राम्रा कामलाई स्थान दिन प्रदेश तथा प्रतिनिधिसभाका उपसभामुखहरुको पत्रकारलाई आग्रह

Tuesday, December 18th, 2018

प्रदेश तथा प्रतिनिधिसभाका उपसभामुखले आज काठमाडौंमा पत्रकारसँग अन्तरक्रिया गरेका छन् । संसदमा कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेका उपसभामुख महिलाहरुले मूलधारका संचार माध्यममा कार्यरत पत्रकारसँग अन्तरक्रिया गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख महिलाहरुले आफूहरुले गरेका राम्रा कामलाई संचार माध्यममा स्थान दिन आग्रह गरे । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पत्रकारितामा महिलाको संख्या कम भएका कारण नै नेता महिलाका विचार र उनीहरुले गरेका कामको प्रचार हुन नसकेको बताइन् । स्वभावैले पत्रकार पुरुषले संसद, सरकार र पार्टीका बैठक तथा निर्णयका बारेमा जानकारी लिँदा पुरुष नेतासँग कुरा गर्न सजिलो मान्ने हुन सक्ने उनले बताइन् ।पत्रकारितामा पनि राजनीतिक विटमा कलम चलाउने पत्रकार महिला नगन्य भएका कारण पनि उपसभामुख तथा राजनीतिज्ञ महिलाका कुरा ओझेलमा पर्ने गरेको डा। तुम्बाहाम्फे बताइन् । पत्रकारिता र राजनीतिक एक अर्काका परिपुरक हुन भन्दै उपसभामुख डा। तुम्बाहाम्फेले पुरुष मात्रैका विचार र भावनालाई समेटेर मात्रै मिडियाका विषय समावेशी नदेखिने बताइन् ।

प्रदेश नम्बर १ कि उपसभामुख सरस्वती पोख्रेलले सभामुखको सहायकको अवस्थामा रहेको उपसभामुख पदमा बसेर धेरै जिम्मेवारी खोज्दा सभामुखलाई हस्तक्षेप गरेको जस्तो देखिने र जिम्मेवारी नै नखोज्दा पनि आफू हराइने भएकाले अन्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने अवस्थामा रहेको औंल्याइन् । सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीले पत्रकार र उपसभामुखका बीच ठूलो खाडल रहेको बताइन् । गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले सभामुख बिरामी पर्दा, जिल्लाबाहिर हुँदा र उपस्थित हुन नसक्दा मात्रै संसद चलाउने अवसर उपसभामुखलाई हुने भन्दै उपसभामुखलाई क्षमता देखाउने अवसर नै नभएको बताइन् । कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका कार्यकारी निर्देशक महेन्दै विष्टले उपसभामुख वा अरु कुनै राजनीतिज्ञ महिलाका विचार राख्नै नराख्ने संचार माध्यमको नीति नहुने भन्दै विषय वस्तुको जानकारी राख्ने र प्रष्ट बोल्न सक्ने व्यक्तिलाई नै पत्रकारलाई खोजिरहने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती, प्रदेश नम्बर ५ कि उपसभामुख कृष्णी थारु, प्रदेश नम्बर ३ कि उपसभामुख राधिका तामाङ, प्रदेश नम्बर २ कि उपसभामुख उमा देवीले उपसभामुखमा निर्वाचित भइसकेपछि महिला भएकै कारण भोगेका अनुभव सुनाएका थिए । अन्तरक्रियामा वरिष्ठ पत्रकार टंक पन्त, संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित अध्यक्ष नारायण काफ्लेले जनताको चासोका विषय नै मिडियाका प्रमुख विषय हुने भएकाले उपसभामुख महिलाहरुले पनि चनाखो भएर काम गर्नुपर्ने सुझाव दिए । राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सांसद पूर्णा जोशी पनि सहभागी थिइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest