रेसिपी,आलुदम,भेज बर्गर,मसरुम सुप र पालकको सुप

Monday, January 6th, 2020


आलुदम
सामाग्री
सानोसानो उसिनेको आलु, काटेको टमाटर, एक चम्चा खुर्सानीको धुलो, काटेको प्याज, धानियाँको पात, आधा चम्चा गरम मसला, स्वाद अनुसार नुन, आधा(आधा चम्चा जिरा र धनियाँको गेडा, आधा चम्चा बेसर, तेल, हरियो खुर्सानी,अदुवा र लसुन ।
विधि
उसुनेको आलुमा सानो सानो प्वाल पार्ने, प्यानमा तेल हाल्नुहोस, तेल तातेपछि अलिकति बेसार राख्नुहोस्, अलिकति रातो खुर्सानीको धुलो पनि राख्नु होस् अब आलुलाई राखेर फ्राई गर्नुहोस । अलिकति नुन पनि राखी चलाउनुहोस् अनि फ्राई गरेको आलु निकाल्नुहोस् ।
अब बाँकी तेलमा काटेको लसुन, अदुवा, प्याज, हरियो खुर्सानी फुराउनुहोस्, हल्का ब्राउन भएपछी टमाटर राखेर चलाउनु होस्, राम्रोसँग पाकेपछि निकाल्नुहोस् र अलकति चिसो भएपछी यसलाई मिक्स्चरमा मिक्स गर्नुहोस । फेरी प्यान बसालेर आधा चम्चा तेल राख्नुहोस,जिरा र धनियाँ फुराउनुहोस्, जिरा, धनियाँ फ्राई भएपछी मिक्स गरेको मसला हाल्नुहोस् अनि खुर्सानीको धुलो, गरम मसला, नुन राखेर राम्रो संग चलाउनुहोस्, फ्राई गरेको आलु हालेर राम्रो संग चलाउनुहोस् अब अलिकति पानी राख्नुहोस्, पानी राखेपछि छोपेर तीन मिनेट पकाउनुहोस् । धानियाँको पात हाल्नुहोस् अब तयार भयो स्वादिलो आलु दम ।
भेज बर्गर
सामाग्री
बर्गर ब्रेड एक वटा, आलु टिक्की एक वटा, टमाटरको स्लाइस दुई वटा, प्याज पातालो गरी काटेको २ पिस, सलाद पात दुई वटा, टोमाटो सस दुई चम्चा, चाट मसला आधा चम्चा, चीजको चार स्लाइस तथा काँक्रा दुई टुक्रा ।
विधि
ग्यासमा प्यान राख्नुहोस् र ब्रेडलाई तताउनुहोस् । वर्गर ब्रेडको एकपार्ट लिनुहोस् टमाटर सस् राख्नुहोस् । त्यसपछि टमाटर, प्याज र काक्रोको पातलो बनाएको पिस राख्नुहोस् । आलु टिक्की राख्नुहोस् । त्यसमाथी सलाद राख्नुहोस्, टमाटो सस्, चाट मसला र चीजको स्लाइसलाई माथीबाट राख्नुहोस् । अब माथीबाट अर्को बर्गर ब्रेडको पिसले ढाक्नुहोस् र स्वाद लिएर खानुहोस् ।
मसरुम सुप
सामाग्री
२०० ग्राम मसरुम पखालेर मसिनो गरि काटेको, ३ देखि ४ लसुन काटेको, २ देखि ३ वटा हरियो खुर्सानी मसिनो गरि काटेको, स्वाद अनुशार नून, १ चिया चम्चा ब्ल्याक पेपर, बटर २ देखि ३ ठूलो चम्चा, २ कप पानी, धनियाँ पत्ता
विधि
शुरुमा एउटा भाँडो आँचमा तातो गर्न राख्नुहोस् । त्यसपछि वटर राख्नुहोस् । बटर पग्लिएपछि लसुन राख्नुहोस् । त्यसपछि खुर्सानी राखेर विस्तारै चलाउनुहोस् । एकछिन चलाएपछि च्याउलाई राख्नुहोस् । अनि राम्रो सँग चलाएर पकाउनुहोस् । त्यसपछि यसलाई निकाल्नुहोस् र ग्राण्डरमा पिस्नुहोस् । अब फेरी भाँडो आँचमा राख्नुहोस् र थोरै बटर राख्नुहोस् । यो पग्लीएपछि मसरुमको पेस्टलाई राखेर विस्तारै चलाउनुहोस् । सानो आँचमा पकाउनुहोस् पाकीसकेपछि आवश्यकता अनुशार पानी राख्नुहोस् र उमाल्नुहोस् । अब यसमा अरु बाँकी मसला र नून राख्नुहोस् । बाक्लो भएन भने कर्नफ्लोरलाई पानीमा घोलेर राखिदिनुहोस् यसले सुप बाक्लो हुन्छ । अब सुप तयार भयो यसमा धनियाँ राखेर यो जाडोको मौसममा तात्तातो सर्व गर्नुहोस् ।
पालकको सुप
सामाग्रीः
पालक २५० ग्राम, लसुन ५ देखि ६ पोटी, ठूलो प्याज १, एक तेजपत्ता, ३ ल्वाङ्ग, दुइ सानो दालचिनी, कर्न फ्लावर १ ठूलो चम्चा, ३ सानो चम्चा वटर, कपमा एक चौथाइ उमालेको दुध, स्वाद अनुसार नून, मरिचको धुलो सानो चम्चाको आधा, फ्रेस क्रिम २ ठूलो चम्चा,
विधि
अब भाँडो आँचमा बसाउनुहोस् । दुईचम्चा वटर राख्नुहोस् र पग्लन दिनुहोस् । त्यसपछि दालचिनी, तेजपत्ता र ल्वाङ् राख्नुहोस् । यसलाई हल्का खैरो भएपछि लसुन र प्याज राख्नुहोस् । एकछिन चलाउनुहोस् ४ मिनेट जति । हल्का फ्राइभएपछि अब यसमा काटेको पालक राख्नुहोस् । यसलाई चलाउनुहोस् ३ देखि चार मिनेट सम्म मध्यम आँचमा चलाएर पकाउनुहोस् । तेजपत्ता दालचिनीलाई निकाल्नुहोस् । अब ग्यासलाई अफ गरेर चिसो हुन दिनुहोस् र ग्राण्ड गर्नुहास् । अब पेस्ट तयार भयो । फेरी भाँडोलाई आँचमा बसाउनुहोस् । पेस्टलाइ राख्नुहोस् र यसमा एक कप पानी राख्नुहोस् । यसलाई फिट्नुहोस् । ग्यासलाई मिडियम गर्नुहोस् । नून स्वाद अनुसार राख्नुहोस् र मरिच राख्नुहोस् । यसलाई मिक्स गर्नुहोस् । कर्नफ्लोर दुधमा राखेर यसमा मिसाउनुहोस् । राम्रोसँग चलाउनुहोस् । ग्यासलाई मिडियम गरेर ३ मिनेट पकाउनुहोस् । उम्लन दिनुहोस् । लास्टमा क्रिम राख्नुहोस् । उम्लिएपछि ग्यासलाई अफ गर्नुहोस् अब पालक सुप तयार भयो । जाडोमा तात्तातो सर्व गर्नुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest