाइते बनाइए र हजारौँलाई गिरफ्तार गरियो । आन्दोलनमा जति दमन हुँदै जान्थ्यो, आन्दोलनकारीहरू त्यति थपिँदै जान्थे । दरबारमार्ग अगाडि रहेको राजा महेन्द्रको शालिक चैत २४ गते नै फोरिएको थियो । उक्त शालिक फोर्नेमध्ये करिब आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले गोली हानी शालिकबाट खसालेको थियो । उक्त दिन आन्दोलनबाट हामी धेरै पक्राउ परेका थियौ, तर मलाई सानी देखेर प्रहरीले छोडिदिएको थियो, पक्राउ परेका मेरा साथीहरुले चरम यातना भोगेका थिए । राजा वीरेन्द्रले चैत २४ गते राती लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएपछि आन्दोलनमा झन् घिउ थपिए जस्तै भयो र आन्दोलनले झन ठूलो रूप लिँदै गयो । चैत्र २५ र २६ गते पनि पनि हामी ज्यानको माया मारेर आन्दोलनमा होमियौ । यहि आन्दोलनको फलस्वरुप २०४६ साल चैत २६ गते मध्यरातमा तीस वर्षे पञ्चायती व्यवस्थाको अवसान भयो, देशमा बहुदलीय व्यवस्थाको पुनरुदय गर्न हामी सफल भयौं । कलेजका ती दिनमा म कक्षामा भन्दा राजनीतिमा नै बढि व्यस्त रहे, भूगोल, अर्थशास्त्र र नेपाली विषय छानेर पढेकी मैले त्यति बेला साथीहरुको नोट मागेर पढ्ने गर्थे, कक्षा नलिए पनि मैले सजिलै संग आइए पास गरे । 
स्नातक तहको पढाईमा भने राजनैतिक यात्राले केहि अवरोध सृजना गर्यो । २०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्ववियु सभापतिकी प्रत्यासी थिए म । म पछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए । त्यतिबेला पद्यकन्या क्याम्पसमा नेवि संघको पकड थियो, त्यसैले अनेरास्ववियुले अपेक्षाकृत सफलता हाँसिल गर्न सकेन । क. शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा म केन्द्रीय कमिटीमा पुगेकी थिएँ भने रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा म महिला विभाग प्रमुख थिएँ । पद्यकन्याको अध्ययन पुरा भए पछि म त्रि.वि. कीर्तिपुरमा स्तातकोत्तर तहको अध्ययनको लागि भर्ना भए, त्यहाबाट मैले २०५९ सालमा समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरे, २०५७ सालमा नै पढाई सकिएकोले २०५८ साल देखि एक सामुदायिक कलेजमा अध्यापन समेत सुरु गरेकी थिए । विवाह भएर पोखरा गए पछि पृथ्वी नारायण क्याम्पस तथा अन्य सामुदायिक कलेजहरुमा प्राध्यापन गरे, पछि रत्नराज्य लक्ष्मी क्याम्पसमा लामो समय प्राध्यापनमा सक्रिय रहे, यहि विचमा एम.फिल सम्मको अध्ययन पनि पुरा गरे, अव विद्यावारिधिको अध्ययनलाई पनि अगाडी बढाउदैछु ।
२०५६ सालमा मेरो रविन्द्र जी संग विवाह भएको हो । २०४८ सालमा पहिलो पटक मैले वहाँलाई देखेकी हुँ, त्यति बेला वहा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो, म राष्ट्रिय परिषद सदस्य थिएँ । पहिलो बैठकमा मैले वहालाई चिने मात्रै, पुल्चोकमा भएको दोश्रो बैठकमा वहाले नै मलाई मेरो नामको सम्वोधनले बोलाउनु भयो, सामान्य कुराकानी मात्रै भयो । २०५० सालको हेटौडा सम्मेलनले वहालाई कोषाध्यक्षको जिम्मेवारी दियो भने म महिला विभाग प्रमुख भए । २०५१ सालमा वहा पोखराबाट काठमाडौं आउनु भयो, त्यस पछि सचिवालयमा हाम्रो नियमित भेटघाट हुन थाल्यो । ती भेटघाटहरुमा पनि पार्टीको सन्दर्भमा कुराकानी हुन्थ्यो, वहा मेरो पढाईको बारेमा पनि कुरा गर्नुहुन्थ्यो । ‘राजनीतिमा लागेर पढाईलाई नविगार्नु होला, ट्युसन पढ्नु पर्छ, शिक्षक खोज्नु पर्छ, या कुनै सहयोग गर्नुपर्छ भने भन्नुहोला’ भनेर म प्रति अभिभावकत्वको भूमिकामा प्रस्तुत हुनुहुन्थ्यो । वहाको सहयोगी भावना, समस्या बुझ्ने, धेरै संग घुलमिल हुनसक्ने आदि गुणहरुबाट म प्रभावित थिए भने साथीहरुले पनि ‘हाम्रो जोडी मिल्छ’ भनेर कुरा गर्ने गर्दथे, यिनै सन्दर्भले पनि हामी नजिक भएका थियौं, हामी एकअर्का प्रति प्रेमाभावले आकर्षित भएर भन्दा पनि हामी दुवैको आनीवानी एकअर्का संग मिल्ने भएकोले जीवनलाई सह्दयी भावले चलाउन सकिन्छ भन्ने विश्वासले विवाह गर्ने निर्णयमा पुगेका थियौं । विवाह पछि वहाको राजनैतिक यात्राको सफलताको लागि मैले राजनीतिबाट केहि टाढा रहेर प्राध्यापन, सामाजिक कार्य र घर व्यवहारलाई निरन्तरता दिए । दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउने तर्फ म अधिक केन्द्रित रहें । ‘उहाँ र मेरो सम्बन्ध राजनीतिले जोड्यो, हाम्रो माया राजनीतिले जोड्यो, दुवैजना राजनीतिमा लाग्दा पारिवारिक व्यवस्थामा अप्ठ्यारो पार्छ भन्ने मेरो निचोड थियो, ‘उहाँको राजनीतिलाई साथ दिएँ भने वहा उत्कृष्ट, अब्बल र सक्षम भएर निस्कनुहुन्छ भन्ने थियो ।
वहा नफर्कने बाटोमा जानु भएको छ, अहिले सिंगो देशलाई वहाको अभाव खड्किएको छ, वहाको अवसानमा सिंगो देश शोकाकुल भएको छ, यो अकल्पनीय शोकको घडीमा म आँफू विचलित हुनु हुदैन भन्ने दृढ आत्मविश्वास लिएकी छु, म परिवार कि पनि जेठी बुहारी, सासु, ससुरा लगायत परिवारका सबै सदस्य शोकाकुल हुनुहुन्छ, ११ वर्ष र १९ वर्षका छोराहरु सबै शोकको घडीमा हुँदा वहाहरु सबैलाई सम्हाल्नु पर्ने दायित्व पनि मेरो काँधमा छ, म शोकलाई शक्तिमा बदल्ने प्रयत्न गर्दै अगाडी बढेकी छु, जीवन त संघर्ष रहेछ, मैले सधैं संघर्ष गरेर नै अगाडी बढे, संघर्षको अर्को घडीमा म उभिएकी छु, समयले मलाई यो परिस्थिति सामना गर्न चुनौती दिएको छ । देशका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा तपाईहरु सबैले मलाई यो घडीमा धैर्यता लिन साथ दिनु भएको छ, यहाहरु सबैको साथले समयले दिएको यो चुनौती सामना गर्न सक्ने विश्वास लिएकी छु ।
मेरो अवको यात्रा वहाले कोर्नु भएको मार्गबाट नै अगाडी बढ्नेछ, देशको लागी वहाँले साँच्नु भएको सपना पुरा गर्ने जिम्मेवारी पनि मलाई आएको छ । पर्यटन क्षेत्रको विकासमा उहाँले पु¥याउनु भएको योगदान अतुलनीय छ, वहाले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न भएमा वहाको आत्मालाई सन्तुष्टि मिल्नेछ । वहाका यिनै सपना साकार पार्न वहाले विजयी हाँसिल गर्नु भएको कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दिएकी छु, यति बेला मलाई यहाहरु सबैंको साथ, विश्वास र हौसलाको खाँचो छ । मैले यो निर्वाचनमा विजयी हाँसिल गरेर गुमेको कुरालाई भन्दा उहाँका विचार र उहाँले व्यक्त गर्नु भएका अभिलाषा र सपनालाई पुरा गर्न म लागिपर्नेछु, अवको मेरो जीवन यहि बाटोमा अघि बढ्नेछ ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest