रेसिपी -चिकेन थुक्पा ,आलु प्याज पकौडा,क्याप्सिकम मिक्स र क्रीमी बैगुन

Wednesday, November 27th, 2019

चिकेन थुक्पा
सामाग्री
नून स्वाद अनुसार, रातो खुर्सानीको धुलो आधा चिया चम्चा, आधा चिया चम्चा गरम मसला, बेसार आधा चिया चम्चा, सानो टुक्रा गरी काटेको अदुवा आधा चिया चम्चा, एक चिया चम्चा लसुन, ३ वटा हरियो खुर्सानी, एउटा रातो प्याज काटेको, लामो लामो गरी काटेको तिन कलरको क्याप्सिकम एक कप, आधा कप स्प्रिङ् अनियन, मसिनो र लाम्चो गरी काटेको गाजर एक कप, टमाटर एक कप काटेको, बन्दा एक कप काटेको, हरियो धनियाँ अलिकति, बोनलेस चिकेन ४०० ग्राम, एउटा कागती, ओलिभ ओयल दुइ चम्चा, चार मिनेट उमालेको थुक्पा नूडल्स, र आधा लिटर पानी (इच्छा अनुसार धेरै पनि राख्न सक्नुहुन्छ)
विधि
प्यानलाई तातो बनाउन बसाल्नुहोस्, त्यसपछि तेल राख्नुहोस्, तेल तात्न लागेपछि लसुन राख्नुहोस् त्यसपछि अदुवा बेसार राखेर चलाउनुहोस्, खैरो भएपछि चिकेन राखेर राम्रोसँग चलाउने र फ्राइ हुन छाडिदिने, चिकेन फ्राइ भएपछि यसमा प्याज, हरियो खुर्सानी, रातो खुर्सानी, गरम मसला, र नून राखेर राम्रोसँग चलाएर पकाउनुहोस् । राम्रो सँग मसला पाकेपछि टमाटर राखेर चलाउनुहोस् । टमाटर गल्न सुरु भएपछि माथीका सबै भेजिटेवल्सहरु राख्नुहोस् र राम्रोसँग मिक्स गर्नुहोस् । यी भेज काँचै खान मिल्ने भएकोले दुइ तीन मिनेट मात्रै पकाउदा हुन्छ । अब यसमा पानी राखेर उमाल्नुहोस् । पाँचमिनेट उमाल्नुहोस् र यसमा नूडल्स राख्नुहोस् । यसलाई चलाउदै एक मिनेट पकाउनुहोस् आँच बन्द गरेर हरियो धनियाँ राख्नुहोस् । अब माथीबाट कागतीको रस पनि राख्नुहोस् । यो चिसोमा तात्तातो थुक्पा रमाइलो मान्दै खानुहोस् ।
आलु प्याज पकौडा
सामाग्री
एक कप लामो काटेको प्याज, आधा कप ग्रेटरले खुर्केको आलु, ३ देखि चार ठूूलो चम्चा चनाको पिठो, दुइ चम्चा चामलको पिठो, एक ठूलो चम्चा अदुवा लसुनको पेस्ट, एक चिया चम्चा गरम मसलाको धुलो, एक चिया चम्चा बेसारको धुलो, एक सानो चम्चा रेड चिल्ली फ्लेक्स, एक सानो चम्चा भुटेको जिरा, डिप फ्राइ गर्नको लागि तेल, केहि धनियाँ काटेको, तीन टेवलस्पुन पानी ।
विधि
माथीका सबै सामाग्रीलाई मिलाएर मुछ्नुहोस् । आलु र प्याजबाट निस्केको पानीले नै मुछ्न मिल्छ । अब तीन चम्चा पानी राखेर मुछ्दै जानुहोस् । एकछिन मुछेपछि पकौडाको मिक्स रेडि हुन्छ । एउटा भाँडोमा राम्रोसँग तेल तताउनुहोस् । अब एक चम्चा जस्तो मिक्सलाई छुट्टा छुट्टै गरेर तेलमा राख्दै जानुहोस् । पकौडा राखेको दुई मिनेट पछि यसलाई पल्टाउनुहोस् । पल्टाएर पनि दुइ मिनेट जति पकाउनुहोस् । दुबैतिरबाट राम्रँेसँग पाकिसकेपछि एउटा पेपर टावलमा निकाल्नुहोस् । केचअपसँग सर्व गर्नुहोस् ।
क्याप्सिकम मिक्स
सामाग्री
सानो टुक्रमा काटेको हरीयो, पहेंलो वा रातो क्याप्सिकम, १ ठूलो कप काटेको आधा कप प्याज, काटेको अदुवा एक सानो चम्चा, मेस गरेको पनीर एक ठूलो चम्चा, नून स्वादअनुशार, दरखराएको कालो मरिच आधा सानोे चम्चा, जीरा आधा सानो चम्चा, रिफाइन्ड तेल एक सानो चम्चा ।
विधि
फ्राइपेनमा तेल तताएर जीरा हाल्नुहोस् । जीरा तड्केपछि काटेको प्याज वा अदुवा राखेर भुट्नुहोस् । प्याजलाई हल्का गुलावी भएपछि काटेको कयाप्सिकम, हरीयो खुर्सानी वा नून राखेर भुट्नुहोस् तब क्याप्सिकम नरम हुन्छ । मेस गरेको पनीर मिलाएर आँचबाट निकाल्नुहोस् । कालो मरिच या कागतीको रस मिलाएर सर्व गर्नुहोस् ।
क्रीमी बैगुन
सामाग्रीः
फ्रेश क्रीम एक कप, बैगुन सानो आकारको दुईवटा, नून स्वादअनुसार, रातो खुर्सानी एक सानो चम्चा, सौफ पिसेको आधा सानो चम्चा, गरम मसला आधा सानो चम्चा, पिसेको अलाइची चारवटा, हरियो धनियाँ चार सानो चम्चा, घिउ दुइ सानो चम्चा,
विधि
बैगुनको बीचबाट काटेर भित्र किरा छ कि चेक गर्नुहोस् । गोलो गोलो पातलो बनाएर काट्नुहोस् । थोरै नून राखेर वाफमा पकाउनुहोस् । उतारर्नुभन्दा पहिले नौनी घिउ हाल्नुहोस् । अब क्रिमलाई फिट्नुहोस् । एउटा कराहिमा नौनी घिउलाई तताउनुहोस् । यसमा सबै मसला राखेर पकाउनुहोस् । फेरि बैगुनमा क्रीम राखेर मिलाउनुहोस् । अब क्रीमी बैगुन तयार भयो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest